— उपल्लो डाेल्पामा फाेरजी सेवा विस्तारकाे माग गर्दै जनप्रतिनिधिहरू काठमाडौं पुगेका छन् ।
जिल्लाकाे शे-फोक्सुण्डो, छार्काताङसोङ र डोल्पो बुद्व गाउँपालिकामा फाेरजी इन्टरनेट सेवासहितकाे टेलिफाेन सेवा विस्तारकाे माग गर्दै जनप्रतिनिधिकाे टाेली काठमाडौं पुगेकाे हाे ।
दुर्गम जिल्ला डाेल्पाबाट पैदल र जहाज यात्रा गर्दै पुगेकाे टाेलीले सञ्चारमन्त्री जगदीश खरेललाई भेटेर आफ्ना माग राखेका छन् ।उपल्लो डाेल्पाका तीनवटै पालिकामा हाल नेपाल टेलिकमकाे टुजी सेवा मात्रै रहेकाे छ । जसले गर्दा हालसम्म पनि उपल्लो डाेल्पावासी नेपाल टेलिकमकाे इन्टरनेट सेवाबाट वञ्चित छन् ।
'उपल्लो डाेल्पाका तीनवटै पालिकामा हालसम्म पनि नेपाल टेलिकमकाे इन्टरनेट सेवा छैन,' शे-फोक्सुण्डो गाउँपालिकाका उपाध्यक्ष पेम्मा वाङ्छेन गुरुङले भने, 'करिब एक दशकअघि जाेडिएका टुजी टावरले काम नगर्दा यहाँका बासिन्दाले समस्या भोगिरहनुपरेको छ । समाधानको उपाय खोज्दै काठमाडौ पुग्नुपरेकाे हाे ।'
साल्दाङ,भिजेर, छार्का, धो र फोक्सुण्डोमा जडान भएका टावर पुराना भएकै कारण बारम्बार समस्या आउने गरेको छ । टावर बिग्रिएकाे अवस्थामा समयमै प्राविधिक पुग्न नसक्ने र कुनै सामान बिग्रिएमा महिनौंसम्म डाेल्पा सञ्चारविहीन रहने गर्छ ।
जनप्रतिनिधिकाे टोलीले सञ्चारमन्त्री खरेलसँग मुस्ताङ हुँदै उपल्लो डोल्पा सडक सञ्जालमा जाेडिसकेकाले तीनवटै पालिकामा फाइबर इन्टरनेट विस्तारकाे मागसमेत गरेका छन् । भरपर्दो इन्टरनेट सुविधा नहुँदा स्थानीय सरकारकाे कार्यसम्पादनमा समेत समस्या भएको उनीहरुको भनाइ छ ।
यस्तै मन्त्री खरेलसँग उनीहरुले भोटे भाषा हिमाली जनसमुदायका मानिसको बोल्ने र दैनिक उपयोग गर्ने भाषा भएकाले सोही भाषामा दैनिक वा साप्ताहिक रुपमा नेपाल टेलिभिजनमा समाचार प्रसारण गरिदिन समेत आग्रह गरेका छन् ।