मुख्य समाचार
पार्टीको ११ औं महाधिवेशनमा पछिल्लो समय राजनीतिक रुपमा उनीमाथि उठेका प्रश्नहरूको खण्डन गर्दै एमालेको शक्ति नघटेको सन्देश
पार्टीको ११ औं महाधिवेशनमा पछिल्लो समय राजनीतिक रुपमा उनीमाथि उठेका प्रश्नहरूको खण्डन गर्दै एमालेको शक्ति नघटेको सन्देश

। जेनजी आन्दोलनपछि सत्ता बहिर्गमनमा परेका एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको ११ औं महाधिवेशनमा पछिल्लो समय राजनीतिक रुपमा उनीमाथि उठेका प्रश्नहरूको खण्डन गर्दै एमालेको शक्ति नघटेको सन्देश दिएका छन् ।

संघै खुल्ला रूपमा धारा प्रवाह बोल्ने ओली शनिबार महाधिवेशनमा लिखित मन्तव्य बोकेर उपस्थित भएका थिए । उनले विगतमा सभाहरू जस्तो अन्त्यमा मन्तव्य राखेनन् । कार्यक्रममा शुभकामना व्यक्त गर्न आएका अरु अतिथिहरुलाई समेत राखेर ओलीले एमाले अजम्बरी पार्टी भएको बताए ।




‘धुँवा, खरानी र निषेधका प्रत्येक प्रहारलाई चिर्दै जब आज यो जनसागर यहाँ यसरी ओर्लिएको छ, म ढुक्कले भन्न सक्छु– लोकतन्त्र अजेय छ, नेकपा (एमाले) अजम्बरी छ’ उनले भने ।

अध्यक्ष ओलीले अब निर्णायक राष्ट्रिय शक्तिको रुपमा विकास गर्ने दृढ संकल्पका साथ हामी अघि बढिरहेका बताए ।




अध्यक्ष ओलीले जेनजी आन्दोलन, त्यसक्रममा भएका घटनाक्रमहरुलाई एमाले विरुद्धको प्रहारको रुपमा चित्रण गरे ।

धेरै ठूलो जनपरिचालन सहितको सभामा उनले आफ्नो पार्टीको खास लाइन केहो भन्ने व्याख्या गर्न खोजेको देखियो ।

एमालेमाथि प्रहार किन ?

उनले अहिले एमालेमाथि किन प्रहार भइरहेको छ भन्ने केही कारणहरू उल्लेख गरे ।

देशहरु भूगोलमा साना या ठूला होलान्, तर सार्वभौमसत्ता बराबर हो भन्दा सानो देशले हामीसँग बराबरी गर्न खोज्ने ? भन्दै प्रहार गरेको दाबी गरे ।

जन्मजात श्रेष्ठताका आधारमा शासन गर्ने व्यवस्था सामन्ती हो, सबै नागरिक बराबरी हुन् र आजको युगमा अनिर्वाचित सत्ता मञ्जुर छैन भन्दा अर्को प्रहार भएको उनले बताए ।

हिंसा या युद्ध समाज परिवर्तनको साधन हुन सक्दैन भन्दा पनि प्रहार भएको उनको धारणा थियो ।

विविधता र बहुलता हाम्रो सम्पदा हो, दूरी बढाउने विषय होइन भन्दा पनि प्रहार भएको उनले बताए ।


यो पनि पढ्नुहोस
ओलीको संश्लेषण : स्वाधीनताको कुरा गर्दा एमालेमाथि ‘कलर रिभोलुसन’
उनले विकासका कुरा गर्दा पनि प्रहार भएको उनले बताए । ‘हामी कमजोर भयौँ भनेमात्र नेपालको राष्ट्रिय स्वाधीनता कमजोर हुन्छ भनेर कसैले गणित मिलाइरहेका छन् ।

हामी नढलुन्जेल, हाम्रो शिर नझुकेसम्म नेपालको स्वाभिमान सीधै रहन्छ । त्यसैले हामीमाथि आक्रमण भइरहेको छ’ ओलीले भने ।


default
एमाले विरुद्धका शक्तिहरू विभिन्न रङमा अगाडि आउने र असन्तुष्टि पोख्दै प्रहार गर्ने तर्क गरे । ‘परिवर्तनको नारा बोकेर । कलर/कलरमा– कलर रेभोलुशन भन्दै देखा पर्छन् । तर तिनको भित्री लक्ष्य एउटै छ— हामीलाई विभाजन गर्ने, कमजोर बनाउने, अलमल्याउने र दिशाहीन बनाउन’ उनले भनेका छन् ।

उनले जेनजी आन्दोलनमा भएका घटनालाई कहाली लाग्दो भन्दै युद्धभूमिको रूपमा चित्रण गरेका छन् ।

‘जतिबेला संविधान, लोकतन्त्र र यसका आधारस्तम्भ राजनीतिक दलहरूमाथि भीषण हमला गरिएको थियो, र एउटा भाष्य निर्माण गर्ने कोशिस भइरहेको थियो– पुराना पार्टीहरु सकिए, नेताहरुका दिन गए । एमालेको सान्दर्भिकता समाप्त भयो ।’ उनले भने ।

धुँवा, खरानी र निषेधका प्रत्येक प्रहारलाई चिर्दै जनसागर उर्लिएको भन्दै उनले यसलाई लोकतन्त्रको अजेय शक्तिको चित्रण गरे ।

लोकतन्त्र जोगाउने कम्युनिस्ट

बलियो कम्युनिस्ट पार्टीले मात्र लोकतन्त्र जोगाउने भन्दै उनले यसका लागि एमाले मजबुत बन्नुपर्ने बताए ।

‘कम्युनिष्ट पार्टी जति जति बलियो हुन्छ, त्यति त्यति लोकतन्त्रले पूर्णता पाउँछ । राष्ट्रिय स्वाभिमान सुदृढ हुन्छ । समृद्धिको यात्रा अगाडि बढ्छ’ उनले भने ।

एमाले सामाजिक न्याय र सामाजिक सुरक्षाको मुख्य शक्ति रहेकै कारण अहिले ३८ लाख नागरिकहरुले जीवनमा सहारा पाएको उनले दाबी गरे ।

‘सामाजिक सद्‌भाव र राष्ट्रिय एकताको संबाहक, जसले विभिन्न बहानामा समाजलाई विखण्डित गर्ने र जनतालाई विभाजित गर्ने कुचेष्टालाई असफल पार्दै आएको छ,’ एमालेको चरित्र चित्रण गर्दै ओलीले भने, ‘हामी राजनीतिलाई एक्लै र लोकतन्त्रलाई राजनीतिको घेराभित्र मात्रै सीमित राख्दैनौं । त्यसैकारण हामी परिपूर्ण लोकतन्त्रको पक्षमा छौं । राजनीति, सिंगो नेपाल र सबै नेपाली जनताको सुरक्षा, सम्मान र उन्नतिका लागि हुनु पर्दछ ।’

उनले पार्टीलाई धेरै प्रहार गरिएपछि पनि सतिसाल जस्तै ठिंग उभिने शक्ति जनताहरु नै भएको दाबी गरे । उनले भदौको घटनापछिका अनेक प्रहार हुँदा पनि एमाले यो अवस्थामा आइपुगेको बताए ।

‘ भदौ २४ को त्यो उन्माद के असन्तुष्ट समूहको प्रदर्शन मात्रै थियो ? कि त्यसको आडमा अर्को ठूलो खेल चलिरहेको थियो ? त्यस उपद्रवको लक्ष्य सरकार परिवर्तन मात्रै थियो ? कि त्यसभित्र राज्यको मेरुदण्ड नै भाँच्ने योजना पनि लुकेको थियो ? उनले प्रश्न गरेका छन् ।


यो पनि पढ्नुहोस
सरकार-जेनजी सम्झौताबारे ओली : देशलाई भिडन्ततर्फ लाने गम्भीर षड्यन्त्र
उनले जेनजीको आन्दोलनमा घुसपैठ र हिंसा भड्काउने तत्वको प्रवेश भएको दाबी गरे ।

उनले भदौ २३ गते शान्तिपूर्ण भनिएको प्रदर्शन हिंसात्मक हुँदा सिर्जित दुःखद् परिणामप्रति गम्भीर हुँदै, तत्कालीन गृहमन्त्रीले राजीनामा दिइसकेको, मन्त्रिपरिषद्को बैठकबाट घटनाको छानबिन गर्न पूर्व न्यायाधीशको नेतृत्वमा आयोग गठन गर्ने निर्णय पनि भइसकेको उनले सम्झाएका छन् ।

‘असामान्य परिस्थितिप्रति सरकार गम्भीर र संवेदनशील थियो । तर राज्यविरुद्ध आक्रमणको योजना बनाएका तत्वहरुलाई यी कदम पर्याप्त भएनन् । उनीहरुलाई त देश दहन गर्ने अगुल्टो चाहिएको थियो । परिणामतः भदौ २४ को भयानक दिन देशले भोग्नुपर्‍यो’ उनले भने ।


राज्यका तीनवटै अंगहरूबीचको प्रहार केवल सरकार परिवर्तनका लागि गरिएका दबाब मात्र नभएको उनको धारणा छ ।
‘महाभारतमा पाण्डवहरूलाई लाक्षागृहमा थुनेर आगो लगाइयो, पाण्डवले सुरुङ खनेर बच्नुपर्‍यो । इतिहासले दोष कसलाई दियो— आगो बाल्ने दुर्योधन–शकुनीलाई कि आगोबाट बच्न खोज्ने पाण्डवलाई ?’ उनले भनिन् ।

असामान्य परिस्थितिमा थप क्षति नहोस् भनेर राजीनामा दिँदा पनि पनि संवैधानिक बाटोबाट सरकार बनाउन सकिने अवस्था भएको उनले बताए ।

‘कामचलाऊ प्रधानमन्त्रीको नाताले मैले संवैधानिक निकासको बाटो देखाएको थिएँ ।

तर देशलाई उल्टो दिशामा लगियो— संविधानको बाटो छाडेर बाहिरबाट सरकार गठन गरियो । अनधिकृत व्यक्तिबाट प्रतिनिधिसभा विघटन गरियो ‘ उनले भने ।

उनले अब आफ्नो प्रस्ट माग प्रतिनिधिसभा तुरुन्त पुनर्स्थापना गरी देश संविधान र लोकतन्त्रको बाटोमै फर्कियोस् भन्ने रहेको बताए ।

सरकारलाई फागुन २१ मा चुनाव गराएर सत्ता हस्तान्तरण गर्ने कार्यादेश छ । चुनावको मिति तोकिएको छ, तर चुनावको तयारी नभएको उनले बताए ।

‘नेताको राहदानी रद्द र स्थान– हद … निषेधाज्ञा ! यसरी चुनावको वातावरण बन्छ कि डरको ? मतदानको स्वतन्त्रता सुरक्षित हुन्छ कि दबाब र आतङ्क बढ्छ ?’ उनले भने ।

उनले लोकतन्त्र र संविधानमाथि प्रहार भएकाले यो संकटलाई बोध गर्दै विचलित नभइ काममा लाग्न उनले नेता कार्यकर्तालाई अपिल गरे ।

‘सबै हतियारमा खिया लागेपछि हामीलाई आज जेन्जी विरोधी भनेर भ्रमित गर्ने कोशिस गरिरहेको छ । तर यो भ्रम निराधार छ । जुन पार्टीले आफ्ना सबै पार्टी संरचनामा नयाँ युवालाई स्थापित गर्न विशेष व्यवस्था नै गरेको छ, त्यो पार्टी कसरी नयाँ पुस्ता विरोधी हुन सक्छ ?’ उनले भने ।



एमालेले सरकारमा हुँदा उद्यमशीलता सिकेर केही गर्न चाहने युवाको आँखाका आशालाई हेरेर सीप विकास कार्यक्रम विस्तार गरेको उदाहरण दिए । ‘उत्पादन र बजार जोड्ने व्यवस्था मिलायो, स्टार्टअप कार्यक्रम अघि बढायो । त्यो कसरी जेन्जी भन्दा टाढा हुन सक्छ ?’ उनले भने ।

‘कुनै दल मन नपर्न सक्छ, अर्कोमा जोडिन सकिन्छ । या आफैँ दल खोल्न पनि सकिन्छ । तर विचारका आधारमा स्थापना भएका, लामो इतिहास भएका र आन्दोलनको अग्निपरीक्षामा खारिएका दलहरुलाई कमजोर गरेर देश बन्दैन’ उनले भने ।

विचार बिनाका दल र उत्तरदायित्व बिनाका पात्रहरुले अन्ततोगत्वा मुलुकलाई सङ्कटको भुँवरीमा होम्ने उनको धारणा छ ।

उनले अहिलेको संघर्षको स्वरुपबारे पनि बताए । ‘आजको हाम्रो सङ्घर्ष– जेन्जी पुस्ता र पाको पुस्ता बीचको हुँदै होइन । पुराना दल र नयाँ पुस्ता बीचको पनि हुँदै होइन । सङ्घर्षको केन्द्रबिन्दु त देश बनाउने र देश जलाउने बीचको हो ‘ उनले भने ।

सुरक्षित नेपालको पहिलो पार्टीभित्रको एकता

उनले अहिलेको जटिल परिस्थिति सामना गर्न पार्टी भित्र पनि एकता चाहिएको बताए ।

‘हामी–हामीबीचको एकता— एक एमालेले अर्को एमालेसँग हात मिलाउनु, मन जोड्नु । हामी एघारौँ महाधिवेशनमा छौँ । यसको अंक “एघार”लाई एकछिन् ध्यान दिएर हेरौँ— एघारमा दुई वटा ‘एक’ हुन्छन्, तर छुट्टाछुट्टै, टाढाटाढा उभिएका “एक” होइनन् । एउटै लाइनमा, एउटै दिशातिर फर्किएका, एउटै लक्ष्य बोकेर उभिएका “एक” हुन् । त्यसैले, हामी प्रत्येक एक— एमालेले अर्को एक— एमालेसँग हात मिलाउँदा, छुट्टाछुट्टै एक रहँदैनौँ, एउटै “एघार” बन्छौँ, बलियो शक्ति बन्छौँ’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। संखुवासभाको चैनपुर नगरपालिका–४ मैदानेमा आगलागीमा परी एक वृद्धको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धनबहादुर राजवंशीका अनुसार चैनपुर–४ का ८८ वर्षीय दिलबहादुर लिम्बूको मृत्यु भएको हो । आइतबार बिहान ग्यास चुहिएर उनको घरमा आगलागी भएको थियो । आगलागीमा घरका साथै त्यहाँ रहेका नगद र जिन्सी गरी १० लाख रुपैयाँ बराबराको क्षति भएको प्रहरी निरीक्षक ...
। वीरगञ्ज महानगरपालिकाले घण्टाघर चोकसँगै रहेको बिपी उद्यान अतिक्रमण गरेर अस्थायी रूपमा सञ्चालन हुँदै आएका पसल हटाएको छ । मुख्य सहरमा रहेका फलफूल, तरकारी तथा अन्य पसल हटाएर उद्यानलाई थप व्यवस्थित गर्न लागेको महानगर प्रमुख राजेशमान सिंहले बताए । उनले घण्टाघरसँगै रहेको उद्यानको फलफूल, तरकारी तथा अन्य अस्थायी पसल राखेर अव्यवस्थित भएकाले तिनलाई हटाएर पार्क निर्माण गर्न ...
। नेपाल जेन-जी फ्रन्टले देशभर ‘जागरण सभा’ सञ्चालन गर्ने घोषणा गरेको छ । उक्त अभियानअन्तर्गत पहिलो जागरण सभा झापा क्षेत्रनम्बर ५ बाट सुरु हुनेछ । सरकार र जेन-जी जनआन्दोलनकारीबीच भएको औपचारिक सम्झौतापछि नेपाल जेन-जी फ्रन्टले अभियान घोषणा गरेको हो । झापाको दमकबाट आजै अभियानको सुरु हुनेछ । यो नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनाव लड्दै आएको ...
। नेकपा एमालेको केन्द्रीय कमिटीमा ४० वर्ष मुनिका युवाका लागि करिब ५ प्रतिशत (४.९८) प्रतिनिधित्व सुनिश्चित गरिएको छ । एमालेले ११औँ महाधिवेशनबाट ३०१ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्दैछ । जसमा प्रदेशगत प्रतिनिधित्व उपत्यकासहित सबै प्रदेशबाट एक/एक जना युवा आउनेछन् । एमालेको पार्टी संरचनामा ८ प्रदेश छ । यसो हुँदा ८ जना युवा यहाँबाट आउनेछन् । खुला कोटामा ...
। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले कुलमान घिसिङले गुन बिर्सिएको टिप्पणी गरेका छन् । कुलमानले जुन थालमा खायो, त्यही थालमा छेद हाल्न खोजेको भन्दै प्रचण्डले त्यस्तो नगर्न चेतावनी समेत दिएका छन् । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा शनिबार आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘अहिले कुलमानले गुन बिर्सिएर जुन थालमा खाए त्यही थालमा ...