: काठमाडौँ महानगरपालिकाले आफ्ना ३१ औँ स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ।
दिवसका अवसरमा महानगरले राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहको आयोजना गरेको थियो। समारोहमा महानगरपालिकाले सहरी सेवा तथा सुविधा वितरण र सहरी व्यवस्थापनका लागि प्रयोग गर्ने साधन तथा उपकरणहरूको प्रदर्शन गरिएको थियो भने सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो।
स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहले महानगरले कार्यालय सञ्चालन (चालु) खर्च घटाउँदै पूँजीगत खर्चलाई विशेष महत्त्व दिएर बढाउने नीति अपनाएको बताए। उनले करिब रु ९१ करोडको लागतमा सम्पदा संरक्षणका काम हुँदा २७६ मूर्त सम्पदा आयोजना र १ सय २५ अमूर्त सम्पदा कार्यक्रम सञ्चालन गरिएका प्रमुख शाहले जानकारी दिए।
आगामी दिनमा करिब रु दुई खर्ब बराबरको एक हजार ८५९ रोपनी जग्गा अतिक्रमणमुक्त गराउने लक्ष्य रहेको उनले बताए।
महानगरले स्वास्थ्य, शिक्षा, रोजगारी प्रवर्द्धन, वातावरण सुधार र पूर्वाधार कार्यक्रमलाई थप प्राथमिकतासहित कार्यान्वयनमा ल्याएको उनले जानकारी दिए।
समारोहमा महानगरले महानगर दिवसका अवसरमा विभिन्न विधामा विशिष्ट योगदान पुर्याउने व्यक्तित्वलाई सम्मान तथा उत्कृष्ट काम गर्ने जनप्रतिनिधिलाई पुरस्कृत गरिएको थियो। २०५२ साल मंसिर २९ गते काठमाडौँ नगरलाई काठमाडौँ महानगर घोषणा गरेको दिनलाई महानगर दिवसका रूपमा मनाउने गरिएको छ।