। निवर्तमान मुख्यसचिव एकनारायण अर्यालले नयाँ बानेश्वरस्थित एभरेष्ट होटल अगाडि राखिएको ब्यारिकेड तोडेर अघि बढेकाले भदौ २३ मा गोली चलेको दाबी गरेका छन् ।
सर्वोच्च अदालतमा जवाफ पेश गर्दै उनले शान्तिपूर्ण रुपमा गर्ने भनिएको आन्दोलन निषेधाज्ञा तोडेर अघि बढेकाले ‘बल प्रयोग भएको’ जिकिर गरेका हुन् । उनले गोली प्रहारको घटनालाई सांकेतिक रुपमा बल प्रयोग भनेका छन् ।
उनले सांकेतिक रुपमा चार जना जेनजी प्रतिनिधिहरूलाई घटनाको जिम्मेवार भनेका छन् । अंकित मल्ल, हामी नेपालका सुधन गुरुङ, सवल गौतम र पुरुषोत्तम यादवले शान्तिपूर्ण रुपमा कार्यक्रम गर्न स्वीकृति लिएको, तर त्यसविपरित काम गरेको उनको दाबी छ ।
‘शान्तिपूर्वक भेला हुनुपर्नेमा सहभागीहरू एभरेष्ट होटलको पूर्वतर्फ जानै नहुनेमा अन्तराष्ट्रिय सम्मेलन केन्द्रतर्फ अगाडि गएको, कम्पाउण्डभित्र प्रवेश हुने अवस्था भएको,’ उनले लिखित जवाफमा भनेका छन्, ‘यसबाट शान्ति सुरक्षा, सरकारी सार्वजनिक सम्पत्तिको रक्षा तथा सुरक्षामा खटिएका सुरक्षाकर्मीको सुरक्षा, हतियारको रक्षा गर्नुपर्ने अवस्था आएको देखिन्छ ।’
जेनजी आन्दोलनका बेला सुरक्षा परिषदको सदस्यको हैसियतले आफ्नो जिम्मेवारी पुरा गर्न नसकेको भनी प्रश्न उठाई मुख्यसचिव अर्यालविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन परेको थियो । मुख्यसचिवको पदमा हुँदा नै अर्यालले सर्वोच्च अदालतमा लिखित जवाफ पठाएका थिए ।
उनले शान्तिपूर्वक भेला हुनुपर्ने र अबाञ्छित गरिविधि गर्न नहुनेमा सरकारी क्षेत्रमा प्रवेश गर्न खोजेको भन्दै उनले जवाफमा भनेका छन्, ‘निषेधित सरकारी सार्वजनिक क्षेत्रमा प्रवेश गर्ने तथा गर्न लगाउने, सरकारी सार्वजनिक सम्पत्तिमा असर गर्ने तथा सुरक्षाकर्मीका हातहतियार, गोलिगट्ठाको सुरक्षा हुनै पर्ने हुन्छ ।’
शान्तिसुरक्षाका लागि खटिने सुरक्षाकर्मीले आत्मरक्षा गर्नु र हातहतियारको रक्षा गर्नु जरुरी रहेको भन्दै उनले जवाफमा सांकेतिक रुपमा त्यसक्रममा भएको कामकारवाहीको संरक्षण हुनुपर्ने भनेका छन् ।
‘(कर्फ्यूको बेलामा हुने) कानून विपरीतका काम कारवाहीलाई कानूनी दायरामा ल्याउन गर्नु पर्ने कार्यलाई कसैले अन्यथा भन्न र मान्न मिल्दैन,’ उनले जवाफमा भनेका छन्, ‘त्यसरी हुने काम कारवाहीका विषयहरू राज्यका लागि गरिएका काम कारवाहीहरूका विषयभित्र पर्ने मानिन्छन् ।’