— त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह पुस १० गते काठमाडौंस्थित दशरथ रंगशालामा हुने भएको छ । समारोहमा १६ हजार ३ सय ३८ जना विद्यार्थी सहभागी हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । आवेदन दिएर शुल्क बुझाएका विद्यार्थीलाई समारोहमा सहभागी गराइने परीक्षा नियन्त्रक लक्ष्मण पौडेलले जनाए ।
२०८१ असार १ देखि २०८२ जेठ मसान्तसम्म स्नातकदेखि विद्यावारिधिसम्मका शैक्षिक उपाधि प्राप्त गर्ने ८९ हजार १ सय ९१ विद्यार्थी दीक्षित हुने कार्यालयले जनाएको छ । समारोहमा सहभागी हुन भने उत्तीर्णमध्ये १८ दशमलव ३१ प्रतिशत छात्रछात्राले मात्र इच्छा देखाएका हुन् ।
सहभागी विद्यार्थीका लागि पुस १ गतेदेखि गाउन तथा स्कार्फ वितरण गरिने कार्यालयले जनाएको छ । गाउन, स्कार्फ, टोपीलगायत सामग्री पुस ८ गतेसम्म वितरण गरिने सूचना अधिकारी कविराज पौडेलले जानकारी दिए ।
दीक्षान्त समारोहमा सहभागी हुन अनलाइन आवेदन दिएका विद्यार्थीलाई बल्खुस्थित कार्यालयबाट पोसाक लिन आग्रह गरिएको छ । धरौटी रकम लिएर त्रिविले विद्यार्थीलाई दीक्षान्त समारोहमा लगाउने पोसाक वितरण गर्दै आएको छ ।
समारोहस्थल दशरथ रंगशालाबाट पोसाक वितरण नगरिने भएकाले पुस ८ गतेसम्म सार्वजनिक बिदाका दिनसमेत वितरण गरिने कार्यालयले जनाएको छ ।
काठमाडौंको मुख्य क्षेत्रमा एकै पटक हजारौँ विद्यार्थीको भिडभाड गराएर सवारी साधनलगायत सहर अस्तव्यस्त बनाएको भन्दै त्रिविको आलोचना हुँदै आएको छ । आलोचनापछि सङ्कायअनुसार छुट्टाछुट्टै स्थान र समयमा दीक्षान्त समारोह आयोजना गर्ने विषयमा त्रिवि कार्यकारी परिषद्मा छलफल पनि चलेको थियो ।
त्रिविका मेडिकल, इन्जिनियरिङ, विज्ञान तथा प्रविधि, वन, कृषि तथा पशु विज्ञान, व्यवस्थापन, मानविकी तथा सामाजिक विज्ञान र कानुन गरी ९ संकायमा स्नातक, स्नातकोत्तर, एमफिल र पीएचडीसम्मका कार्यक्रम सञ्चालनमा छन् । उपकुलपतिमा दीपक अर्याल नियुक्त भएर आएपछि पहिले जस्तै एकै दिन एकै ठाउँमा दीक्षान्त समारोह गर्ने निष्कर्षमा त्रिवि पुगेको थियो ।