— नेपाल–चीन उत्तरी कोरला नाका पूर्ण रूपमा सञ्चालनमा आएपछि दुई वर्षदेखि माथिल्लो मुस्ताङका स्थानीयले रोजगारी प्राप्त गरेका छन् । कोरला नाकास्थित नेपालतर्फको दसगजा क्षेत्र र कोरलास्थित चीनतर्फ लिजी बजारमा माथिल्लो मुस्ताङीले व्यापार व्यवसाय सञ्चालन गरिरहेका छन् ।
यो नाका २०८० कात्तिक २७ गतेदेखि खुला गरिएको थियो । त्यसअघि माथिल्लो मुस्ताङका नागरिक कृषि पशुपालन र घरायसी कामधन्दामा सीमित थिए । सो नाका माथिल्लो मुस्ताङका नागरिकका लागि मात्रै खुल्ला हुँदै आएकामा सरकारले अन्तरदेशीय व्यापारिक मार्गका रूपमा गत ३० भदौमा पूर्ण रूपमा खुला गरको हो ।
लोमान्थाङ–२ किम्लिङका स्थानीय लिन्डुप गुरुङ कोरला नाकामा त्रिपाल टाँगेर व्यापार गरिरहेका छन् । नाका नखुल्दा कृषि र पशुपालनमै सीमित गुरुङले कृषि र पशुपालनलाई थाती राखेर व्यापार गर्न थालेकझ उनको भनाइ छ । यहाँ त्रिपाल टाँगेर व्यापार गर्ने करिब ८०/९० जनामध्ये हाल धेरैजसो जाडो छल्न बेँसी झरिसकेका छन् ।
यो नाका समुन्द्री सतहदेखि ४ हजार ६ सय १० मिटरको उचाइमा अवस्थित छ । नाकामा चिसोका कारण पर्यटकीय रौनक घटे पनि नाका बन्द नहुने जनाइएको छ । नाकामा व्यापार गर्नेहरुले आन्तरिक रूपमा व्यापार व्यवसाय चलाउने आन्तरिक नियम बनाएका छन् । पर्यटकहरूलाई चिनियाँ उत्पादन बिक्री गर्न आलोपालो व्यापार गर्ने सहमति छ ।
त्रिपाल टाँगेर व्यापार गर्नेहरूका लागि एक जिपबराबर दुई जना व्यापारीले व्यापार गर्न पाउने र चार वटा मोटरसाइकल आएमा एक जिपबराबर दुई जनाले व्यापार गर्न पाउने नियम बनाएको स्थानीय व्यापारी लिन्डुप गुरुङले जानकारी दिए ।
नाकामा तीन सय जनाभन्दा बढीले व्यापार व्यवसाय सञ्चालन गरेका छन् । यहाँ एक सय बढी युवाले लोड अनलोड र विद्युतीय गाडी तथा मालवाहक कन्टेनर भित्र लाने/ल्याउने काम पाएका छन् । ती युवाहरूले दैनिक ५ देखि १० हजारसम्म आम्दानी गर्छन् ।