। नेकपा एमालेले विरोधका बीच विधान महाधिवेशनको निर्णय उल्ट्याएको छ । पदाधिकारी र स्थायी कमिटीको संख्या पुरानै कायम गरिएको छ । विधान महाधिवेशनले पदाधिकारीको संख्या १५ र स्थायी कमिटी नै नराख्ने निर्णय गरेको थियो ।
अध्यक्ष केपी शर्मा ओलीले आजको बैठकमा पदाधिकारी बढाउनुपर्ने दबाब रहेको भन्दै केन्द्रीय कमिटीको आकार बनाउने प्रस्ताव राखेका थिए । सोही अनुसार अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३, सचिव ९ जना बनाइएको छ ।
कुल ३०१ सदस्यीय केन्द्रीय कमिटीको एक तिहाइ पोलिटब्युरो र पोलिटव्युरो सदस्य संख्याको एक तिहाइ स्थायी कमिटी बनाइने छ ।
यसमा जेनजी पुस्ताको प्रतिनिधित्व गराइने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
विरोध
नेकपा एमालेको केन्द्रीय कमिटी पहिले ३०१ सदस्यीय नै थियो । तर, गत भदौमा भएको विधान महाधिवेशनबाट २५१ सदस्यीय बनाइएको थियो । त्यत्रो मिहिनेत र खर्च गरेर विधान महाधिवेशनबाट टुंगो लगाइसकेको विषयलाई अहिले फेरि संशोधन गर्न खोजिएको भन्दै कतिपयले विरोध जनाएका थिए .
वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बदलिएको परिस्थितिले अंक बढाऊ नभनेको बताए । उनले संख्या बढाउँदैमा एमालेको क्षमता बढ्ने के ग्यारेन्टी छ भनेर प्रश्न समेत गरे । ‘बदलिएको परिस्थितिले अंक बढाउन भनेको होइन । बदलिएको परिस्थितिले त हामीलाई बदलेऊ भनेर जबरजस्त सन्देश दिएको छ । के संख्या बढाएर क्षमता बढ्छ भने अस्तिको हाम्रो क्षमता जचिएन ?’
उनले भने, ‘दुई कार्यकालबारे पनि कुरा उठेको छ, यसबारे छलफल नहुने ? अरु बाहेक हुने ? यस्तो तर्कले हामीलाई कता पुर्याउँछ ।’
एमालेका एक नेताका अनुसार, पदाधिकारीको संख्याबारे यसअघि बसेको पोलिटब्यूरो बैठकमा पनि उठेको थियो । त्यतिबेला पदाधिकारी र केन्द्रीय कमिटी नघटाउनेगरी छलफल चलेको थियो ।
आज पनि केन्द्रीय कमिटी बैठकको फ्लोर खुला हुनासाथ केही नेताहरूले विधान संशोधन हुनुपर्ने बताए ।
उक्त प्रस्तावमाथि निर्णय भएपछि इतर पक्षका नेताहरूले भने विरोध जनाएका थिए ।