मुख्य समाचार
आदिवासी जनजातिको उत्थानका लागि परिणाममुखी काम गर्न प्रतिष्ठानलाई निर्देशन
आदिवासी जनजातिको उत्थानका लागि परिणाममुखी काम गर्न प्रतिष्ठानलाई निर्देशन

। प्रधानमन्त्री सुशीला कार्कीले आदिवासी जनजातिको उत्थान, प्रवर्द्धन र विकासका लागि आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान एकमात्र सरकारी निकाय भएकाले यसको औचित्य पुष्टि हुनेगरी प्रभावकारी र परिणाममुखी काम गर्न निर्देशन दिएकी छिन् ।

प्रतिष्ठानको २६औँ सञ्चालक परिषद् बैठकलाई सम्बोधन गर्दै उनले जातीय संस्थाको प्रतिनिधित्व गर्दै आएका पदाधिकारीबाट सकारात्मक प्रतिवेदन आएको उल्लेख गर्दै आगामी दिनमा अझ प्रभावकारी कार्यसम्पादन गर्न आग्रह गरिन् ।




प्रधानमन्त्री तथा प्रतिष्ठानकी अध्यक्षसमेत रहेकी कार्कीको अध्यक्षतामा बैठक सम्पन्न भएको हो । सोमबार साँझ प्रज्ञा–प्रतिष्ठान, कमलादीमा सम्पन्न बैठकमा प्रतिष्ठानका महत्त्वपूर्ण नीति, कार्यक्रम र संरचनात्मक विषयमा आवश्यक निर्णय गरिएको छ।

प्रधानमन्त्री स्वयं अध्यक्ष रहने प्रतिष्ठानमा कार्यकारी उपाध्यक्ष र सदस्य सचिव नियुक्त हुने व्यवस्था छ । प्रतिष्ठानमा हाल उपाध्यक्ष रेशम गुरुङ र सदस्य सचिव ज्ञानेन्द्र पुन हुन् ।




प्रधानमन्त्रीले लोपोन्मुख, सीमान्तकृत, पिछडिएका तथा पिछडिएका अवस्थामा रहेका सबै आदिवासी जनजातिको उत्थान, संस्कृति संरक्षण तथा प्रवर्द्धनमार्फत देशको विविधता उजागर गर्दै पर्यटन प्रवर्द्धनमा योगदान दिनुपर्नेमा जोड दिइन्।

उक्त बैठकले प्रतिष्ठानको आर्थिक वर्ष २०८१/८२ र २०८२/८३ का संस्थागत प्रतिवेदन पारित गर्नुका साथै आगामी वर्षका लागि उद्देश्य पूरा हुने कार्यक्रम, योजना तथा नीति तय गर्ने निर्णय गरेको छ ।

बैठकले प्रतिष्ठानमा रहेका कर्मचारी दरबन्दीमा संशोधन गर्ने निर्णय पनि गरेको छ । हाल चार सहसचिव, पाँच उपसचिव र १० अधिकृतसहित ५२ जनाको दरबन्दी रहेकामा अब दुई सहसचिव, चार उपसचिवसहित ४२ जनाको दरबन्दी कायम गर्नेगरी कर्मचारी विनियमावली संशोधन गर्ने निर्णय भएको छ।

त्यस्तै, तथ्याङ्क कार्यालयले प्रस्तुत गरेको २२ वटा लोपोन्मुख थर भएका जातिलाई छुट्टै जनजातिमा सूचीकृत गर्ने प्रस्तावका सन्दर्भमा ती थर हाल सूचीकृत ६० जनजातिभित्रकै रहेको बैठकले पुष्टि गरेको छ।

बैठकमा प्रतिष्ठानले आव २०८३/८४ का लागि न्यूनतम रु २६ करोड बजेट आवश्यकपर्ने प्रारम्भिक योजना तथा कार्यक्रम प्रस्तुत गरेपछि सङ्घीय मामिला तथा सामान्य प्रशासन तथा अर्थमन्त्रीसमेत रहेका रामेश्वर खनाल र प्रधानमन्त्री कार्कीले प्रतिष्ठानको कामको औचित्य पुष्टि भएमा बजेट अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरे।



बैठकमा सम्बन्धित मन्त्रालयका सचिवहरू, अर्थ तथा संस्कृति मन्त्रालयका सचिव, प्रज्ञा–प्रतिष्ठानका कुलपति, विभिन्न जातीय सङ्घ–संस्थाका प्रतिनिधि तथा परिषद् सदस्यको सहभागिता रहेको उपाध्यक्ष गुरुङले जानकारी दिए ।

यसअघि वर्षमा एकपटकमात्रै बस्दै आएको सञ्चालक परिषद् बैठक अबदेखि वर्षमा दुईपटक बस्ने निर्णय भएको र यस वर्षदेखि प्रतिष्ठानले आवश्यक बजेट सरकारबाट प्राप्त गर्ने विश्वास रहेको सदस्य सचिव पुनले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन हुँदैन भनेर भ्रम फैल्याउने काम गरे सह्य नहुने चेतावनी दिएका छन् । सोमबार पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । मन्त्री अर्यालले एमालेलाई लक्षित गर्दै निर्वाचनबाट भाग्ने र हुँदैन भनेर भ्रम फैल्याउने र सुशासनलाई कमजोर बनाउने काम गर्नु, गराउन न्यायोचित नहुने बताए । ‘निर्वाचनबाट भाग्ने, निर्वाचन हुँदैन ...
। वैदेशिक रोजगारीमा जाने श्रमिकहरूले जम्मा गरेको पैसाबाट वैदेशिक रोजगार बोर्ड सञ्चालनमा छ । बोर्डले श्रमिकको पैसालाई श्रमिकको राहत, उद्धार तथा स्वास्थ्योपचारका कार्यक्रममा बढाउँदै आएको छ । वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सचेता फैलाउने काम समेत बोर्डकै हो । विदेश जाने श्रमिक नठगिउन्, समस्यामा नपरुन्, समस्यामा परेको खण्डमा तत्काल उद्धार गर्न सकियोस् भन्ने परिकल्पना सहित बोर्ड स्थापना ...
। नेपाल समुद्र पार निकासी पैठारी संघ र भन्सार विभागका उच्च अधिकारीबीच छलफल भएको छ । विभागका महानिर्देशक श्यामप्रसाद भण्डारी र उपमहानिर्देशक भरतमणि पाण्डे सहभागी कार्यक्रममा संघका पदाधिकारी र सदस्य सहभागी थिए । सो अवसरमा संघका अध्यक्ष शिवकुमार अग्रवालले भन्सार विभागको उच्च नेतृत्वलाई आयात–निर्यात, व्यापार क्षेत्रका तत्कालीन चासोका विषय जानकारी गराएका थिए । संघका महासचिव जयन्तकुमार ...
। नेपाली कांग्रेसको क्रियाशील सदस्यता व्यवस्थापन समितिले क्रम संख्या उल्लेख नगरी नयाँ क्रियाशील सदस्यता फारम पठाएपछि विवाद सिर्जना भएको छ । समितिले नयाँ क्रियाशील सदस्यताका लागि पछिल्लो लट (जेनजी आन्दोलनपछि) मा पठाएका फारमहरूमा क्रम संख्या उल्लेख नगरेपछि कांग्रेसमा विवाद भएको हो । महामन्त्री गगन थापा संयोजकत्वको समितिले अघिल्लो लट (जेनजी आन्दोलनअघि) मा क्रम संख्यासहित नयाँ क्रियाशील सदस्यता ...
। सरकारले बिभिन्न राजनीतिक दल र सरोकारवालासंग वार्ता गर्न उच्चस्तरीय राजनीतिक संवाद समिति गठन गर्ने निर्णय गरेको छ । सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कानूनमन्त्री अनिल सिन्हाको संयोजकत्वमा उच्चस्तरीय राजनीतिक सम्वाद समिति गठन गर्ने निर्णय गरेको हो । समितिको सदस्यमा सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनाल रहेका छन् ।