: अस्ट्रेलियाका न्यु साउथ वेल्सका प्रिमियर क्रिस मिन्सले बोन्डी बीचमा भएको गोलीकाण्डमा १० वर्षीया बालिकासहित १५ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। उनले आक्रमणकारीमध्ये एकजनाको पनि मृत्यु भएको बताएका छन्।
प्रहरी आयुक्त माल लान्योनले आक्रमणकारीहरू ५० र २४ वर्षीय बुबा र छोरा भएको बताएका छन् । प्रहरीका अनुसार ५० वर्षीय आक्रमणकारीलाई प्रहरीले गोली हानी मारेको छ। २४ वर्षीय ती व्यक्तिको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
घटनापछि ड्युटीमा रहेका प्रहरीसहित घाइते ४२ जनालाई अस्पताल लगिएको थियो।
प्रहरीले ५० वर्षीय आक्रमणकारीसँग हतियारको लाइसेन्स रहेको बताएको छ। उनको नाममा छवटा हतियार दर्ता गरिएको पाइएको छ। प्रहरीले बोन्डी बीचबाट थप छवटा हतियार बरामद गरेको थियो। घटनास्थलमा दुईवटा विस्फोटक पदार्थ पनि फेला परेको थियो जसलाई प्रहरीले निष्क्रिय पारेको छ।
अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले भविष्यमा हुनसक्ने आक्रमणहरू रोक्न आवश्यक पर्ने सबै स्रोतहरू परिचालन गरिने बताएका छन्।