: नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले निर्धारित समयमै निर्वाचन नभए देश गम्भीर दुर्घटनामा जाने बताएका छन्। सोमबार सिन्धुलीमाढीमा भएको पत्रकार सम्मेलनमा सहसंयोजक नेपालले पछिल्लो आन्दोलनबाट सिर्जित समस्या समाधानका लागि फागुन २१ गते निर्वाचन हुनुपर्नेमा जोड दिँदै कुनै बहानामा निर्वाचन नभए देश गम्भीर दुर्घटनामा जाने चेतावनी दिएका हुन्।
पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले नेपाली कम्युनिस्ट पार्टी विघठित प्रतिनिधिसभा पुनर्स्थापनाकाे पक्षमा नभएको समेत स्पष्ट पारे।
उनले भने, ‘देशको सत्ता सम्हाल्नेहरूको कमजोरीका कारण देश यो अवस्थामा आइपुगेको हो। अव पनि पुरानै दल र संसदले सक्षम नेतृत्व हुने विश्वास छैन। जेनजी पुस्तासहितको नेतृत्व र राजनीतिक निकासका लागि निर्वाचनको विकल्प छैन।’
सहसंयोजक नेपालले देशको विकास, समृद्धि र सुशासन नेपाली कम्युनिस्ट पार्टीको नेतृत्वमा पुरा गरिने अठोट व्यक्त गरे।
आफ्नो पार्टीमा जेनजी पुस्तासहितको जनताको विश्वास र आकर्षण तीव्र रूपमा बढ्दै गएको उनले बताए।