: सुनसरीको धरान–१५ स्थित बाझगरा सामुदायिक वनसँगै रहेको धार्मिक वन क्षेत्रमा नियमविपरीत सञ्चालन हुँदै आएको रेस्टुरेन्ट अन्ततः बन्द गरिएको छ। वन क्षेत्र अतिक्रमण गरी सञ्चालन गरिएको उक्त रेस्टुरेन्ट तथा त्यससँग सम्बन्धित संरचनाहरू जिल्ला वन कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय धरानको संयुक्त टोलीले सोमबार भत्काइदिएको छ।
धरानको महादेवचोकदेखि पानबारी जाने मदन भण्डारी राजमार्ग नजिकै रहेको धार्मिक वनभित्र स्थानीय कल्पना राईले करिब एक वर्षदेखि रेस्टुरेन्ट सञ्चालन गर्दै आएको उजुरी र समाचार सार्वजनिक भएपछि जिल्ला वन कार्यालयले छानबिन अघि बढाएको थियो। छानबिनको क्रममा धार्मिक वन क्षेत्रमा कंक्रिटका टहरा निर्माण गरी व्यावसायिक गतिविधि सञ्चालन गरिएको पुष्टि भएपछि प्रहरी र वन कार्यालयको संयुक्त टोली परिचालन गरी अवैध संरचना भत्काएर हटाइएको जिल्ला वन कार्यालय सुनसरीका प्रमुख रितेश बस्नेतले बताए।
उनले वन ऐन २०७६ विपरीत धार्मिक वन क्षेत्रमा रेस्टुरेन्ट सञ्चालन गरी वन अतिक्रमण गरिएकाले कानुनी प्रक्रिया पूरा गरि अवैध संरचना भत्काइएको जानकारी दिए। धार्मिक वन क्षेत्र पूर्ण रूपमा संरक्षणका लागि छुट्याइएको क्षेत्र हो। यहाँ कुनै पनि प्रकारको व्यावसायिक निर्माण वा गतिविधि गर्न नपाइने भएकाले अतिक्रमण गरि बनाइएका संरचना हटाएर वनलाई पूर्वावस्थामा फर्काउने काम सुरु गरिएको बस्नेतले बताएका छन्।
वन कार्यालयले वन क्षेत्रमा अवैध रेस्टुरेन्ट सञ्चालन गरेको समाचार अन्नपूर्ण पोस्टमा प्रकाशित भएपछि छानबिन समिति गठन गरेको थियो। छानबिन समितिले वन फडानी, कंक्रिट संरचना निर्माण र खुला रूपमा व्यवसाय सञ्चालन गरिएको प्रतिवेदन जिल्ला वन कार्यालयमा बुझाएपछि सब–डिभिजन वन कार्यालय धरानलाई निर्देशन दिई प्रहरी र वन कार्यालयको संयुक्त टोली परिचालन गरी वन क्षेत्र खाली गरिएको बस्नेतले बताए। उनले अवैध संरचना हटाइएसँगै सम्बन्धित व्यक्तिमाथि थप कानुनी कारबाही प्रक्रिया समेत अघि बढाइने बताएका छन्।
स्थानीय बासिन्दाहरूले भने धार्मिक वन क्षेत्रभित्र व्यवसाय सञ्चालन हुँदा वर्षौंदेखि बोटबिरुवा मासिँदै गएको भन्दै आपत्ति जनाउँदै आएका थिए। वन संरक्षणका लागि छुट्याइएको क्षेत्रमा खुलेआम रेस्टुरेन्ट चल्दा समेत लामो समयसम्म सम्बन्धित निकाय मौन बसेको भन्दै आलोचना हुँदै आएको थियो। इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक जीवन कुँवरले वन कार्यालयको अनुरोधमा प्रहरी टोली परिचालन गरी अवैध टहरा भत्काउने कार्यमा सहयोग गरिएको जानकारी दिए।