: भदौ २३ र २४ मा जेनजी आन्दोलनका क्रममा वीरगन्जमा सार्वजनिक र निजी सम्पतिमा गरिएको आगजनीको घटनामा संलग्नहरूलाई प्रहरीले पक्राउ गर्न सुरु गरेको छ।
जेनजी आन्दोलन भएको तीन महिनापछि मात्रै जिल्ला प्रहरी कार्यालय पर्साले सार्वजनिक र निजी सम्पतिमा आगजनी गर्नेहरूलाई पक्राउ गर्न थालेको हो। यसै क्रममा वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहको वीरगन्ज महानगरपालिका-३ स्थित घरमा आगजनी गरेको आरोपमा एक युवकलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका-९ रानीघाटका अन्दाजी ४० वर्षीय रञ्जन सिंह राजपुत रहेका छन्। उनलाई सोधपुछका बहानामा बिहीबार बिहान जिल्ला प्रहरी कार्यालयमा प्रहरीले बोलाएको थियो। त्यही क्रममा उनलाई नियन्त्रणमा लिएर प्रहरी हिरासतमा राखिएको पर्साका प्रहरी उपरीक्षक सुदीपराज पाठकले जानकारी दिए।
मेयर सिंहले आफ्नो निजी घरमा तोडफोड, आगजनी र लुटपाट गर्नेहरु विरुद्ध किटानी जाहेरी दिएपछि पर्सा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको र त्यसैका आधारमा बिहीबार बिहान राजपुतलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको पाठकले बताए।
जेनजी आन्दोलनका क्रममा भदौ २४ गते वीरगन्जका सरकारी कार्यालय र निजी घरहरूमा तोडफोड, आगजनी र लुटपाट गरिएको घटनामा संलग्नमध्येका १२ देखि १५ जनाविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको प्रहरी स्रोतले जानकारी दिएको छ।
बिहीबार नियन्त्रणमा लिइएका राजपुतविरुद्ध आपराधिक उपद्रो कसुरमा मुद्दा दर्ता भएको जानकारी प्रहरी उपरीक्षक पाठकले जानकारी दिए।
जेजनी आन्दोलनका क्रममा भदौ २४ गते वीरगन्जमा वीरगन्ज महानगरपालिकाको कार्यालय, वडा नम्बर १०, १४ र २६ को कार्यालय, प्रहरी चौकी रानीघाट, अस्थायी प्रहरी पोस्ट घण्टाघर र शिव पार्वती मठ, आन्तरिक राजस्व कार्यालय, नेपाल टेलिकमको कार्यालय, नेपाली कांग्रेस र नेकपा एमालेको पार्टी कार्यालयमा तोडफोड, आगजनी र लुटपाट गरिएको थियो।
त्यही दिन वीरगन्ज महानगरका मेयर राजेशमान सिंह, पूर्वमन्त्रीहरु प्रदीप यादव, अजय चौरसिया र राजकुमार गुप्ता, मधेस प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउत, नेपाली कांग्रेसका केन्द्रीय सदस्य अनिल रुंगटाको निजी घरमा तोडफोड, आगजनी र लुटपाट गरिएको थियो।