: धरान उपमहानगरपालिका–२० स्थित विष्णुपादुका मन्दिरमा यस वर्षको पौषे औंशीका अवसरमा पितृ उद्धारका लागि ५ हजारभन्दा बढी श्रद्धालुले श्राद्ध, तर्पण तथा पिण्डदान गरेका छन्। मुलुकको महत्त्वपूर्ण धार्मिक तथा सांस्कृतिक तीर्थ स्थलका रूपमा परिचित विष्णुपादुकामा पौषे औंशीको अवसरमा बिहीबार र शुक्रबार देश–विदेशबाट श्रद्धालुहरू यहाँ आएका थिए।
धार्मिक विश्वासअनुसार भगवान् विष्णुले त्रिविक्रम अवतारमा बलि राजासँग तीन पाउ भूमि माग्दा तेस्रो पाउ टेकिएको स्थान विष्णुपादुका भएको जनविश्वास छ। यही कारण यहाँ भगवान् विष्णुको पाउको चिह्न (पादुका) अवस्थित रहेको मानिन्छ। यस पवित्र स्थलमा स्नान, पूजा र तर्पण गर्दा पितृहरूको आत्माले मोक्ष पाउने र वंशमा सुख–शान्ति आउने विश्वास रहेको छ।
पौषे औंशीका दिन आफ्ना दिवंगत पिता–पुर्खाको नाममा श्राद्ध, पिण्डदान र तर्पण गर्नाले आत्मा तृप्त हुने धार्मिक मान्यताका कारण भारत, भुटानलगायत मुलुकबाट समेत श्रद्धालुहरू विष्णुपादुका पुगेका थिए। धरानका मोहनकाजी शाक्यले पितृ उद्धारका लागि विष्णुपादुकामा बर्सेनि श्राद्ध गर्न आउने गरेको बताए। किरातकालदेखि नै धार्मिक गतिविधिको केन्द्र रहँदै आएको विष्णुपादुकाले लिच्छवि, मल्ल हुँदै आधुनिक कालसम्म आफ्नो धार्मिक महत्त्व जोगाउँदै आएको इतिहास छ। प्राकृतिक सौन्दर्य, हरियाली डाँडाकाँडा र पवित्र जलधाराले यस क्षेत्रलाई धार्मिकसँगै पर्यटकीय गन्तव्यका रूपमा पनि चिनाएको स्थानीय सम्फर तामाङले बताएका छन्।
मेला अवधिभर श्रद्धालुको सुरक्षाका लागि इलाका प्रहरी कार्यालय धरानका प्रमुख डीएसपी भीषणबाबु राईको नेतृत्वमा प्रहरी परिचालन गरिएको थियो भने जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी निरीक्षक अनिल माबुहाङ लिम्बुको नेतृत्वमा सवारी साधन व्यवस्थापनका लागि ट्राफिक प्रहरी खटाइएको थियो। डीएसपी राईले मेलामा भक्तजनको भरपर्दो शान्ति–सुरक्षा व्यवस्था मिलाइएको जानकारी दिए।
बिहीबारदेखि सुरु भएको पौषे औंशी मेला शुक्रबार बेलुका सम्पन्न भएको छ। यद्यपि विष्णुपादुका मन्दिरसम्म जाने सडक निर्माणमा मन्दिर व्यवस्थापन समिति र धरान उपमहानगरपालिकाले पर्याप्त चासो नदेखाएको भन्दै यातायात व्यवसायीहरूले गुनासो गरेका छन्। यातायात व्यवसायी सरोज श्रेष्ठले सडकको कमजोर अवस्थाका कारण सवारी सञ्चालन सञ्चालनमा समस्या उत्पन्न भएको बताए।
धार्मिक आस्था, इतिहास र विश्वासको संगम बनेको विष्णुपादुका मन्दिरलाई व्यवस्थित संरक्षण, प्रवर्धन र पूर्वाधार विकास गर्न सके पूर्वी नेपालको प्रमुख धार्मिक पर्यटन गन्तव्यका रूपमा विकास गर्न सकिने उद्योग वाणिज्य संघ सुनसरीका सदस्य कृष्णप्रसाद पाठकले बताएका छन्। त्यस्तै, बराहक्षेत्र मन्दिरमा पनि देशका विभिन्न स्थानबाट श्रद्धालुहरूले सप्तकोशी र कोकाहा नदीको संगमस्थलमा श्राद्ध गरेका थिए।