: मिराज ढुंगाना नेतृत्वको जेनजी समूहले आज काठमाडौंको माइतीघरमा आन्दोलन सुरू गरेको छ। अन्तरिम सरकारलाई दबाब दिन उक्त समूहले सोमबार बिहानदेखि विरोध प्रदर्शनमा उत्रिएको हो। प्रदर्शनका क्रममा केही जेनजीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रदर्शनका क्रममा नाराबाजी गर्दै प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओम प्रकाश अर्यालको राजीनामा माग गरेका छन्। उनीहरूले कार्की नेतृत्वको सरकारले जेनजी आन्दोलनको मर्म र युवा पुस्ताको भावनालाई समेट्न नसकेको भन्दै नाराबाजी गरेका थिए।
भदौ २३/२४ गतेको जेनजी आन्दोलन कार्की नेतृत्व सरकारले तुहाउन खोजेको भन्दै सर्वदलीय सरकार गठनको माग गर्दै यो समूह आन्दोलनमा उत्रिएको हो।
आन्दोलनमा डा.निकोलस भूसालको समूह पनि सहभागी भएको छ। प्रदर्शनका क्रममा भुसाललगायत केही जेनजीहरूलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रशासनको अनुमति नलिइ कार्यक्रम गरिएको भन्दै उनीहरूलाई प्रहरीले त्यहाँबाट हटाएको जनाएको छ। मिराजको समूह अनुमतिका लागि सोमबार बिहान १० बजेतिर जिल्ला प्रशासन काठमाडौं गएको थियो। तर,उक्त समूहले प्रशासनबाट अनुमति पाउन सकेन।