: कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश सरकारले नागरिकको अपेक्षा र आवश्यकता अनुसार बजेट खर्च गर्ने क्षमता बढाउनै पर्ने बताएका छन्।
मंगलबार प्रदेश योजना आयोगले वीरेन्द्रनगरमा आयोजना गरेको ‘कर्णालीको विकासमा सरोकारवालाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले कर्णालीले पाउने बजेट समयमै र प्रभावकारी ढङ्गले खर्च गर्न नसक्नु प्रदेश विकासको मुख्य अवरोध बनेको बताएका हुन्।
मुख्यमन्त्री कँडेलले व्यक्तिगत इच्छाशक्ति मात्र भएर विकास सम्भव नहुने स्पष्ट पारे। ʻयहाँ सहयात्रा गर्ने सबैको इच्छा, सहयोग र सामूहिक प्रयास आवश्यक छʼ, उनले भने,ʻतर कानुनी अड्चन, कर्मचारीको असहयोग र सरोकारवालाहरूको समन्वय अभावमा हामीले पुँजीगत खर्चमा वृद्धि गर्न नसकिरहेको अवस्था हो।ʼ
मुख्यमन्त्री कँडेलले अन्य प्रदेशको तुलनामा कर्णालीको अवस्था कमजोर हुनुमा पुरानै मानसिकता र ढिलासुस्तीपूर्ण कार्यशैली प्रमुख कारण भएको दाबी गरे।