— सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले अर्थ मन्त्रालयमा रोक्का रहेका विकास आयोजना फुकुवा गर्ने प्रक्रिया तीव्र रूपमा अघि बढिरहेको बताएका छन् ।
मन्त्री नियुक्त भएपछि पहिलो पटक गृहजिल्ला रामेछाप सदरमुकाम मन्थली आइपुगेका घिसिङले सोमबार जिल्ला स्तरीय सरोकारवालासँगको छलफल कार्यक्रममा यस्तो जानकारी दिएका हुन् ।
उनका अनुसार अर्थ मन्त्रालयले देशभर तीनदेखि चार करोड रुपैयाँ लागतका करिब एक खर्ब रुपैयाँभन्दा बढीका आयोजना रोक्का गरेर राखेको थियो । 'देशभर रोकिएका आयोजनामध्ये करिब ३०–४० अर्ब रुपैयाँ बराबरका योजना फुकुवा भइसकेका छन्,' मन्त्री घिसिङले भने, 'बाँकी रहेका आयोजनाह पनि फुक्काको चरणमा छन् ।'
मन्त्री घिसिङले रामेछाप जिल्लासँग सम्बन्धित सबै आयोजना फुकुवाका लागि अर्थ मन्त्रालयमा पठाइसकिएको जानकारी दिँदै ती आयोजना छिट्टै कार्यान्वयनमा जाने विश्वास व्यक्त गरे । साथै, आयोजना फुकुवा भएको भोलिपल्टै टेन्डर प्रक्रिया अघि बढ्ने गरी तयारी गर्न सम्बन्धित कार्यालयहरूलाई निर्देशन दिएको पनि उनले बताए ।
उनले विकास आयोजना समयमै कार्यान्वयन गर्न सरकार गम्भीर रहेको उल्लेख गर्दै जिल्लाको समग्र विकासका लागि संघ, प्रदेश र स्थानीय तह बीच समन्वय आवश्यक रहेकोमा जोड दिए ।
विद्युत् क्षेत्रमा उल्लेखनीय काम भइसकेको दाबी गर्दै मन्त्री घिसिङले हाल बजारमा सुरक्षा र सौन्दर्यीकरणका लागि जडान गरिने 'हाई मास्ड लाइट' र 'स्ट्रिट लाइट'को माग उल्लेख्य रूपमा बढेको बताए ।
उनका अनुसार देशभरका धेरै स्थानीय तहबाट यी बत्ती जडानका लागि माग आइरहेको छ। 'हाई मास्ट लाइट र स्ट्रिट लाइटको धेरै पालिकाबाट डिमान्ड आइरहेको छ,' मन्त्री घिसिङले भने, 'तर यो कार्यक्रम अहिले रोकिएको अवस्थामा छ। अब यसलाई पुनः निरन्तरता दिने विषयमा हामी सोचिरहेका छौं ।'
आफू नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक हुँदा देशभर 'हाई मास्ट लाइट' जडान कार्यक्रम सञ्चालन गरिएको स्मरण गर्दै मन्त्री घिसिङले आफू पदबाट बाहिरिएपछि उक्त कार्यक्रम करिब बन्द अवस्थामा पुगेको बताए । उनले सुरक्षा, सडक उज्यालो र सहरी सौन्दर्यीकरणका लागि यी कार्यक्रम आवश्यक रहेको उल्लेख गर्दै स्थानीय तहसँगको समन्वयमा पुनः प्रभावकारी रूपमा अघि बढाइने सङ्केत गरे।