: नेपाल प्रिमियर लिगको फाइनल खेल सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबिच हुँदैछ। सुदूरपश्चिम रोयल्स लिग चरणदेखि नै आफ्नो उत्कृष्ट फर्ममा छ। फाइनलसम्म पुग्दा १ खेल मात्रै हारेको सुदूरपश्चिमले ‘अन्डर डग’ (अनपेक्षित) बनेर फाइनलमा स्थान बनाएको लुम्बिनी लायन्ससँग उपाधिको लागि खेल्नेछ।
पहिलो संस्करणमा पनि उपविजेता बनेको चोटमा मलम लगाउने सुदूरपश्चिमको लक्ष्य हुनेछ। लुम्बिनी आफ्नो पहिलो फाइनलको उत्साह प्रदर्शन गर्नेछ।
दोस्रो संस्करणको फाइनल खेलमा नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तान र उपकप्तानको भिडन्त हुनेछ। राष्ट्रिय टिमका कप्तान रोहित कुमार पौडेलले लुम्बिनी लायन्सको नेतृत्व गर्नेछन् भने उपकप्तान रहेका दिपेन्द्र सिंह ऐरीले सुदूरपश्चिम रोयल्सको कप्तानी गर्नेछन्।
लुम्बिनी लायन्स लगातार ३ खेल हार्दा एक समय प्लेअफ पनि नपुग्ने अवस्थामा रहेको टिम थियो। लगातारको ३ हारपछि पुनरागमनसहित लुम्बिनीले ५ खेलमा ५ जितसहित फाइनलमा स्थान बनाएको हो। पहिलो संस्करणमा लिग चरणबाट सबैभन्दा पहिला बाहिरिने टिमको रुपमा रहेको लुम्बिनीले निकै उतारचढावपूर्ण फाइनल यात्रा तय गरेको हो।
लिग चरणमा सुदूरपश्चिम रोयल्ससँग ७ विकेटले पराजित भएको लुम्बिनी लायन्सको लागि नतिजा उल्टाउने सुवर्ण अवसर मिल्नेछ।
सुदूरको बलियो बलिङ र फिल्डिङको अगाडि लुम्बिनीको ब्याटिङ समस्या
फाइनल सम्मको यात्रा तय गर्दा सुदूरपश्चिम रोयल्सको बलिङ र फिल्डिङ निकै उत्कृष्ट रहेको छ। विशेषतः दिपेन्द्र सिंह ऐरी जस्ता खेलाडी रहेका सुदूरपश्चिम रोयल्स नेपाली खेलाडीहरूको प्रदर्शनका कारण पनि चर्चामा रहेको छ। सुदूरपश्चिमको बलियो बलिङ र फिल्डिङको अगाडि लुम्बिनी लायन्सले ब्याटिङमा केही संघर्ष गर्न सक्छ।
लुम्बिनी लायन्स यसै पनि ब्याटिङमा त्यति बलियो टिम भने होइन। प्रतियोगिता अवधिभरि नै टिमले राम्रो ब्याटिङ लय समाउन सकेको छैन। लुम्बिनीका लागि ओपनिङ ब्याटिङमा डार्सी सर्टसँग कुनै पनि नेपाली ब्याटरले साझेदारी बनाउन सकेका छैनन्। लुम्बिनी लायन्सका लागि ओपनर ब्याटर सर्टले ९ खेलबाट १ अर्धशतक सहित २४२ रन बनाएका छन्। यस्तो अवस्थामा लुम्बिनीको ब्याटिङलाई सुदूरपश्चिमको बलियो बलिङ र फिल्डिङले केही समस्या दिन सक्छ। यो अवस्थामा नेपाली राष्ट्रिय टिमका कप्तान रोहित कुमार पौडेलले वान डाउन आउँदै टिमको अवस्था सम्हाल्नुपर्ने हुन्छ।
नेपाली खेलाडीहरूमध्ये नेपाल प्रिमियर लिगको दोस्रो संस्करणमा ब्याटिङमा विनोद भण्डारीपछि रोहित कुमार पौडेलको ब्याटबाट रन बनिरहेको छ। विनोद भण्डारीले आठ खेलमा २६४ रन बनाएका छन् भने रोहित कुमार पौडेलले नौ खेलबाट २६० रन बनाएका छन्। लुम्बिनी लायन्सका लागि एक तर्फबाट क्रिज सम्हाल्दै रोहितले फाइनलमा पनि टिमको लागि स्कोर गर्नुपर्ने हुन्छ।
सुदूरपश्चिम रोयल्समा लाई नेपाली बलर अभिनाश बोहराको राम्रो सहयोग मिलिरहेको छ। अविनाश बोहोराले आठ खेलमा १६ विकेट लिएका छन्। उनीसँगै नेपालका युवा खेलाडी हेमन्त धामी पनि उनको सहयोगमा हुनेछन्। फाइनल खेलमा स्पिनलाई फेभर गर्ने पिच भएको खण्डमा हर्मित सिंह र दिपेन्द्र सिंह ऐरी टिमको लागि महत्वपूर्ण विकेट निकाल्न सक्छन्। यो टिमले फाइनलसम्मको यात्रा तय गर्दा आफ्नो छवि निकै बलियो बनाएको छ । सुदूरपश्चिम रोयल्सले बलिङ र फिल्डिङमा जुन किसिमको प्रदर्शन गर्ने गर्छ त्यसले लुम्बिनी फाइनल खेलमा सजक भएर खेल्नुपर्ने जरुरत छ।
सुदूरपश्चिमलाई टिकाएका नेपाली खेलाडी
सुदूरपश्चिम रोयल्स् विदेशी खेलाडीको प्रदर्शनमा मात्रै भर पर्दैन। सुदूरपश्चिम रोयल्समा नेपाली खेलाडीहरूको प्रदर्शन पनि दमदार रहेको छ। नेपाली खेलाडीहरूमा ब्याटिङ तर्फ ओपनिङमा भरपर्दा अनुभवी खेलाडी विनोद भण्डारीको ब्याटबाट उत्कृष्ट रन निक्लिरहेको छ । उनले खेल सुदूरपश्चिमको पक्षमा पार्ने खालका प्रदर्शन दिइरहेका छन्।
बलिङतर्फ अविनाश बोहोरा सर्वाधिक विकेट लिने खेलाडीको शीर्ष दुई भित्र अटाउँछन्। जसमा हेमन्त धामी ६ खेलबाट सात विकेट लिएका छन्। दिपेन्द्र सिंह ऐरीले आठ खेलमा ८ विकेट लिएका छन्। सुदूरपश्चिम रोयल्सका लागि ओपनिङतर्फ विनोद भण्डारीको ब्याटबाट अनुभव झल्किरहेको छ । लामो समय राष्ट्रिय टिमको जिम्मेवारी सम्हालेको भान उनको ब्याटले दिलाउँछ। उनले ब्याटिङतर्फ यस प्रतियोगितामा दुई अर्धशतक बनाएका छन्। उनले बनाएको दुवै अर्धशतक टिमका लागि खेल जित्न काफी बनेको छ। उनले पहिलो क्वालिफायरमा विराटनगर किङसँग ६३ रनको अर्धशतकीय पारी खेलेका थिए।
त्यस्तै लुम्बिनी लायन्सविरुद्ध उनले ६९ रनको अभिजित पारी खेलेका थिए। उनको यो प्रदर्शन फाइनलमा पनि सुदूरपश्चिम रोयल चाहन्छ। उनीसँगै मध्यक्रममा आउने ब्याटर आरिफ शेख र इशान पाण्डेले पनि टिमका लागि महत्वपूर्ण पारीहरु खेलेका छन्। प्रतियोगिता अवधिभर सुदूरपश्चिम रोयल्सका लागि आरिफ शेखले १८० रन बनाएका छन् कप्तान दिपेन्द्र सिंह ऐरीले १४९ रन र इशान पाण्डेले १२७ रन बनाएका छन्। सुदूरपश्चिम रोयल विदेशी खेलाडीहरूको साथमा नेपाली खेलाडीहरूको भरपर्दो प्रदर्शनका कारण पनि फाइनल पुगेको हो।
सुदूरपश्चिम रोयल्सका लागि कप्तान ऐरीले कप्तानीसँगै आफ्नो उत्कृष्ट बिल्डिङ प्रदर्शनका कारण पनि फाइनलमा महत्त्वपूर्ण खेलाडी हुन्।
लुम्बिनीको बलिङमा ‘शेर’
सुदूरपश्चिम रोयल्सका लागि फाइनल खेलमा यदि कोही घातक हुनसक्छ भने लुम्बिनी लायन्सका बलर शेर मल्ल हुन्। पछिल्लो खेलहरूमा शेरले देखाएको उत्कृष्ट प्रदर्शनका कारण सुदूरपश्चिम रोयल्स शेर मल्लसँग बचेर खेल्नुपर्ने हुन्छ ।
लुम्बिनी लायन्सको लागि हरेक खेलमा खेल जिताउने खालको प्रदर्शन दिइरहेका शेर मल्ल लुम्बिनीका लागि बलियो हतियार हुन्। शेर मल्ल तल्लोक्रममा ब्याटिङ गर्ने क्षमता पनि राख्दछन् । जसका कारण लुम्बिनी उनको प्रदर्शनमा निकै भर पर्ने गर्दछ। शेर मल्लले पछिल्लो ९ खेलमा १४ विकेट लिएका छन्। उनको महत्वपूर्ण प्रदर्शनको सहयोगमा लुम्बिनी लायन्सले लगातार पाँच खेलमा जित निकाल्दै फाइनलमा स्थान बनाएको हो।
सुदूरपश्चिम प्रदेशकै उत्पादन हुन् शेर मल्ल। घरेलु प्रतियोगिताहरूमा सुदूरपश्चिम रोयल्सबाट खेल्ने शेरले नेपाल प्रिमियर लिगको फाइनल दोस्रो पटक खेल्दैछन्। उनले पहिलो संस्करणको फाइनलमा जनकपुर बोल्ट्सका लागि खेलेका थिए।
दोस्रो संस्करणको एनपीएलमा एलिमिनेटरमा लुम्बिनी लायन्सका लागि काठमान्डु गोर्खाजविरुद्ध शेर मल्लले उत्कृष्ट बलिङ गरेका थिए । उनले ४ ओभर बलिङ गर्दै २२ रन खर्चेर ३ विकेट लिएका थिए। जसको आधारमा उनी प्लेअर अफ द म्याच बनेका थिए। यदि नेपाली खेलाडीहरूमध्ये यो नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको माध्यमबाट चर्चामा चुलिएका खेलाडी कोही हुन् भने शेर मल्ल हुन्। उनी यसभन्दा अगाडि पनि नेपाल प्रिमियर लिग नेपालका विभिन्न घरेलु प्रतियोगिता नेपाल ‘ए’ जस्ता टिमहरुबाट खेलिसकेका छन्। यो प्रतियोगिताबाट उनले आफ्नो पहिचान बनाए।
फाइनल खेलमा पनि लुम्बिनी शेर मल्लको बलिङमा निकै भर पर्नेछ। त्यसैले लुम्बिनीको बलिङमा शेर प्लेअर टु वाचको रूपमा हुनेछन्।
शेर मल्ल र हेमन्त धामी कसले लगाउला नेल पेलको दोहोरो स्वर्ण पदक !
सुदूरपश्चिम प्रदेशका उत्पादन यी दुई खेलाडी दोस्रो पटक नेपाल प्रिमियर लिगको फाइनल खेल्दैछन्। यी दुई खेलाडीको लागि यो गज्जबको संयोग हो। पहिलो संस्करणमा पनि शेर मल्लले जनकपुर बोल्ट्सका लागि केही राम्रा इनिङ्सहरु खेलेका थिए । हेमन्तले भने पहिलो संस्करणमा आफ्नो प्रदर्शनले लोभ्याउने अवसर पाएका थिएनन्।
तर दोस्रो संस्करणमा आएर जुन तरिकाले शेरको प्रदर्शन भइरहेको छ, त्यसको हिसाबले उनी लुम्बिनी लायन्सका लागि निकै महत्वपूर्ण खेलाडी पनि बनेर उभिएका छन्। सुदूरपश्चिम रोयल्सका लागि युवा बलर हेमन्त धामी पनि महत्वपूर्ण खेलाडी हुन्। फाइनलको खेलमा यी दुई खेलाडीले आ–आफ्नो टिमका लागि खेल्नेछन्। पहिलो संस्करणमा यी दुई खेलाडीले जनकपुर बोल्ट्समा रहेर एनपीएलको मेडन स्वर्ण पदक लगाएका थिए। यी दुई खेलाडीमध्ये एकले पुनः दोस्रो संस्करणको पनि स्वर्ण पदक लगाउने पक्का छ।
सुदूरपश्चिम रोयल्सको फाइनल यात्रा :
पहिलो खेल– काठमान्डु गोर्खाजविरुद्ध २९ रनको जित
दोस्रो खेल– पोखरा एभेन्जर्सविरुद्ध १८ रनको जित
तेस्रो खेल– कर्णाली याक्सविरुद्ध ४५ रनको जित
चौथो खेलमा– लुम्बिनी लायन्सविरुद्ध ७ विकेटको जित
पाँचौं खेलमा– जनकपुर बोल्ट्सविरुद्ध ६ विकेटको जित
छैटौं खेलमा– चितवन राइनोजविरुद्ध ४९ रनको जित
सातौं खेलमा– विराटनगर किंग्ससँग ६ विकेटको हार
पहिलो क्वालिफायरमा– विराटनगर किंग्सविरुद्ध ७७ रनको जितसहित फाइनलमा
लुम्बिनी लायन्सको फाइनल यात्राः
पहिलो खेल– चितवन राइनोजविरुद्ध ६ विकेटको जित
दोस्रो खेल–कर्णाली याक्ससँग ९ विकेटले पराजित
तेस्रो खेल– काठमान्डु गोर्खाजसँग २२ रनले पराजित
चौथो खेल– सुदूरपश्चिम रोयल्ससँग ७ विकेटले पराजित
पाँचौं खेल– पोखरा एभेन्जर्सविरुद्ध ३ विकेटको जित
छैटौं खेल– विराटनगर किंग्सविरुद्ध ५ विकेटको जित
सातौं खेल– जनकपुर बोल्ट्सविरुद्ध ४ विकेटको जित
एलिमिनेटरमा– काठमान्डु गोर्खाजविरुद्ध ४ विकेटको जित
दोस्रो क्वालिफायरमा– विराटनगर किंग्सविरुद्ध ४० रनको जितसहित फाइनलमा