: सुनसरीको बराहक्षेत्र नगरपालिका–३ स्थित नडाहा–धरान सडक खण्डमा कारमा लोड गरी ल्याउँदै गरिएको ठूलो परिमाणको गाँजा बरामद भएको छ। घटनामा संलग्न दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। गाँजासहित कारसमेत बरामद गरिएको छ।
आइतबार मध्यराति समयमा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस चतराबाट सशस्त्र प्रहरी निरीक्षक दीपक नापितको कमाण्डमा खटिएको ५ जना र प्रहरी चौकी नडाहाबाट प्रहरी सहायक निरीक्षक जीव नारायण भट्टको कमाण्डमा खटिएको ७ जना गरी जम्मा १२ जनाको संयुक्त टोलीले धरानतर्फबाट नडाहा तर्फ आउँदै गरेको बा १८ च ३८३४ नम्बरको कारलाई रोकेर चेकजाँच गर्दा गाजा भेटिएको सशस्त्र प्रहरी बल ४ गण सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक निर्मलकुमार थापाले बताए।
प्रहरीले चेकजाँचको क्रममा कारभित्र लोड गरी ल्याइँदै गरिएको ५ पोका अवैध लागूऔषध गाँजा फेला परेको प्रहरीले जनाएको छ। बरामद गरिएको गाँजाको तौल अन्दाजी १५० केजी रहेको बताइएको छ। कारमा सवार व्यक्तिहरूलाई तत्काल नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा मोरङको विराटनगर उपमहानगरपालिका–५ बस्ने २१ वर्षका सचिन मेहता र सुनसरीको इटहरी उपमहानगरपालिका–१७ पकली बस्ने २३ वर्षका करण साह रहेको सशस्त्र प्रहरी उपरीक्षक थापाले बताए।
उनका अनुसार बरामद गरिएको गाँजा, प्रयोग गरिएको कार र पक्राउ परेका व्यक्तिहरूलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगर पठाइएको छ। लागूऔषधको अवैध कारोबार नियन्त्रणका लागि सशस्त्र प्रहरी बल र नेपाल प्रहरीबीच निरन्तर समन्वय र संयुक्त गस्तीलाई प्रभावकारी बनाइएको थापाले बताएका छन्।