— गाजापट्टीमा एक प्यालेस्टिनी शिशुको चिसोले मृत्यु भएको छ । इजरायलले यहाँ आश्रयस्थलका लागि आवश्यक सामाग्री तथा मानवीय सहायता पुग्न दिइरहेको छैन ।
जाडोका कारण धेरै मानिसहरु समस्यामा छन् । मंगलबार गाजास्थित प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले २ साता उमेरकी एक शिशुको मृत्यु भएको जानकारी दिएको छ । चिसोका कारण ती शिशुलाई गम्भीर प्रकारको हाइपोेथर्मिया भएको पनि मन्त्रालयले जानकारी दिएको छ ।
गाजापट्टीबाट रिर्पोटिङ गरिरहेका अल जजिराका पत्रकार तरेक अबु अजोमले इजरायलले सबै आधारभूत सुविधालाई प्रणालीगत रुपमै कटौती गरेपछि यी शिशुको मृत्यु भएको बताए । ‘धेरै परिवारहरु सुक्खा चौरमा टेन्टमुनी बसिरहेका छन् । कुनै हिटिङ प्रणाली, विद्युत वा राम्रा कपडा उनीहरुसँग छैन,’ अबु अजोमले भने, ‘जब खाना, इन्धन, आश्रय र सहयोग सबै बन्द हुन्छ । तब चिसो पक्कै पनि प्राणघातक बन्छ ।’
इजरायलले युद्ध थालेको दुई वर्षभन्दा लामो अवधिका दौरान गाजामा ८० प्रतिशतभन्दा धेरै पूर्वाधार ध्वस्त छन् । हजारौ परिवार टेन्टमुनी पुगेका छन् । केही दिनअघि आएको ठूलो तुफानले गाजापट्टीमा कम्तिमा ११ जनाको ज्यान लिएको थियो । तुफान र भारी वर्षका कारण धेरै टेन्टहरु बगे , त्यस्तै केही भवन ध्वस्त भए ।
‘हामीले बच्चाको कपडालाई आगोमा सुकाउने प्रयास गर्छौ,’ बिस्थापित एक आमा उम् मोहम्मद आशालियाले अलजजिरासँग भनेकी छिन्, ‘बच्चाहरुसँग फेर्ने जगेडा कपडा छैन । म थकित र हैरान छु । हामीलाई दिइएको टेन्टले मात्रै चिसो धान्न सक्दैन । हामीलाई ब्ल्यान्केट चाहिएको छ ।’
संयुक्त राष्ट्रसंघ राहत तथा उद्धार एजेन्सी (युएनआरएफए) ले सामाजिक सञ्जालमार्फत गाजापट्टीमा गरिएको अवरोध हटाउनुपर्ने जनाएको छ । ‘ यो हट्नैपर्छ । सहायता पुग्न दिनुपर्छ ,’ युएनआरएफएले सामाजिक सञ्जालमा लेखेको छ, ‘मानिसहरु भवन ढलेर मरेको सुचना भइरहेका छन् । बच्चाहरु चिसोले मरेको सूचना प्राप्त भएको छ ।’
गत अक्टुबरमा गरिएको युद्धविराम सम्झौता उल्लंघन गरेको भन्दै हमासले इजरायलको कडा निन्दा गरेको छ । ११ अक्टुबरमा हमास र इजरायलबीच युद्धविराम सम्झौता भएपनि त्यसलाई इजरायलले पालना गरेको छैन । त्यसयता, इजरायलको आक्रमणमा ३ सय ९३ जना प्यालेस्टिनीको मृत्यु भइसककेो छ भने १०७४ जना घाइते भएका छन् ।