: कांग्रेसको महाधिवेशन पुस २६ देखि २९ सम्म तोकिएको छ। तर, पार्टी र नेताको ध्यान भने चुनावमा केन्द्रित देखिन्छ। प्रतिनिधिसभा र राष्ट्रियसभाका उम्मेदवारको नाम सिफारिस गर्न पार्टीले निर्देशन दिएपछि कांग्रेसका क्षेत्रीय समितिले धमाधम उम्मेदवारको नाम सिफारिस गरिरहेका छन्। महाधिवेशनभन्दा चुनावमा पार्टी होमिएको नेताहरू बताउँछन्।
मंसिर ६ गतेको केन्द्रीय कमिटी बैठकले निर्वाचनमा जाने निर्णय गरेसँगै पार्टीको ध्यान पूर्णरूपमा निर्वाचन केन्द्रित भएको हो। यद्यपि, पार्टीको केन्द्रीय महाधिवेशन पुस २६ देखि २९ सम्म गर्ने तोकिएको छ। महाधिवेशनका लागि एक महिनाभन्दा पनि कम समय रहेकाले तोकिएकै मितिमा महाधिवेशन हुनेमा नेताहरू नै आशंका व्यक्त गर्छन्।
शीर्ष नेता धमाधम सिफारिस
कांग्रेस सभापति शेरबहादुर देउवा डडेल्धुराबाट सर्वसम्मत रूपमा उम्मेदवार सिफारिस भएका छन्। ७ पटक डडेल्धुराबाट चुनाव जितेका देउवा आठौंपटक उम्मेदवार बन्न लागेका हुन्। सभापति देउवालाई प्रत्यक्षतर्फ उम्मेदवार बनाउन सिफारिस गरिएको गन्यापधुरा गाउँपालिकाका अध्यक्षसमेत रहेका कांग्रेस नेता इन्द्रबहादुर कार्कीले जानकारी दिए। हुन त देउवा आफैं निर्वाचनमा जाने सुरमा थिएनन्। गृहजिल्लाका नेताहरूले आग्रह गरेपछि उनी चुनाव लड्ने तयारीमा देखिएका छन्। देउवा २०४८ सालदेखिका चुनावमा डडेल्धुराबाट जित्दै आएका छन्। महामन्त्री गगन थापा काठमाडौं–४, धनकुटा, रोल्पा र सिरहाबाट पार्टीको उम्मेदवारमा सिफारिस भएका छन्। काठमाडौं–४ बाट पनि उनी एकल सिफारिसमा परेका छन्।
प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेसले काठमाडौं–१ बाट प्रत्यक्षतर्फ ४ जनाको नाम सिफारिसको सूचीमा राखेको छ। प्रत्यक्षतर्फ प्रकाशमान सिंहसँगै बाबुराम आचार्य, आदर्शविक्रम कार्की र मोहनकुमार राईको नाम सिफारिसको सूचीमा छ। काठमाडौं–१ बाट प्रकाशमानले लगातार चौथो पटक चुनाव जितिसकेका छन्। कांग्रेस नेता शेखर कोइराला र महामन्त्री विश्वप्रकाश शर्माको नाम आआफ्नो निर्वाचन क्षेत्रबाट एकल नाम सिफारिस भएका छन्। महामन्त्री शर्माको झापा १ बाट एकल नाम सिफारिस भएको छ। ०७९ को निर्वाचनमा उनी यही क्षेत्रबाट निर्वाचित भएका थिए। त्यस्तै कोइरालाको पनि मोरङ–६ बाट एकल नाम सिफारिस भएको छ। काठमाडौं–८ बाट प्रतिनिधिसभा निर्वाचन प्रत्यक्षतर्फका लागि सपना राजभण्डारी जोशीसहित ६ जनाको नाम सिफारिस भएको छ। जोशीसहित राजु खरेल, मुस्कान गौतम, रवीन्द्रलाल श्रेष्ठ, अमित सिंह कार्की, राजुराज जोशीको नाम सिफारिस भएको हो।
कांग्रेसका अर्का प्रभावशाली नेता कृष्ण सिटौलाको क्षेत्र झापा–३ बाट उम्मेदवारको नाम सिफारिस हुन सकेको छैन। पार्टीका सहमहामन्त्री भीष्मराज आङ्दम्बेको क्षेत्रबाट नरेन्द्र केरुङसहित ४ जनाको नाम सिफारिस भएको छ। सुनसरी–४ बाट यसअघि निर्वाचित ज्ञानेन्द्रबहादुर कार्की, डिल्लीबहादुर कार्की, गफार अन्सारी, अबुल अन्सारी, नवीन श्रेष्ठसमेत ५ जनाको नाम सिफारिस भएको छ।
सुनसरी–३ बाट विजय गच्छदारको नाम सिफारिस भएको छ। मोरङ–१ बाट जिल्ला सभापति एवं पूर्वमन्त्री डिकबहादुर लिम्बू, कोशी प्रदेश सहमहामन्त्री खड्ग फागो र महिला नेतृ दिव्या बस्नेतको नाम सिफारिस भएको छ। मोरङ–२ बाट पूर्वमन्त्री डा. मिनेन्द्र रिजालसहित तीन जनाको नाम सिफारिस भएको छ। रिजालसँगै प्रदेशसभाका पूर्वसांसद शिवनारायण सिंह गनगाई र महिलातर्फ नारायणी पण्डितको नाम सिफारिस भएको छ।
मोरङ–४ बाट पूर्वमन्त्री महेश आचार्य, संविधानसभा सदस्य दिलीपकुमार गच्छदार, गुरुराज घिमिरे र क्षेत्रीय सभापति विनोद बस्नेत र महिलातर्फ दुर्गा कोइरालाको नाम सिफारिस गरिएको छ। यस्तै मोरङ–५ बाट हसन अन्सारी, राजेश गुप्ता, फुलकुमार लालवानी, फैयाज अहमद र निर्मला सुवेदीलाई सिफारिस गरिएको छ। झापाका ५ निर्वाचन क्षेत्रमध्ये २ र ३ बाट सिफारिस बाँकी छ। कांग्रेसले इलाम क्षेत्र नम्बर २ बाट १० जना उम्मेदवारको नाम सिफारिस गरेको छ। क्षेत्रीय कार्यसमितिको बैठकले प्रत्यक्षतर्फ भेषराज आचार्य, केशव थापा, नगेन्द्र कुमाल, ईश्वर चिपालु र रमेश लिङ्देनको नाम सिफारिस गरेको हो।
कांग्रेस प्यूठानले प्रत्यक्षतर्फ डा. गोबिन्दराज पोख्रेल, खिमानसिंह रायमाझी र लक्ष्मी श्रेष्ठको नाम सिफारिस भएको छ। पोख्रेल कांग्रेसका केन्द्रीय सदस्य तथा योजना आयोगका पूर्वउपाध्यक्ष हुन्। कांग्रेस स्याङ्जा जिल्लाले दुई निर्वाचन क्षेत्रका लागि ३३ जनाको नाम सिफारिस सहित केन्द्रमा नाम पठाएको छ। निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभाका लागि राजु थापा, धनराज गुरुङ लगायतको नाम छ। क्षेत्र नं. २ बाट भागवत प्रकाश मल्ल, धनराज गुरुङ, गोपालमान श्रेष्ठ लगायतको नाम सिफारिस गरिएको छ।
बाँकेका तीनवटै निर्वाचन क्षेत्रबाट कांग्रेसले उम्मेदवारको नाम सिफारिस गरेको छ। क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नारायणप्रसाद गौडेल, कृष्णबहादुर कार्की, हुर्मतकुमार न्यौपाने, ज्ञानु केसी, माधमराम खत्री, रामबहादुर मल्ल, चूडामणि कँडेल, पोषणराज केसी, मीना ढुंगाना सिक्देल, रामकुमार राढ, दीपनारायण बर्माको नाम सिफारिस भएको छ। बाँके–२ बाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ गजेन्द्रबहादुर हमाल, सुधांशु कोइराला, रमेशकुमार गुप्ता, सुदीप नरसिंह राणा, मोहमद याकुव अन्सारी, लीलावती रावतको नाम सिफारिस भएको छ।
बाँके–३ बाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ किशोर सिंह राठोर, आशा विक, लक्ष्मीनारायण शाह, मेघराज वली, टेकबहादुर खड्का, देवराज खत्री, कृष्ण विक रसाइलीको नाम सिफारिस भएको छ।बारा–४ ले प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ ९ जनाको नाम सिफारिस गरेको छ।
क्रियाशील सदस्यता टुंगिएन
वडादेखि केन्द्रसम्ममा कांग्रेसका सात तहका विस्तारित कार्यसमितिमा बस्न पार्टीको क्रियाशील सदस्यता अनिवार्य हुन्छ। क्रियाशील सदस्यहरूबाटै कांग्रेसका महाधिवेशन प्रतिनिधिहरू छनोट हुने हुन्। नेतृत्व चयनका निम्ति महाधिवेशन प्रतिनिधिहरूले मतदान गर्छन्। सोही क्रियाशीलको काम अझै सकेको छैन। महाधिवेशन प्रतिनिधि छनोट गर्ने क्रियाशील सदस्यहरूको नवीकरण निर्धारित समयावधिभित्र सम्पन्न हुने सम्भावना नदेखिएपछि कांग्रेसले म्याद थप गरेको छ। क्रियाशील सदस्यता व्यवस्थापन समितिले बुधबारमात्रै पार्टीको सदस्यता नवीकरणको समयावधि चार दिनका लागि थप गरेको छ।
समिति संयोजक एवं महामन्त्री गगन थापाले बुधबार जिल्ला सभापतिहरूसँग ‘भर्चुअल’ बैठक गरेर २९ मंसिरसम्म सदस्यता नवीकरणको काम सम्पन्न गरी सक्न निर्देशन दिएका छपन। यसअघि २५ मंसिरभित्रको समय थियो। अब महामन्त्री थापाले पुस ३ गतेभित्र केन्द्रमा पठाइसक्ने गरी काम गर्न भनेर निर्देशन दिएका छन्। पार्टीका नेताहरू सबै निर्वाचन केन्द्रित भएको बेला सभापतिमा उठ्ने आकांक्षा राखेका नेता चन्द्र भण्डारी भने तोकिएको मितिमा निर्वाचन हुन गाह्रो हुने बताउँछन्। उनी भन्छन्, ‘देश जलेको बेला तहसनहस भएको बेला चाहे निर्वाचन होस् या पार्टीको महाधिवेशन होस् कोही पनि मानसिक रूपमा तयारी छैनन्।
अहिलेको परिस्थितिमा दुवै कुरा हैनन्। समस्या के हो भनेर छलफल नगरी समाधान यही हो भनेर जबरजस्ती लाद्ने काम भएको छ। अहिले निर्वाचन पनि जरुरी हैन। पाटीको महाधिवेशन पनि सुरु हुन्छ। सकिन भने गाह्रो हुने देखिन्छ।’ सभापति देउवा निकट एक नेता भने फागुन २१ मै निर्वाचन हुनेमा विश्वस्त रहेको बताउँछन्। त्यस बेलासम्म पार्टीको महाधिवेशन सुरु मात्र हुनसक्ने उनको भनाई छ। उनि भन्छन्, ‘चुनाव जसोतसो हुन्छ भन्ने देखिन्छ। त्यसैले सबै नेता आफ्ना किल्ला बलियो बनाउन लागेका छन्। महाधिवेशन हुँदै गर्छ भन्ने सबैलाई छ। महाधिवेशनमा गर्नुपर्ने काम धेरै छन्।’
उम्मेदवार सिफारिसका लागि पटक–पटक ध्यानाकर्षण
कांग्रेस केन्द्रीय कार्यालयले मातहतका निकायलाई उम्मेदवार सिफारिस गर्न पुनः ध्यानाकर्षण गराएको छ। फागुन २१ गते घोषित प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिकतर्फ तथा माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न कांग्रेसले पुनः आग्रह गरेको हो। पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बिहीबार सूचना जारी गर्दै यस्तो आग्रह गरेका हुन्। कांग्रेस केन्द्रीय समितिको निर्णयअनुसार यही असोज १५ गते कांग्रेसले पहिलो सूचना जारी गर्दै उम्मेदवार सिफारिस गर्न आग्रह गरेको थियो। त्यसपछि पुन मंसिर १७ गते मातहतका निकायलाई परिपत्र गर्दै कांग्रेसले त्यस्तो आग्रह गरेको थियो।
केन्द्रीय कार्यालयको निर्देशनअनुसार धेरै क्षेत्रबाट उम्मेदवार सिफारिस भएका छन्। तर, कतिपय क्षेत्र र जिल्लाबाट भने अझै उम्मेदवार सिफारिस नभएपछि कांग्रेसले पुनः त्यस्तो आग्रह गरेको हो। कांग्रेसका क्षेत्रीय समितिले जिल्ला कार्यसमितिमा र जिल्ला कार्यसमितिले प्रदेश कार्यसमितिमा उम्मेदवारको नाम पठाउने प्रावधान छ। प्रदेशले पठाएका नाममा छलफल गरेर केन्द्रले उम्मेदवार घोषणा गर्दै आएको छ। हाल धमाधम उम्मेदवारी सिफारिस गर्ने क्रम सुरु भएको छ। पार्टी कार्यालयका प्रमुख पौडेलका अनुसार क्षेत्रले २७ गतेसम्म जिल्लामा पठाइसक्नुपर्ने र २९ गतेसम्म प्रदेश हुँदै केन्द्रमा सिफारिस आइपुग्नुपर्ने बताए।
उम्मेदवार सिफारिसमा १० मापदण्ड
पुस अन्तिम साता महाधिवेशन गर्ने निर्णय गरेको कांग्रेसले राष्ट्रियसभा तथा प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न १० बुँदे मापदण्ड तय गरेको छ। केन्द्रीय समिति बैठक सकिएको भोलिपल्ट कांग्रेसले आन्तरिक पंक्तिमा पठाएको सर्कुलरमा अघिल्लोपटक प्रदेश र प्रतिनिधिसभाका समानुपातिक सांसदलाई आसन्न निर्वाचनमा समानुपातिकतर्फको उम्मेदवार बन्न रोकेको छ। यस्तै, ‘२०७९ मा सम्पन्न स्थानीय तह निर्वाचनमा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूलाई उम्मेदवार सिफारिस गर्न नपाइने सर्कुलरमा छ।
मंगलबार प्रदेशसभा क्षेत्रीय समिति, प्रतिनिधिसभा क्षेत्रीय समिति, जिल्ला समिति र प्रदेश समितिका सभापतिका नाममा पठाएको सर्कुलरमा भनिएको छ, ‘२०७९ सालको निर्वाचनमा प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य पदमा समानुपातिकतर्फबाट निर्वाचित भएको व्यक्तिको नाम पार्टी विधानको धारा ३३ ‘२० बमोजिम आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य समानुपातिकतर्फको उम्मेदवार हुन पाउने छैनन्।’
यस्तै, कांग्रेसले कुनै पनि प्रकारको सामाजिक विसंगतिमा दोषी ठहर भएकालाई उम्मेदवार नबनाउने मापदण्ड बनाएको छ। चुनावी उम्मेदवार सिफारिसका क्रममा बनाइएको मापदण्डको दोस्रो बुँदामा छ, ‘जातीय विभेद, घरेलु हिंसा, बालश्रम वा अन्य कुनै पनि प्रकृतिका सामाजिक विसंगतिमा दोषी ठहर भएका व्यक्ति नेपाली कांग्रेसको उम्मेदवार बन्न अयोग्य हुनेछन्।’
यस्तै, कांग्रेसले प्रदेशसभा सदस्य निर्वाचन, ०७९ को समानुपातिकको बन्दसूचीमा समावेश व्यक्तिहरूको नाम प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ का लागि उम्मेदवारमा सिफारिस गर्न नपाइने मापदण्ड बनाएको छ। यसबाहेक प्रतिनिधिसभा प्रत्यक्ष, समानुपातिक र राष्ट्रियसभा सदस्य पदमध्ये कुनै एक व्यक्ति एक पदका लागि मात्र सिफारिस गर्नुपर्ने मापदण्ड पनि कांग्रेसको छ। तोकिएबमोजिमको लेबी तोकिएबमोजिम पार्टी निकायमा नबुझाउने व्यक्ति कुनै पनि तहको निर्वाचनमा उम्मेदवार हुन नपाउने कांग्रेसको मापदण्ड छ।