। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बीबीसीविरुद्ध मानहानिको मुद्दा दायर गरेका छन् । पानोरोमा डकुमेन्ट्रीमा आफ्नो भाषणा गलत अर्थ लाग्ने सम्पादन गरिएको भन्दै ट्रम्पले मानहानि मुद्दा दायर गरेका हुन् ।
फ्लोरिडाका अदालतका कागजातअनुसार, ट्रम्पले अरबौँ डलर क्षतिपूर्ति माग गरेका छन् ।
बीबीसीले नोभेम्बरमा ट्रम्पसँग माफी मागेको थियो, तर क्षतिपूर्तिको माग अस्वीकार गरेको थियो । बीबीसीको भनाइ अनुसार, ‘मानहानिको दाबीको कुनै आधार छैन ।’
ट्रम्पको कानूनी टोलीले भने बीबीसीले उनको भाषणसँग ‘जानीबुझी, दुर्भावनापूर्ण र भ्रामक तरिकाले छेडछाड’ गरी उनको छविमा क्षति पुर्याएको भन्दै मुद्दा दायर गरेको । मुद्दा दायर भएपछि बीबीसीले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।
ट्रम्पले बीबीसीविरुद्ध मानहानिको आरोप र फ्लोरिडा ट्रेड प्राक्टिसेज कानूनको उल्लंघनसम्बन्धी अर्को आरोपमा मुद्दा दायर गरेका छन् ।
प्यानोरमा एडिट विवाद के हो ?
६ जनवरी २०२१ मा आफ्नो भाषणमा ट्रम्पले वाशिंगटनमा समर्थकहरूलाई भनेका थिए, ‘हामी क्यापिटलसम्म जानेछौं र हामी हाम्रा बहादुर सिनेटर र कंग्रेसमेन तथा कंग्रेसविमेनको समर्थन गर्नेछौं ।’
भाषणमा ५० मिनेटभन्दा बढी समयपछि उनले भनेका थिए, ‘र हामी लड्नेछौं । हामी सम्पूर्ण शक्ति प्रयोग गरेर लड्नेछौं ।’
बीबीसीको प्यानोरमा कार्यक्रममा एउटा क्लिपमा ट्रम्पलाई यसरी बोल्दै गरेको देखाइएको थियो– ‘हामी क्यापिटलसम्म जानेछौं… र म तपाईंहरूसँग त्यहाँ हुनेछु । र हामी लड्नेछौं । हामी सम्पूर्ण शक्ति प्रयोग गरेर लड्नेछौं ।’
सम्पादनका क्रममा काटछाँट गरेर जोडिएका यी दुई अभिव्यक्ति ट्रम्पले ५० मिनेटको अन्तरालमा फरक-फरक प्रसंगमा बोलेका थिए । तर सम्पादनको क्रममा एकै ठाउँ जोडिदिएर भड्काउ अभिव्यक्ति दिएजस्तो बनाइएको थियो ।
ट्रम्पले ‘बेस्सरी संघर्ष गर्छौं’ भन्ने प्रसंग अमेरिकामा हुने निर्वाचन कति ‘भ्रष्ट’ हुन्छ भनेर चर्चा गरेको भागबाट लिएर ‘हामी क्यापिटलतिर जाने छौं’ भन्ने भनाइसँग जोडिएको थियो ।
उक्त वृत्तचित्र अमेरिकामा राष्ट्रपति निर्वाचन हुनुभन्दा एक साताअघि बीबीसीको ‘प्यानोरमा’ कार्यक्रममा प्रसारण भएको थियो ।
सम्पादनको क्रममा गरिएको यो त्रुटिबारे टेलिग्राफले समाचार लेखेको थियो ।
ट्रम्पले फरक प्रसंग र फरक समयमा बोलेको विषयलाई सम्पादन गर्ने क्रममा एकैठाउँमा जोडेर डकुमेन्ट्री तयार पारेको सार्वजनिक भएपछि बीबीसी विवादमा तानिएको हो । यस मामिलामा बीबीसीका निर्देशक जनरल टिम डेबी र हेड अफ न्युज डेबोरा टर्नेसले गत महिनामा राजीनामा दिएका थिए ।