: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने थुनामुक्त भएका छन्। रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारीको रकम ठगी र संगठित अपराधको अभियोगमा पूर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई बिहीबार उच्च अदालत बुटवल तुलसीपुर इजालसले धरौटी रकम (बैंक जमानत १ करोड) स्वीकार गर्नेलगायत विभिन्न सर्तहरूसहित थुनामुक्त गर्न आदेश दिएको थियो।
आदेशमा भएका सर्तहरूका लागि उपस्थित भएर आवश्यक कागजी प्रक्रिया पूरा गरेपछि लामिछाने थुनामुक्त भएको जिल्ला अदालत रुपन्देहीका सूचना अधिकारी पदम अर्यालले जानकारी दिए। उनका अनुसार लामिछानेले ३ करोड ७४ लाख ४४ हजारको बैंक ज्ञारेन्टी बुझाएका थिए।
भैरहवाको खराब मौसमका कारण काठमाडौंबाट विमानमा ल्याउन ढिलाइ भएपछि काठमाडौंबाट भरतपुरसम्म विमानमा र त्यसपछि गाडीमार्फत उनलाई अदालतमा उपस्थित गराइएको थियो। थुनामुक्त हुनुअघि अदालत बाहिर रास्वपाका कार्यकर्ताहरूले लामिछानेको समर्थनमा नाराबाजी गरेका थिए।
थुनामुक्त भएपछि नेता कार्यकर्ताहरूलाई सम्बोधन गर्दै उनले भने, 'न्याय अझै पाउन बाँकी नै छ। म आशा गर्छु कि देशले चाँडै न्याय पाउनेछ। मैले बोल्ने समय आउँदै छ। केही समय धैर्य गर्नुहोला। मैले धेरै कुरा भन्न बाँकी छ।'