— स्तरोन्नति थालिएको नागढुंगा–नौबिसे सडक खण्डको १२.२६ किलोमिटरमा सय मिटरबाहेक सबै खण्डमा दोस्रो तहको कालोपत्रको काम सकिएको छ । २४ मंसिरदेखि १ पुससम्म उक्त खण्डमा दिनहुँ ५ घण्टा सवारी आवागमन बन्द गरेर काम गरिएको थियो । अहिले झ्याप्ले खोला र खत्रीपौवास्थित पुल आसपासमा रहेको पहुँच सडकबाहेक सबै खण्डमा दोस्रो तहको कालोपत्र सकिएको छ ।
समग्रमा उक्त खण्डको प्रगति ८० प्रतिशतभन्दा बढी भएको नागढुंगा–मुग्लिन सडक योजना पूर्वी खण्डका प्रमुख केशवप्रसाद ओझाले बताए । ‘पहिलो खण्डमा दोस्रो तहको कालोपत्रको काम सकिएको छ, अब तेस्रो तहको कालोपत्र गर्ने हो,’ उनले भने, ‘त्यसका लागि धेरै समय लाग्दैन ।’
पहिलो खण्डको स्तरोन्नतिको ठेक्का १ अर्ब ३० करोड रुपैयाँमा जाङ्सु–सगुन जेभीले लिएका हुन् । यही खण्डको खानीखोलामा पैदल यात्रीका लागि अपांगमैत्री आकाशे पुल पनि बन्दै छ । झ्याप्ले खोलामा विशेष प्रकृतिको स्लोप स्टेबलाइजेसन (पहिरो नियन्त्रण) को काम अन्तिम चरणमा पुगेको छ । २९ चैत २०७८ मा यस खण्डको ठेक्का सम्झौता भएको हो । काम भने सम्झौताको करिब डेढ वर्षपछि २६ जेठ २०७९ मा मात्र सुरु भयो ।
२७ जेठ २०८१ भित्र काम नसकिएपछि माघ २०८१ सम्मका लागि म्याद थपियो, काम सकिएन । फेरि १० साउन २०८२ सम्मका लागि समय थप्दा पनि काम नसकिएपछि फागुन मसान्तसम्म म्याद थपिएको छ । ‘नागढुंगा–नौबिसे खण्डमा धेरै समस्या छैन,’ ओझाले भने, ‘अहिले धादिङको गल्छी–गजुरी खण्डको साँघुरो र जोखिमपूर्ण रहेको पोखरेभीर क्षेत्रमा सडक चौडा गर्नु छ तर काम सकिएको छैन ।’
जुन दोस्रो खण्ड नौबिसे–मलेखुमा पर्छ । यस खण्डको दूरी ४३.५४ किमि छ । ६ किलोमिटरमा पुरानो कालोपत्र भत्काएर बेस राखी ग्राभेल गर्ने काम भइरहेको छ । असारअघि १५ किमि सडकमा पहिलो तहको कालोपत्र गरिएको थियो । अहिलेसम्म उक्त खण्डमा ५ किमिमा दोस्रो तहको कालोपत्र भइसकेको छ ।
जसमा २८.५४ किमि कालोपत्र गर्न बाँकी छ । केही खण्डमा मुद्दा मामिलाले गर्दा समस्या भएको ओझाले सुनाए । १३ मध्ये ९ वटा पुलको निर्माण सकिसकेको छ । समग्र प्रगति ४६ प्रतिशत छ । नौबिसेदेखि मुग्लिनसम्म नै समस्या छ । धेरै ठाउँमा सडक भत्काइएको छ भने खाल्डाखुल्डीले सवारीसाधन सञ्चालनमा समस्या भएको छ । यसको म्याद असोज २०८३ सम्म थपिएको छ । यस खण्डमा बिजुलीका पोल हटाउने समस्या भने कायमै छ ।
नौबिसे–महादेवबेंसी र आदमघाट–मलेखु खण्डमा विद्युत्का पोल सार्न विद्युत् प्राधिकरणले आलटाल गर्दै आएको छ । केही दिनअघि उक्त सडकको अनुगमनमा पुग्दा ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र सहरी विकासमन्त्री कुलमान घिसिङले पर्याप्त जनशक्ति परिचालन गरेर छिटो पोल हटाई निर्माणको काम अघि बढाउन निर्देशन दिएका थिए । यस खण्डमा विद्युत्का १ सय ६८ पोल हटाउन बाँकी छ ।
यसको ठेक्का ५ अर्ब ३३ करोड १९ लाखमा जेडआईसीजी–शर्मा–लामाले जेभीमा लिएका हुन् । २०७९ वैशाख १४ मा ठेक्का सम्झौता भएको यस खण्डको काम २०८२ जेठ मसान्तमा सकिसक्नुपर्ने भए पनि नसकिएपछि म्याद थपिएको छ । ‘गल्छी–गजुरी खण्डमा पर्ने पोखरेभीर सुधार गर्न अझै तीन साता सडक बन्द गर्नुपर्छ,’ ओझाले भने, ‘मन्त्री घिसिङले तीन सिफ्टमा काम गराउने भने पनि दिउँसो र राति दुवै समय सडक बन्द गर्दा आपूर्ति शृंखलामा प्रभाव पर्ने जोखिम रहेकाले यसमा छलफल गरेर निर्णय गर्छौं ।’
यो सडकमा दिउँसो यात्रुवाहक सवारी बढी गुड्छन् । राति भने मालवाहक सवारीको चाप बढी हुन्छ । दुवै समयमा सवारी आवागमन बन्द गराउँदा समस्या हुने देखिएको उनको भनाइ छ । मेसिन थप गरेर काम गर्ने तयारी भइरहेको पनि ओझाले सुनाए ।
नागढुंगादेखि मुग्लिनसम्मको ९४.६६ किलोमिटर सडकमा स्तरोन्नतिको काम भइरहेको छ । यो सडक भएर दिनहुँ १२ हजारभन्दा बढी सवारीसाधन ओहोरदोहोर गर्छन् । तर सडक स्तरोन्नतिको कामले गति लिन सकेको छैन । अहिले सबैभन्दा बढी समस्या तेस्रो खण्डमा पर्ने, मलेखु–मुग्लिनमा छ । यस खण्डको प्रगति एकदमै न्यून छ । यस खण्डमा जताततै सडक भत्काइएको छ । खाल्डाखुल्डी धेरै छन् । सडकमा पर्याप्त ट्राफिक प्रहरी नहुँदा लामो समयसम्म ट्राफिक जाम पनि पर्छ ।
तेस्रो खण्डको दूरी ३८.८६ किमि र निर्माण प्रगति ३५ प्रतिशत मात्र छ । शर्मा–जेडआईसीजीले ४ अर्ब ८० करोड ५९ लाख रुपैयाँमा ठेक्का लिएका हुन् । १५ पुस २०७९ मा भएको सम्झौताअनुसार २०८२ पुसभित्र काम सक्नुपर्ने हो । निर्माण सामग्री अभावले गर्दा काममा प्रगति बढाउन समस्या भएको नागढुंगा–मुग्लिन सडक योजना, पश्चिम खण्डकी प्रमुख सजना अधिकारीले बताइन् ।
‘अहिले थोरै खण्डलाई पुग्ने निर्माण सामग्री मात्र मौज्दात छ, थप जोहो गर्ने काम हुँदै छ,’ अधिकारीले भनिन्, ‘मलेखुको लामाबगरबाट निर्माण सामग्री निकाल्न वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) गरिएको थियो तर त्यहाँबाट निर्माण सामग्री निकाल्न पाइएको छैन ।’ स्थानीयले निर्माण सामग्री निकाल्न दिएका छैनन् । निर्माण सामग्री अभावमा प्रगति बढाउन नसकिएको प्रमुख अधिकारीको गुनासो छ । अहिले काम गर्ने समय भएको र प्रगति बढाउन सकिने बेलामा पनि निर्माण सामग्रीको अभाव झेल्नुपरेको प्रमुख अधिकारीले जनाइन् ।
अहिलेसम्म उक्त खण्डमा ८.१ किमि चार लेन सडकमा कालोपत्र भएको छ । यस खण्डमा भौगोलिक अवस्थाले गर्दा कतै दुई, कतै तीन र कतै चार लेन सडक बनिरहेको छ । अहिलेसम्म बेनिघाट, फिस्लिङ, कुरिनटारलगायत बजार खण्डमा बढी कालोपत्र भएको छ । चालु आर्थिक वर्षमा ३८.८६ किमिमध्ये २० किमि सडक कालोपत्र गर्ने लक्ष्य योजना कार्यालयको छ । ६ पुलमध्ये चार वटाको निर्माण सकिएको छ । ‘जेन–जी आन्दोलनका बेला यस खण्डमा पर्ने असपाल्ट प्लान्ट र क्रसरमा क्षति पुगेको थियो,’ उनले भनिन्, ‘भारतबाट प्राविधिक ल्याएर मर्मत गर्न तीन महिना लाग्यो, अहिले मेसिन चालु छ ।’