: नेपालमा बाघको अवस्था पत्ता लगाउन बाघ सर्भेक्षण तथा राष्ट्रिय बाघ गणना २०८२ चितवनको सौराहाबाट सुरु भएको छ।
बाघ गणना प्रत्येक ४–४ वर्षमा गरिँदै आएको छ। बाघ गणना नेपालको ५ वटा राष्ट्रिय निकुञ्ज संरक्षित क्षेत्र र वरपरको बाघ पाइने वन क्षेत्रमा गरिने छ। उक्त बाघ गणनाको वनमन्त्री माधव चौलागाईंले बाघ गणनामा प्रयोग गरिने स्वचालित क्यामेराको स्विच अन गरेर उद्घाटन गरे।
उक्त अवसरमा उनले नेपालमा भएको संरक्षणको कार्यले अन्तर्राष्ट्रिय क्षेत्रमा चर्चा हुने गरेको र बाघ गैँडा लगायतको वन्यजन्तुले नेपाललाई थप परिचित गराएको बताए। उनले जेनजी आन्दोलनको क्रममा भागेका चोरी शिकारीहरु वन्यजन्तु संरक्षणमा चुनौती भएको र ती कैदीहरूलाई पक्राउ गर्न आफूले सहयोग गर्ने बताए।
उक्त अवसरमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका सूचना अधिकारी तथा इकोलोजिस्ट हरिभद्र आचार्यले बाघ गणना चितवन पर्सा क्षेत्रबाट सुरु भएर बाँके बर्दिया क्षेत्र र शुक्लाफाटा लालझाडी क्षेत्रमा ८ वटा ब्लक बनाएर सम्पन्न गरिने जानकारी दिए। प्रत्येक ब्लकमा २ किलोमिटर लम्बाइ २ किलोमिटर चौडाइको ग्रिड बनाएर स्वाचालित क्यामराबाट ट्रयापिङ गरिने उनले बताए।
बाघ गणनाका लागि करिब ३ करोड खर्च हुने र १ हजार १ सय क्यामेरा प्रयोग हुने उनले जानकारी दिए। बाघ गणनाका लागि चितवन राष्ट्रिय निकुञ्ज राष्ट्रिय प्रकृति संरक्षण कोषका करिब २ सय ५० जना कर्मचारी र प्राविधिकहरू सहभागी हुने छन्। बाघ गणना गर्ने कार्य जोखिम पूर्ण चुनौती पुर्ण हुने बाघ गणना सुरु हुँदादेखि नै काम गर्दै आउनेका राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक तीर्थमान लामाले बताए।
बाघ पाइने स्थानमा क्यामरा राखेर जंगलमा नै क्याम्प खडा गरेर बाघ गणना गर्ने गरिएको उनले बताए। बाघ गणनाको नतिजा बाघ दिवसको अवसरमा सार्वजनिक गर्ने लक्ष्य राखिएको छ। पछिल्लो सन् २०२२ को गणनाअनुसार सबैभन्दा बढी बाघ चितवन राष्ट्रिय निकुञ्जमा एक सय २८ वटा र बर्दिया राष्ट्रिय निकुञ्जमा एक सय २५ बाघ रहेका छन्। त्यस्तै बाँकेमा २५, पर्सामा ४१ र शुक्लाफाँटामा ३६ वटा बाघ रहेको सरकारी तथ्यांक छ।