: हाजिर भएको दुई महिना पनि नपुग्दै नवलपरासीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) कृष्णप्रसाद लम्सालको सरुवा भएको छ । मन्त्रिपरिषद्को बैठकले गरेको ६० जना सहसचिव सरुवामा लम्सालको पनि सरुवा भएको हो ।
सहसचिव लम्साललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकी प्रदेशमा सरुवा गरिएको छ । उनी गत कात्तिक १२ गते जिल्लामा हाजिर भएका थिए । हाजिर भए लगत्तै सीडीओ लम्सालले जिल्लामा प्रशासनिक सुधारका नयाँ अभ्यास सुरू गरेका थिए ।
नयाँ अभ्यासमा हरेक दिन १२ देखि साढे १२ बजेसम्म ‘नागरिकसँग प्रजिअ डेस्क’ स्थापना गरी गुनासा सुन्दै आएका थिए । त्यसैगरी कार्यालय प्रमुखहरूको हरेक महिनामा हुने बैठकअघि २ घण्टा नागरिकका गुनासा सुन्ने कार्यको पनि थालनी गरेका थिए भने सरकारी गाडीको दुरुपयोग बढेको गुनासो पछि सवारी पासमा कडाइँ गर्न सुरु गरेका थिए ।
त्यस्तै राष्ट्रिय परिचय पत्रका लागि नागरिकहरूलाई जिल्ला सदरमुकाममै आउनुपर्ने बाध्यतालाई हटाउँदै इलाका प्रशासन कार्यालय सेमरीबाट सेवा सुरु गरेका थिए । प्रजिअ लम्सालको उक्त कार्यप्रति जिल्लावासीले प्रशंसा गर्दै आएका थिए ।
यसैबीच लम्सालको सरुवा भएपनि नयाँ आउने सीडीओको बारेमा भने अझै मन्त्रालयले टुङ्याएको छैन ।