: नेपाल प्रहरीले आगामी फागुन २१ गते हुन लागेको चुनावको सुरक्षाका लागि निर्वाचन प्रहरी भर्ना गर्ने तयारी गरेको छ। भर्ना प्रक्रियाका लागि निवेदन दिने व्यक्तिको चालचलन ‘सीआरएस’ रेकर्ड हेरेर मात्रै छनोट गरिनेछ। आपराधिक पृष्ठभूमि देखिएको, राजनीतिक दलको सदस्य भएको, विध्वंस तथा अन्य आक्रमणमा संलग्न भएको, आतंकवादी गतिविधिमा संलग्न भएका व्यक्तिहरूले निर्वाचन प्रहरीमा भर्ना हुन पाउने छैनन्।
‘सीआरएस रेकर्ड’ कुनै पनि व्यक्ति अपराध तथा जघन्य घटनामा संलग्न भएको छ/छैन भनी प्रहरीमा रेकर्ड हेरिनेछ। नेपाल प्रहरीले अहिले आपराधिक घटनामा संलग्न भएका व्यक्तिको सीआरएस रेकर्ड अनलाइनमा नै अपडेट गर्न थालेको छ। यही रेकर्ड हेरेर क्लियर भएका व्यक्तिलाई मात्रै निर्वाचन प्रहरीमा भर्ना लिइनेछ।
१ लाख ३६ हजार ७ सय ४४ निर्वाचन प्रहरी माग
प्रहरीले देशैभरको मतदान स्थलको जोखिमको मूल्यांकन गरी १ लाख ३६ हजार ७ सय ४४ निर्वाचन प्रहरी भर्ना गर्नुपर्ने प्रस्ताव गृह मन्त्रालयमा पठाएको हो। नेपाल प्रहरीका प्रवक्ता अविनारायण काफ्लेका अनुसार आउँदो २१ फागुनमा हुने निर्वाचनलाई लक्षित गर्दै नेपाल प्रहरीले देशभर एक लाख ४० हजार निर्वाचन प्रहरी भर्ना गर्ने प्रस्ताव गृह मन्त्रालयमा बुझाएको हो। सुरक्षा संवेदनशीलताको आधारमा यो निर्वाचनमा अन्य निर्वाचन समयभन्दा करिब ४ हजार निर्वाचन प्रहरी बढी आवश्यक पर्ने प्रस्ताव गरिएको छ। अघिल्लो निर्वाचनमा १ लाख ३६ हजार म्यादी प्रहरी भर्ना गरिएको थियो।
प्रवक्ता काफ्ले भन्छन्, ‘यसपटक मतदानस्थल र मतदान केन्द्रको संख्या बढ्नुका साथै सुरक्षा चुनौती पनि थपिएकाले जनशक्ति विस्तार अपरिहार्य देखिएको हो। निर्वाचन प्रहरी भर्ना गरेर उनीहरूलाई तालिम पनि गराउनुपर्ने भएकाले प्रक्रिया अगाडि बढाइएको हो।’
निर्वाचन आयोगले गृह मन्त्रालयलाई पठाएको प्रारम्भिक विवरणअनुसार यसपटक १० हजार ९६७ मतदानस्थल र २३ हजार बढी मतदान केन्द्र रहेको छ। अन्तिम संख्या यकिन भइनसके पनि अघिल्लो निर्वाचनभन्दा केन्द्र संख्या केही बढ्न सक्ने दाबी निर्वाचन आयोगको छ।
सुरक्षा चुनौतीको हिसाबमा मधेस प्रदेश सबैभन्दा संवेदनशील देखिएको छ। यहाँका अधिकांश मतदान स्थल उच्च जोखिमका सूचीमा छन्। कोशी, लुम्बिनी, सुदूरपश्चिम, बागमती र कर्णाली प्रदेशमा पनि उल्लेख्य संख्यामा संवेदनशील तथा अति संवेदनशील मतदान स्थल रहेको सरकारले निक्र्योल गरेको छ।
निर्वाचन आयोगको प्रारम्भिक आँकलन र सुरक्षाको जोखिम मूल्यांकनलाई आधार मानेर निर्वाचन प्रहरी संख्या निर्धारण गरिएको हो। मतदान केन्द्र अझै थपिन सक्ने अवस्था छ। मतदान केन्द्रको सुरक्षा अवस्था हेरिकन प्रत्येक मतदान केन्द्रमा ५ देखि १० जनासम्म निर्वाचन प्रहरी खटाइने तयारी प्रहरीको छ।
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार देशभरका मतदान स्थल र मतदान केन्द्रको सुरक्षा संवेदनशीलता विचार गरेर सुरक्षाकर्मी तथा निर्वाचन प्रहरी खटाइनेछ। निर्वाचन प्रहरीलाई प्रहरीको सहयोगी प्रहरीका रूपमा जिम्मा दिइनेछ। आगामी फागुनमा हुने निर्वाचनका लागि गृह मन्त्रालय तथा सरकारले सम्पूर्ण तयारी गरिरहेको प्रवक्ता काफ्लेले जानकारी दिए।
प्रहरी प्रवक्ता अविनारायण काफ्ले भन्छन्, निर्वाचन प्रहरी ४० दिनका लागि भर्ना गरिनेछ। यसका लागि १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको नेपाली नागरिक हुनुपर्ने प्रावधान राखिएको छ। निर्वाचन प्रहरीसम्बन्धी कार्यविधि बनाएर प्रहरीले गृह मन्त्रालय तथा कानुन विभागमा पठाएको छ। फाइनल भएर आएपछि कार्यविधिबाट थप जानकारी दिइने प्रवक्ता काफ्लेले जानकारी दिए।
४० दिनका लागि खटिने निर्वाचन प्रहरीले जवानसरह सेवा, सुविधा पाउनेछन्। प्रहरी जवानसरह तलब, पोसाक र रासन सुविधा उपलब्ध गराइनेछ। देशैभर भर्ना हुने निर्वाचन प्रहरीले पाउने तलब समान भए पनि भत्ता, रासन र अन्य सुविधा भने भौगोलिक विकटताका आधारमा थोरै धेरै तोकिएको छ। म्यादी प्रहरीमा छनोट हुनका लागि सहभागीले लिखित र प्राक्टिकल दुवै परीक्षा उत्तीर्ण गर्नुपर्नेछ। हरेक जिल्लाका प्रहरी प्रमुखले उक्त जिल्लामा खटिने निर्वाचन प्रहरीको भर्ना, तालिम र परिचालन गर्नेछन्। पहिलेका म्यादी प्रहरी, भूपू सुरक्षाकर्मी र वन रक्षक तथा अन्य सुरक्षामा काम गरेका व्यक्ति निर्वाचन प्रहरीका लागि प्राथमिकतामा पर्नेछन्। साधारण लेखपढ गर्न जानेको हुनुपर्ने, नैतिक पतन हुने फौजदारी अभियोगमा नलागेको हुनुपर्नेछ।
४० दिनका लागि ३४ हजार ७ सय ७६ तलब दिइने
प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार निर्वाचन प्रहरीलाई दिइने रासन र पोसाक भने उनीहरूलाई खटाइने भौगोलिक अवस्थाको विकटताका आधारमा दिइनेछ। ४० दिनका लागि अस्थायी रूपमा खटिने निर्वाचन प्रहरीले, हिमालीमा खटिनेले पाउने पोसाक र तराई र पहाडको फरक हुन्छ। ४० दिनको तलब ३४ हजार ७ सय ७६ हजार तलब उनीहरूले प्राप्त गर्छन्। यसका अलावा पोसाक, खाद्यान्न, स्थानीय भत्ता, अन्य भत्ता, भ्रमण खर्च र विविध खर्च गरी विभिन्न किसिमका सुविधा पनि पाउनेछन्। सबै सुविधासहित तराईका जिल्लामा खटिने निर्वाचन प्रहरीले ५५ हजार ६६६ रुपैयाँ तलब पाउनेछन्। यस्तै, हिमाली जिल्लामा खटिने व्यक्तिले ६४ हजार ६०८ रुपैयाँ पाउनेछन्। काठमाडौंका निर्वाचन प्रहरीले ५६ हजार ९७१ रुपैयाँ पाउनेछन्। झापामा ५४ हजार ३६८ पाउनेछन्। हुम्लामा खटिने निर्वाचन प्रहरीले सबै सुविधा गरी ८३ हजार बढी सुविधा पाउँछन्।