मुख्य समाचार
कोशीमा २ पांग्रे दुर्घटना अत्यधिक, ट्राफिकले सुरु गर्‍यो २ मिनेट अभियान
कोशीमा २ पांग्रे दुर्घटना अत्यधिक, ट्राफिकले सुरु गर्‍यो २ मिनेट अभियान

: कोशी प्रदेशमा सडक दुर्घटनाको सबैभन्दा ठूलो जोखिम दुई पांग्रे सवारीसाधन रहेको तथ्यांकले देखाएको छ। समग्रमा ५६ प्रतिशतभन्दा बढी दुई पांग्रे सवारीसाधन दुर्घटनामा पर्ने गरेका छन्। मंसिर महिनामा मात्रै प्रदेशभर ८ सय ६२ वटा सवारीसाधन दुर्घटनामा परेका छन्। दुर्घटनामा ३२ जनाको मृत्यु भएको छ भने ९ सय ७९ जना घाइते भएका छन्। यीमध्ये ४ सय ८१ वटा दुर्घटना मोटरसाइकल र स्कुटर दुर्घटनामा परेका छन्। जुन समग्र दुर्घटनाको ५६ प्रतिशत हो। दुई पांग्रे सवारी दुर्घटनामा मात्रै १९ जनाको मृत्यु र ६ सय ५ जना घाइते भएका छन्।




यो तथ्यांकले कोशी प्रदेशमा सडक दुर्घटनाको सबैभन्दा भयावह तस्बिर दुई पांग्रे सवारीसाधनले बोकेको देखाउँछ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रवक्ता डीएसपी सन्तोष श्रेष्ठका अनुसार दुई पांग्रे सवारी दुर्घटनाको दर उच्च हुनुका साथै त्यसबाट हुने मानवीय क्षति पनि अत्यन्त गम्भीर छ। मंसिरमा बस र माइक्रोजस्ता सार्वजनिक सवारीसाधन ४४ वटा दुर्घटनामा परेका छन्, जसमा २ जनाको मृत्यु र ९५ जना घाइते भएका छन्।


सीटी सफारी र अटो टेम्पो १ सय ३ वटा दुर्घटनामा पर्दा १ जनाको मृत्यु र १ सय १२ जना घाइते भएका छन्। कार, जिपजस्ता निजी सवारी ६५ वटा दुर्घटनामा पर्दा २ जनाको मृत्यु र ५३ जना घाइते भएका छन्। ट्याक्टर ३६ वटा दुर्घटनामा पर्दा ७ जनाको मृत्यु र १८ जना घाइते भएका छन्। ट्रक, टिपर, डोजरजस्ता सवारीसाधन ४२ वटा दुर्घटना हुँदा १ जनाको मृत्यु र १४ जना घाइते भएका छन्। अन्य सवारीसाधनका ९१ वटा दुर्घटनामा ८२ जना घाइते भएका छन्।




यी सबै तथ्यांकलाई हेर्दा दुर्घटनाको केन्द्रमा दुई पांग्रे सवारीसाधन नै रहेको निष्कर्ष ट्राफिक प्रहरीको छ। दुई पांग्रे सवारी दुर्घटनाको यही भयावह अवस्थालाई मध्यनजर गर्दै कोशी प्रदेश ट्राफिक प्रहरीले नयाँ शैलीको विशेष सचेतनामूलक अभियान सुरु गरेको छ। ‘२ पांग्रेका चालकसँग २ मिनेट’ नाम दिइएको अभियान प्रदेशका १४ वटै जिल्लामा एकैसाथ सञ्चालनमा ल्याइएको हो। अभियानको मुख्य उद्देश्य कारबाहीभन्दा पनि प्रत्यक्ष संवादमार्फत चालकको व्यवहारमा सुधार ल्याउनु रहेको छ।

मोरङ ट्राफिक प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेका अनुसार अभियानअन्तर्गत सडकमा गुडिरहेका मोटरसाइकल र स्कुटरका चालकलाई रोक्दै ट्राफिक प्रहरीले करिब २ मिनेट समय लिएर ट्राफिक नियम, सडक अनुशासन र सुरक्षित यात्राका आधारभूत विषयमा प्रत्यक्ष जानकारी दिन्छ। ‘दुई पांग्रे सवारी दुर्घटनाबाट हुने मानवीय र भौतिक क्षति न्यूनीकरण गर्न कारबाही मात्रै पर्याप्त हुँदैन,’ उनी भन्छन्, ‘चालक आफैं सचेत र जिम्मेवार हुनुपर्छ भन्ने सोचबाट यो अभियान सुरु गरिएको हो।’

अभियानलाई प्रभावकारी बनाउन कोशी प्रदेश ट्राफिक प्रहरी प्रमुख एसपी दीपक गिरी आफैं फिल्डमा खटिएर चालकसँग संवाद गरिरहेका छन्। ट्राफिक नियमको पालना जीवन रक्षासँग प्रत्यक्ष जोडिएको विषय भएको भन्दै उनले चालकलाई नियमको महत्व बुझाउन प्राथमिकता दिएको बताउँछन्। गिरीका अनुसार जाडो मौसम सुरु भएसँगै हुस्सु लाग्ने, चिसो बढ्ने र दृश्यता कमजोर हुने अवस्थाले दुर्घटनाको जोखिम अझै बढाएको छ। यही कारण सडकमै रोकेर चालकलाई प्रत्यक्ष सचेत गराउनु आवश्यक देखिएको हो।

अभियानका क्रममा हेल्मेट अनिवार्य रूपमा लगाउनुपर्ने र फिता राम्रोसँग बाँध्नुपर्ने, तीव्र गतिमा सवारी नचलाउनुपर्ने, लेन अनुशासन पालना गर्नुपर्ने, जथाभावी ओभरटेक नगर्नुपर्ने, पार्किङ निषेधित स्थानमा सवारी नराख्नुपर्ने, सवारीसाधनको यान्त्रिक अवस्था नियमित जाँच गर्नुपर्ने, मोबाइल फोन प्रयोग नगरी सवारी चलाउनुपर्ने, मापसे र लापसे गरेर सवारी नचलाउनुपर्ने जस्ता विषयमा चालकलाई सम्झाइन्छ। यी सबै कुरा आधारभूत भए पनि अधिकांश दुर्घटनाको जड यही लापरबाही भएको ट्राफिक प्रहरीको ठम्याइ छ।

नियम उल्लंघन देखिए प्रचलित कानुनअनुसार कारबाही गरिने सन्देश पनि चालकलाई ट्राफिकले दिने गरेको छ। तर, दुर्घटना न्यूनीकरण कारबाहीबाट सम्भव नभएकाले चालक, सहचालक, पैदलयात्री र सम्पूर्ण सडक प्रयोगकर्ता सचेत र जिम्मेवार हुनुपर्नेमा ट्राफिकको जोड छ।

ट्राफिक प्रहरीले सूचना, शिक्षा र प्रविधिको संयोजनमार्फत सडक सुरक्षा प्रवद्र्धन गर्ने नीति लिएको छ। तीव्र गतिमा चलाइएका सवारीसाधनको निगरानीका लागि राडरगन, मापसे चेकजाँचका लागि ब्रेथलाइजर र लापसे परीक्षणका लागि विशेष किट प्रयोग गरिँदै आएको छ। यद्यपि, प्रविधि र कारबाहीले मात्र दुर्घटना रोक्न नसकिने र चालकको व्यवहारमा सुधार नआएसम्म उल्लेख्य कमी आउन कठिन हुने देखिएपछि नयाँ अभियान सुरु गरिएको प्रदेश ट्राफिक प्रमुख एसपी गिरी बताउँछन्।

उनका अनुसार ट्राफिक प्रहरी दिनरात सडकमा खटिएर नियम पालना गराउने प्रयासमा छ। ‘१ सेकेण्डको लापरबाहीले पनि ज्यान जान सक्छ,’ उनी भन्छन्, ‘ट्राफिक नियम उल्लंघन मृत्युको कारण बन्न सक्छ भन्ने यथार्थ सबैले बुझ्न जरुरी छ।’ उनका अनुसार सडक सुरक्षालाई संस्कारका रूपमा विकास नगरेसम्म दुर्घटना न्यूनीकरण सम्भव हुँदैन।

यही यथार्थलाई आधार मानेर ट्राफिक प्रहरीले ‘२ पांग्रेका चालकसँग २ मिनेट’ अभियानलाई तीव्र बनाएको हो। सडकमै दुई मिनेट रोकिएर चालकलाई नियमको महत्व बुझाउने, सुरक्षित यात्राका लागि प्रेरित गर्ने र नियम उल्लंघन नगर्न सचेत गराउने यो अभ्यासलाई दुर्घटना न्यूनीकरणको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

डीएसपी श्रेष्ठका अनुसार नियम उल्लंघन रोज्नु जोखिम र नियम पालना जीवन रक्षाको बाटो हो। ‘दुई पांग्रे सवारीसाधनको दुर्घटना सबैभन्दा बढी भएकाले यसैमा केन्द्रित भएर सचेतनामूलक अभियान चलाइएको छ,’ उनी भन्छन्, ‘समग्रमा विभिन्न हिसाबले जनचेतनामूलक कार्यक्रमहरु पनि भइरहेका छन्।’ चालक स्वयं नियम पालना गर्न तयार भए मात्र अनमोल जीवन जोगाउन सकिने श्रेष्ठको भनाइ छ। दुई पांग्रे लक्षित अभियानले कोशी प्रदेशमा दुर्घटना र त्यसबाट हुने क्षतिमा क्रमशः कमी आउने अपेक्षा ट्राफिक प्रहरीको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका–३१ बाँसपानीकी ७५ वर्षीया दालकुमारी परियारको यही पुस ३ गते धारिलो हतियार प्रयार गरी हत्या भएको थियो । प्रहरीले घटनामा संलग्न रहेको अभियोगमा मृतकका नाति २२ वर्षीय आशिष परियारलाई शुक्रबार पोखरा–१० बुद्धचोकबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी ...
— पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका–३१ बाँसपानीकी ७५ वर्षीया दालकुमारी परियारको यही पुस ३ गते धारिलो हतियार प्रयार गरी हत्या भएको थियो । प्रहरीले घटनामा संलग्न रहेको अभियोगमा मृतकका नाति २२ वर्षीय आशिष परियारलाई शुक्रबार पोखरा–१० बुद्धचोकबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी ...
: नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले फागुन २१ गते तोकिएको निर्वाचनलाई शान्तिपूर्ण, सुरक्षित र निष्पक्ष बनाउन सरकार गम्भीर हुनुपर्ने बताएका छन् । निर्वाचनको मिति नजिकिँदै जाँदा देशका विभिन्न स्थानमा देखिएको असुरक्षा, फरार कैदीको अवस्था र हातहतियार लुटिएका जस्ता घटनाले लोकतान्त्रिक प्रक्रियामै प्रश्न उठ्ने अवस्था सिर्जना भएको भन्दै उनले सरकारको भूमिकामाथि कडा प्रश्न गरेका ...
— मोटरसाइकल दुर्घटनामा कृषि ज्ञान केन्द्र खोटाङका कार्यालय सहयोगीको मृत्यु भएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाका ३० वर्षीय दिनेश आचार्यले चलाएको मोटरसाइकल सोल्मामा शुक्रबार बेलुकी दुर्घटना हुँदा मोटरसाइकलको पछाडि सवार सोही नगरपालिका–१ दिक्तेलका ५५ वर्षीय पदमबहादुर खड्काको मृत्यु भएको हो । दोर्पाबाट दिक्तेल आउँदै गरेको प्रदेश १–०५००१ प १७६४ नम्बरको मोटरसाइकल मध्यपहाडी लोकमार्गअन्तर्गत सोल्मामा ...
: नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधव नेपालले जनताको चाहनालाई साकार पार्न आफूहरू इमान्दारिताका साथ अगाडि बढिरहेको बताएका छन्। काठमाडौंमा आयोजित नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देशसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। सहसंयोजक नेपालले आफूहरूलाई एक पटक मौका दिनुपर्ने बताए। उनले भने,ʻहामी जनताको चाहनालाई साकार पार्नका लागि इमान्दारिताका साथ अगाडि बढेका छौँ कि छैनौँ। ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम