। नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ र मेडिकल व्यवसायी खुमाप्रसाद अर्यालको नाम स्याङ्जाका दुबै निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फका लागि सिफारिस गरिएको छ ।
उपसभापति गुरुङको नाम स्याङ्जाका दुबै क्षेत्रबाट दोस्रो नम्बरमा राखेर सिफारिस गरिएको छ । मेडिकल व्यवसायीय अर्यालको नाम क्षेत्र नम्बर १ मा आठौं नम्बरमा र क्षेत्र नम्बर २ मा छैठौं स्थानमा राखेर सिफारिस गरिएको छ ।
नेता गोपालमान श्रेष्ठको नाम स्याङ्जा–२ बाट सिफारिस गरिएको छ । उपसभापति गुरुङ र नेता गोपालमान दुबैको गृह क्षेत्र स्याङ्जा–१ मा पर्दछ । तर, उनीहरु निर्वाचन भने स्याङ्जा–२ बाट प्रतिस्पर्धा गर्दै आएका थिए ।
उपसभापति गुरुङले गत निर्वाचनमा स्याङ्जा–२ बाट जितेका थिए । गोपालमान भने प्रत्यक्षमा उम्मेदवार भएनन् भने समानुपातिकतर्फ उम्मेदवार रहे पनि सांसद भने हुन पाएनन् ।
स्याङ्जा–१ मा पहिलो स्थानमा राखेर जिल्ला सभपाति राजु थापाको नाम पठाइएको छ । थापाले गत निर्वाचनमा यसै क्षेत्रबाट जितेका थिए ।
स्याङ्जा–२ बाट पहिलो नम्बरमा भागवतप्रकाश मल्लको नाम सिफारिस गरिएको छ । स्याङ्जा–२ बाट प्रत्यक्षमा आकांक्षी विष्णु पौडेलका अनुसार क्रमसंख्या पहिले नाम टिपाए अनुसार राखिएको हो । पौडेलले अनलाइनखबरसँग भने,‘नाम टिपाएको क्रम अनुसार नै क्रमवद्ध गरिएको हो ।’
स्याङ्जा १ बाट प्रत्यक्षतर्फ ११ जना र समानुपातिकतर्फ ४ जनाको नाम सिफारिस गरिएको छ । स्याङ्जा–२ बाट प्रत्यक्षतर्फ १२ जनाको नाम सिफारिस गरिएको छ । यस क्षेत्रबाट समानुपातिकतर्फ ६ जनाको नाम सिफारिस गरिएको छ ।
प्रत्यक्षतर्फ स्याङ्जा–१ बाट उम्मेदवारमा सिफारिस अजित अधिकारी क्षेत्री, प्रेमराज पौडेल र क्षेत्र नम्बर–२ बाट सिफारिस भएका भागवतप्रकाश, विष्णु पौडेल, युवराज पाण्डे लगायत युवापुस्ताबाट आकांक्षी हुन् ।
विधान भन्दा बाहिर रहेर बढी नामहरु तल्लो तहबाट सिफारिस हुन लागेपछि पार्टी केन्द्रले विधान अनुसार सिफारिस गर्न निर्देशन बिहीबार जारी गरेको छ । विधान अनुसार महिला एक सहित बढीमा तीन जनाको नाम सिफारिस गर्नुपर्ने व्यवस्था छ ।