— बर्दिवास–जलेश्वर सडक खण्डमा रामगोपालपुरबाट बर्दिवासतर्फ मोटर साइकलमा लागुऔषध लिएर जाँदै गरेका दुई भारतीय नागरिकसहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक रमेश लामाको कमाण्डको प्रहरी टोलीले कालो प्लास्टिकको झोलामा लुकाएर ल्याउँदै गरेको १ हजार ४३६ थान एम्पुल प्रतिबन्धित लागुऔषध नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय महोतरीका प्रहरी नायब उपरीक्षक शैलेन्द्रकुमार भट्टले बताए ।
आइतबार साँझ ईलाका प्रहरी कार्यालय गौशाला, इलाका प्रहरी कार्यालय रामगोपालपुर र लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिवासबाट संयुक्त रुपमा परिचालन भएको प्रहरीले औरही नगरपालिका–१ स्थित बर्दिवास–जलेश्वर सडक खण्ड भएर बर्दिबास तर्फ आउँदै गरेकाे भारतीय नम्बरको बीआर ३० एक्वी २२८५ र बीआर ३०डब्लु ०३२४ मोटरसाइकलमा लुकाएर ल्याउँदै गरेको प्रतिबन्धित लागूऔषध बरामद गरेको प्रहरी नायब उपरीक्षक भट्टले बताए ।
दुवै मोटरसाइकल चालक नेपाली र पछाडि सवार भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ । लागुऔषधसहित महोत्तरी सम्सी गाउँपालिका–६ का २१ वर्षीय शेष तनबिर र २१ वर्षीय मुसाहिदुल ईस्लाम, भारत बिहारकाे सितामढी वेला थाना ६ का २२ वर्षीय राजु कुमार र २१ वर्षीय अरबिन्द कुमार मण्डललाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक भट्टले बताए ।
बरामद लागुऔषध, मोटरसाइकल र पक्राउ परेका चारै जनालाई इलाका प्रहरी कार्यालय गौशालामा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।