। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले फागुन २१ गते निर्वाचन नभए संसद् पुनस्थापना हुने बताएका छन् । विराटनगर विमानस्थलमा बुधबार संचारकर्मीसँग कुरा गर्दै उनले फागुन २१ गते निर्वाचन नभए संसद पुनस्थापना भएर अघि जाने बताएका हुन् ।
कोइरालाले यदि तोकिएको मितिमा निर्वाचन नभए देशमा संवैधानिक संकट आउने दाबी गरे । ‘चुनाव नहुने हो भने संसद पुनर्स्थापनाको माग अगाडि बढेर जान्छ,’ कोइरालाले भने,‘अहिलेको सरकार संविधानअनुसार बनेको होइन, यदि संविधानलाई अझै डिरेल गर्दै जाने हो भने देशको अवस्था के हुन्छ भन्ने बुझ्न जरुरी छ। त्यसकारण संसद् पुनर्स्थापना भएर अगाडि जानुपर्छ ।’
सुशीला कार्की नेतृत्वको सरकारले फागुन २१ मा आम निर्वाचन घोषणा गरेपनि चुनावको तयारी स्वरुप कार्य अगाडि बढाउन नसकेको उनको भनाइ छ ।
नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी भएका कारण निर्वाचनमा भाग लिएर लिने निर्णय गरिसकेको उनले बताए । संसद् पुनस्थापनाको मागसहित कांग्रेसका केही नेताहरु अदालत गएको उनको भनाइ छ । ‘हामीले निर्वाचनमा भाग लिने भनेका छौँ,’ उनले भने,‘तर, व्यक्तिगत स्वतन्त्रताको ख्याल गर्दै सांसदहरू सर्वोच्च अदालत जानुलाई अन्यथा लिनु हुँदैन ।’
आफूहरू निर्वाचनको लागि तयार भए पनि सरकारले वातावरण नबनाएको उनको आरोप छ । तोकिएको समयमा निर्वाचन नभए संसद् पुनर्स्थापनाको सम्भावना बलियो हुने कोइरालाको भनाइ छ ।
‘यो सरकार त संविधानअनुसार त भएको हैन । निर्वाचन कहिले हुन्छ भन्ने पनि छ । चुनाव त सरकारले गराउनुपर्यो । नेताहरूलाई भ्याली (काठमाडौँ उपत्यका) छोड्न नदिएर सरकारले कस्तो चुनाव गराउन खोजेको हो ?’ उनको प्रश्न थियो । भदौ २३ र २४ को जेनजी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसहितलाई उपत्यका छोड्न नपाउने निर्णय गरेको छ । कोइरालाले सरकारको यस्तो निर्णयप्रति आपत्ति जनाए ।
त्यस्तै उनले पार्टीको १५औं महाधिवेशनमा आफू सभापति पदको उम्मेदवार हुने पनि बताए । पार्टी महाधिवेशन पनि तोकिएकै समयमा हुनुपर्ने उनको भनाइ थियो ।