: जेनजी आन्दोलनमा वीरगन्जका मेयर राजेशमान सिंहको घरमा आगजनी गरेको आरोपमा पक्राउ परेमा हिन्दुवादी नेता रन्जन सिंह रिहा भएका छन्। अनुसन्धानका लागि बिहीबार बिहान जिल्ला प्रहरी कार्यालय पर्सामा बोलाइएका बेला वीरगन्ज-१० रानीघाटका ४१ वर्षीय राजपुतलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
सरकार र जेनजीप्रतिनिधिबीच मंसिर २४ गते भएको १० बुँदे सम्झौता अनुसार जेनजी आन्दोलनमा सहभागी भएकै आधारमा प्रहरी थुनामा राख्न नपाइने र आवश्यक परे बयानका लागि फेरि बोलाउन सक्ने शर्तमा जिम्मा जमानीमा राजपुतलाई रिहा गरिएको पर्साका प्रहरी उपरीक्षक सुदीपराज पाठकले जानकारी दिए।
मेयर सिंहको निजी घरमा भदौ २४ मा आगजनी गरिएको घटनामा संलग्न रहेको भन्दै मेयर सिंहले रमजपुतसहित ६ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए। त्यसपछि उनीहरू विरुद्ध प्रहरीले मुद्दा दर्ता गरेपछि पर्सा जिल्ला अदालतले राजपुतसहितका विरुद्ध पक्राउ पुर्जी जारी गरेकोमा अनुसन्धानका लागि बिहीबार राजपुतलाई नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक पाठकले बताएका थिए।
बेलुकी ७:२० बजेतिर प्रहरीले राजपुतलाई रिहा गरेपछि प्रहरी उपरीक्षक पाठकले भने, ‘नेपाल राजपत्रमा प्रकाशित नेपाल सरकार र जेनजी प्रतिनिधि बीचको १० बुँदे सम्झौता अनुसार राजपुतलाई रिहा गरिएको हो।’ उनले उक्त १० बुँदे सम्झौतामा प्रहरी थुनामा नराखिकन प्रहरीले बयान लिनुपर्ने उल्लेख रहेकोले आफूहरूले कानुनको पालना गरेर राजपुतलाई रिहा गरेको बताए। उनले थपे, ‘उनी विरुद्धको मुद्दा सकिएको चाहिँ होइन। बयानका लागि उनलाई प्रहरीले फेरि बोलाउन सक्छ।’ बिहीबार उनलाई बयानकै लागि जिल्ला प्रहरी कार्यालयमा बोलाएर राखिएको पनि उनले बताए।
त्यसअघि बिहीबार दिउँसो जेनजी र हिन्दुवादी युवाहरूले राजपुतको रिहाइको माग गर्दै जिल्ला प्रहरी कार्यालय पर्सा अगाडिकै सडकमा टायर बालेर प्रदर्शन गरेका थिए। राजपुत निर्दोष रहेको भन्दै उनीहरूले तत्काल बिना सर्त रिहा नगरिए अझ सशक्त आन्दोलनमा उत्रिने चेतावनीसमेत दिएका थिए।