: पर्साको ठोरी गाउँपालिका-४ निर्मलबस्तीबाट सशस्त्र प्रहरीले ९१ केजी गाँजा बरामद गरेको छ। सशस्त्र प्रहरी बेस क्याम्प सुर्वणपुरबाट खटिएको सशस्त्र प्रहरीको टोलीले १० वटा पोकामा रहेको ९१ केजी गाँजा बरामद गरेको हो।
सशस्त्र प्रहरी नायब उपरीक्षक विश्वराज योन्जनका अनुसार नाम्लो बनाएर ढाडमा गाँजाको भारी बोकेर सीमावर्ती भारतर्फ जाँदै गरेका १० जना भरियाहरू सशस्त्र प्रहरीको टोलीलाई देख्ने बित्तिकै गाँजाको पोका फालेर भागेका थिए।
ती १० वटा पोका नियन्त्रणमा लिएर हेर्दा त्यसमा ९१ केजी गाँजा भेटिएको योन्जनले बताए। बरामद गाँजा बिहीबार नै इलाका प्रहरी कार्यालय ठोरीमा बुझाइएको उनले जानकारी दिए।