। नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे आगामी प्रतिनिधि सभाको चुनावमा उम्मेदवार नहुने भएका छन् ।
२०७९ सालमा बाजुराबाट प्रत्यक्ष निर्वाचित पाण्डेले चुनावी प्रतिस्पर्धा नगर्ने भएसँगै उनको नाम सिफारिस गरिएको छैन ।
पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री समेत रहेका पाण्डेले नयाँ पुस्तालाई अवसर दिनका लागि चुनाव नलड्ने निर्णय गरेको अनलाइनखबरसँग बताए ।
‘सांसद र मन्त्री भइसकेँ । नयाँ पुस्तालाई अवसर दिनुपर्छ भन्ने सोचेर चुनाव नलड्ने निधो गरेँ,’ पाण्डेले भने । पार्टी सुदुढीकरणको काममा आफू लाग्ने उनले बताए ।
प्रतिनिधि सभाको प्रत्यक्ष/समानुपातिक एवं राष्ट्रिय सभा सदस्यको उम्मेदवारका लागि इच्छा नभएको पाण्डेले बताए । जेनजी आन्दोलन हुँदा पाण्डे एमाले अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गरेको सरकारमा मन्त्री थिए ।
सरकारमा रहेकाले आन्दोलनरत युवाहरूका मागहरूलाई समयमा र अपेक्षित ढङ्गले सम्बोधन गर्न नसकिएको अनुभूति रहेको भएको उनले बताए । सरकार–आन्दोलनकारी अन्तर्क्रियामा आफ्नो प्रत्यक्ष भूमिका नरहे पनि मन्त्रिपरिषद्का सदस्यको नाताले त्यसको नैतिक जिम्मेवारी आफूले लिने बताए ।
उनले भने, ‘यसपटक निर्वाचन प्रतिस्पर्धामा नउत्रिने निर्णय लिनु उचित ठानेको छु । पार्टीलाई वैचारिक रूपमा सुदृढ संगठनलाई सक्रिय बनाउने काम मेरो प्राथमिकता बनेको छ ।’