: आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी (जप्रपा)ले उम्मेदवारको नाम संकलन गर्न सुरु गरेको छ। त्रिपाठीको आफ्नो गृह जिल्ला नवलपरासीबाट उम्मेदवारको सिफारिससँगै सबै जिल्लाबाट संकलनको काम सुरु गरेको हो।
त्रिपाठीलाई नवलपरासीका दुवै निर्वाचन क्षेत्रबाट चुनाव लड्ने गरी जिल्ला समितिले सिफारिस गरेको जिल्ला अध्यक्ष राधेरमण पाण्डेले जानकारी दिए। जप्रपासँगै महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र वृषेशचन्द्रलाल नेतृत्वको तराई–मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)बीच पार्टी एकीकृत गर्ने निर्णय गरिएको छ। पार्टी एकीकृत गर्ने निर्णय गरिए पनि चुनावका लागि पार्टीले छुट्टै उम्मेदवारको नाम संकलन गरिरहेको जप्रपाका केन्द्रीय अध्यक्ष त्रिपाठीले बताए।
जप्रपाको १३ जिल्लामा संगठन विस्तार छ। गत निर्वाचनमा जप्रपाले प्रदेश नम्बर २ का ८ जिल्ला (धनुषा, महोत्तरी, बारा, पर्सा, सर्लाही, रौतहट, सिराहा र सप्तरी) बाट उम्मेदवार उठाएको थियो। त्यसैगरी सुनसरी, मोरङ र लुम्बिनी प्रदेशका नवलपरासी, रूपन्देही र कपिलवस्तुबाट उम्मेदवार उठाए पनि सबै ठाउँमा पराजित भएको थियो।
‘तत्काललाई पुरानै १३ जिल्लाबाट नाम संकलन गरिनेछ। प्रत्यक्ष र समानुपातिकका लागि अन्य थप जिल्लाबाट पनि उम्मेदवारको नाम पठाउने विषयमा छलफल हुँदैछ’, त्रिपाठीले भने। पार्टीले छुट्टै नाम संकलन गरे पनि अन्तिममा एकीकृत भएको मोर्चाले नाम टुंग्याउने त्रिपाठीको भनाइ छ।
२०४३ देखि निरन्तर चुनाव लड्दै
गत निर्वाचनमा नवलपरासीको निर्वाचन क्षेत्र नम्बर १ बाट चुनाव लडेका त्रिपाठीले नेपाली कांग्रेसका उम्मेदवार एवं उद्योगपति विनोद चौधरीसँग ७ हजार १ सय ९१ मतले पराजित भएका थिए। चौधरीले २९ हजार ५ सय १९ मत पाउँदा त्रिपाठीले २२ हजार ३ सय २८ मत पाएका थिए।
त्रिपाठी यसअघि नवलपरासी जिल्लाबाट २०४३ साल (राष्ट्रिय पञ्चायत सदस्य) देखि भएका सबै ८ वटा निर्वाचनमा उम्मेदवार बन्दै आएका छन्। अहिले उनी नवौं पटक उम्मेदवार बन्न लागेका हुन्। त्रिपाठीले २०४८, २०५१, २०५६, २०६४ र २०७४ गरी पाँच पटक चुनाव जितेका छन्। २०४३, २०७० र २०७९ मा त्रिपाठी पराजित भएका थिए। चुनाव जितेपछि उनी विभिन्न मन्त्रालयको ६ पटक मन्त्री बनिसकेका छन्।