: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएला प्रवेश गर्ने तथा त्यहाँबाट बाहिरिने सबै प्रतिबन्धित तेल ट्याङ्करहरूमाथि पूर्ण नाकाबन्दी लगाउन आदेश दिएका छन्। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै भेनेजुएलालाई आतंकवाद,लागुपदार्थ तस्करी र मानव बेचबिखनमा संलग्न रहेको आरोप लगाएका छन्।
उनले आफ्नो पोस्टमा लेखेका छन्, 'भेनेजुएलाले क्षेत्रीय र अन्तर्राष्ट्रिय सुरक्षामा गम्भीर खतरा उत्पन्न गरिरहेको छ। त्यसैले भेनेजुएला प्रवेश गर्ने वा बाहिरिने सबै प्रतिबन्धित तेल ट्याङ्करहरूमाथि पूर्ण नाकाबन्दी लगाउने आदेश दिएको छु।'
यसअघि, करिब एक हप्ताअघि अमेरिकाले भेनेजुएलाको तट नजिकबाट एक तेल ट्याङ्कर नियन्त्रणमा लिएको थियो। उक्त घटनाप्रति प्रतिक्रिया जनाउँदै भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले अमेरिकी कदमलाई 'डकैती' को संज्ञा दिएका थिए।
ट्रम्प प्रशासनको पछिल्लो आदेशले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा ठूलो उतारचढाव आउन सक्ने विश्लेषकहरूले बताएका छन्। यसैबीच,अमेरिकाले क्यारिबियन क्षेत्रमा आफ्नो सैन्य उपस्थिति विस्तार गरेको जनाएको छ। अमेरिकी वायुसेना र नौसेनाका आणविक शक्तिबाट सञ्चालित पनडुब्बी, टोही विमान तथा करिब १५ हजार सैनिक सो क्षेत्रमा तैनाथ गरिएको अमेरिकी पक्षको भनाइ छ।
अमेरिकाले यस क्षेत्रका केही जलक्षेत्रमा सञ्चालन गरेका सैन्य कारबाहीका क्रममा दर्जनौं डुङ्गा प्रभावित भएको र मानवीय क्षति भएको दाबीसमेत गरिएको छ।