— भदौ २४ को प्रदर्शनपछि विभिन्न कारागारबाट फरार भएका १० जना कैदीबन्दीलाई प्रहरीले पुनः पक्राउ गरी मोरङ कारागारमा दाखिला गरिएको छ ।
कारागार प्रशासनका प्रमुख गौरव ढुंगेलका अनुसार आन्दोलनका क्रममा फरार भएका ती कैदीहरूलाई विभिन्न जिल्लाबाट पक्राउ गरी मोरङ कारागार ल्याइएको हो । पक्राउ परेका कैदीहरू काठमाडौं, सिन्धुली, रौतहट, झुम्का लगायत जिल्लाका कारागारबाट फरार भएका थिए ।
कारागार प्रशासनका प्रमुख ढुंगेलका अनुसार उनीहरू जबर्जस्ती करणी, कर्तव्य ज्यान, चोरी, लागूऔषध कारोबार, डाँका तथा ज्यान मार्ने उद्योग, तस्करी जस्ता गम्भीर प्रकृतिका मुद्दामा कैद भुक्तान गरिरहेका थिए । फरारमध्ये केही कैदी लामो समयदेखि भारतको सीमावर्ती क्षेत्रमा लुकेर बसेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।
पक्राउ परेका सबै कैदीलाई कानुनी प्रक्रिया पूरा गरी मोरङ कारागारमा दाखिला गरिएको र उनीहरूविरुद्ध फरारसम्बन्धी थप मुद्दा पनि चलाइने कारागार प्रशासनले जनाएको छ ।
कारागार विभागले जेन–जी आन्दोलनपछि देशका विभिन्न कारागारको सुरक्षा प्रणाली पुनरावलोकन गरिएको र आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन कडाइ गरिने जनाएको छ ।