— सप्तरीको राजविराज नगरपालिका–१६ बोरियामा मोबाइल चोरीको आरोपमा कुटपिट गर्दा १९ वर्षीय मुकेशकुमार यादवको मृत्यु भएको घटनामा दुई जना आरोपित धरौटीमा छुटेका छन् । घटनाका आरोपित अर्का नाबालकलाई भने अभिभावकको जिम्मामा छाडिएको छ ।
सप्तरी जिल्ला अदालतका न्यायाधीश किशोर घिमिरेको एकल इजलासमा गत सोमबार र मंगलबार सुनुवाइ हुँदा उक्त आदेश जारी भएको हो । आरोपीहरु राजविराज नगरपालिका–१६ बोरियाकी ३५ वर्षीया सरोकुमारी साहलाई दुई लाख र २५ वर्षीय सन्तोषकुमार राउतलाई एक लाख धरौटी तोकिएको छ भने बोरियाकै १८ वर्षीय रवीन्द्र ठाकुर नाबालकको हकमा अभिभावकको जिम्मा लगाउने आदेश भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी डम्बरबहादुरी पुरीले बताए ।
मोबाइल चोरी गरेको आरोपमा सरोकुमारीले गत मंसिर ३ मा मुकेशकुमारलाई पक्रेर छिमेकीको सहयोगमा आँपको रुखमा बाँधेर निर्घात कुटपिट गराएकी थिइन् । कुटपिट गर्दै मुकेशले चोरेको मोबाइल जिल्लाकै विष्णुपुर गाउँपालिका–४ कन्कट्टास्थित आफ्नो मामाघर लगेको आशंका गरी उनीहरूले ई–रिक्सामा बाँधेरै उनलाई त्यहाँ लगेका थिइन् ।
त्यहाँ पनि मोबाइल नभेटिँदा उनीहरू झन् आक्रोशित हुँदै त्यहीँ ई–रिक्सामा बाँधेर कुटपिट गर्दै फेरि बोरिया फर्काउनुअघि नै मुकेश अचेत भएपछि परिवारको जिम्मा लगाएकी थिइन् । तर, फेरि पनि कुट्न सक्ने डरले मुकेशलाई त्यो दिन घरबाहिर निकाल्नै नसक्दा अस्पताल पुर्याउन सकेनन् । भोलिपल्ट मुकेश ज्वरोले पनि ग्रसित भएपछि मंसिर ५ मा मात्रै उनलाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याइएको थियो । त्यहाँ सघन कक्ष (आईसीयू) नरहँदा उनको उपचार हुन सकेन । दिउँसो रेफर गरेर राजविराजकै छिन्नमस्ता अस्पताल लगेकामा मुकेशको उपचारकै क्रममा मृत्यु भएको थियो ।
उनको पोस्टमार्टम रिपोर्टमा स्पष्ट नदेखिएपछि भिसेरा परीक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटार (ललितपुर) पठाइएको छ । तर, रिपोर्ट अझै आइसकेको छैन । रिपोर्ट आउनुअघि नै आरोपित छुट्दा पीडित परिवार निराश बनेका छन् ।