: प्रतिनिधि सभा सदस्य निर्वाचनको पर्यवेक्षण गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ३१ वटा संस्थालाई निर्वाचन आयोगले अनुमति दिने निर्णय गरेको छ। फागुन २१ गते हुने चुनावको पर्यवेक्षण गर्न ४४ वटा राष्ट्रिय र ५ वटा अन्तर्राष्ट्रिय गरी ४९ वटा संस्थाहरूबाट आयोगमा निवेदन परेको थियो।
निर्वाचन पर्यवेक्षण निर्देशिका, २०७९ मा तोकिएका आधार र प्रक्रिया पूरा गरेका संस्थाहरूलाई पर्यवेक्षण गर्न अनुमति दिइएको आयोगमा सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईले बताए।
उनका अनुसार निर्वाचन पर्यवेक्षण निर्देशिका बमोजिम आवश्यक पर्ने कागजात पेस नगरेका संस्थाहरूलाई पाँच दिनभित्र थप कागजात पेस गर्न पत्राचार गरिएको छ। माग भएबमोजिमका कागजात प्राप्त भएपछि आवश्यक निर्णय गरिने आयोगले जनाएको छ।
आयोगको कात्तिक ११ को निर्णयानुसार निर्वाचन पर्यवेक्षण निर्देशिका, २०७९ बमोजिम १५ दिनको समय दिई प्रतिनिधि सभा सदस्य निर्वाचनको पर्यवेक्षण गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूबाट निवेदन माग गरिएको थियो।