— प्रहरीले मंसिर महिनामा सल्यानका विभिन्न स्थानमा अवैध रूपमा स्थानीयले लुकाई छिपाइ राखेका ३३ थान भरुवा बन्दुक बरामद गरेको छ । निर्वाचनका बेला स्थानीयले लुकाइराखेको हतियार प्रयोगमा आउन सक्ने भन्दै विभागले बरामद गर्न परिपत्र गरेपछि खोजतलास अघि बढाइएको प्रहरीले जनाएको छ ।
सोही क्रममा जिल्लाका विभिन्न स्थानमा अवैध रूपमा लुकाई छिपाइ राखिएका ३३ थान भरुवा बन्दुक बरामद गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय सल्यानले बुधबार पत्रकार सम्मेलन गरी बरामद गरिएका भरुवा बन्दुक सार्वजनिक गरेको थियो । गोप्य सूचनाको आधारमा खोजतलास गर्दै जाँदा बन्गाड कुपिन्डे नगरपालिका वडा नं. १०, ११ र १२ बाट १५ थान, त्रिवेणी गाउँपालिका–१ काभ्राबाट १० थान र अन्य पालिकाबाट ८ थान गरी जम्मा ३३ थान भरुवा बन्दुक बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डा. हेमबहादुर केसीले बताए । बरामद गरिएका बन्दुकमध्ये कसैको पनि लाइसेन्स नभएको उनले जानकारी दिए ।
उनका अनुसार खोजतलासका क्रममा स्थानीयले भरुवा बन्दुक कसैले प्रयोग गर्न नमिल्ने पुराना घरमा, कसैले ओरालोमा र कसैले जंगलमा लुकाइराखेको अवस्था फेला परेको थियो । बन्दुक कसको हो भन्ने खुलेको छैन । ती बन्दुक जंगली जनावर सिकार गर्न प्रयोग हुँदै आएको प्रहरीको भनाइ छ ।
भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरिए पनि उनी धरौटीमा छुटिसकेको प्रहरी प्रमुख केसीले जानकारी दिए । जिल्लाका विभिन्न स्थानमा अझै पनि धेरै भरुवा बन्दुक रहेको आशंकामा खोजी कार्य जारी रहेको र बरामद गरिएका बन्दुक प्रदेश कार्यालयमा पठाउने तयारी भइरहेको उनको भनाइ छ ।