: ताइवानको राजधानी ताइपेईमा भएको चक्कु आक्रमणबाट तीन जनाको मृत्यु भएको छ । धेरै जना घाइते भएका छन्। एक व्यक्तिले चक्कु र धुवाँयुक्त ग्रेनेडले आक्रमण गर्दा कम्तीमा तीन जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। घटनामा २७ वर्षीय चाङ वेनले ‘स्मोक बम’ प्रज्वलन गर्दै भीडभाड भएको क्षेत्रमा मानिसमाथि आक्रमण गरेका थिए।
ताइवानका प्रधानमन्त्री चो जुङ–ताइका अनुसार आक्रमणकारीले ताइपेईको मुख्य मेट्रो स्टेशनमा ‘स्मोक बम’ प्रहार गरेपछि नजिकैको व्यस्त किनमेल क्षेत्रमा रहेको अर्को स्टेशनतर्फ दौडिँदै मानिसहरूलाई चक्कुले आक्रमण गरेका थिए। आक्रमणकारीको नाम चाङ वेन रहेको र उनी ताइवानकै नागरिक भएको अधिकारीहरूले बताएका छन्।
प्रधानमन्त्रीका अनुसार आक्रमणकारी पछि एक बहुमन्जिला भवनबाट खसेका कारण गम्भीर घाइते भई अस्पतालमा मृत्यु भएको हो। उनको आक्रमणको उद्देश्य हालसम्म स्पष्ट हुन नसकेको बीबीसीमा उल्लेख छ।
घटना शुक्रबार साँझ करिब ५:२० बजे कार्यालय समयपछि भएको हो, जब मेट्रो स्टेशनहरूमा यात्रुको चाप बढी हुन्छ। सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा धुवाँ फैलिएको सडकबाट मानिसहरू आतंकित हुँदै भागिरहेको देखिन्छ।
प्रहरीले घेरा हालेपछि आक्रमणकारी नजिकैको पुस्तक पसल तथा डिपार्टमेन्ट स्टोरमा पसेका थिए। त्यसक्रममा उनी भवनबाट खसेपछि नियन्त्रणमा लिइए पनि उपचारका क्रममा मृत्यु भएको हो।
यस घटनापछि ताइवान सरकारले मेट्रो र रेल स्टेशनहरू तथा विमानस्थलहरूमा सुरक्षा कडा बनाएको छ। राष्ट्रपति विलियम लाईले घटनाको छिटो र गहिरो अनुसन्धान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
ताइवानमा यस्ता हिंसात्मक घटनाहरू दुर्लभ मानिन्छन्। यसअघि सन् २०१४ मा ताइपेईको भूमिगत रेलमा भएको आक्रमणमा चार जनाको ज्यान गएको थियो।