मुख्य समाचार
जेनजी आन्दोलन : प्रहरी हत्यादेखि बैंक चोरीसम्म संलग्न देखिए नाबालक, काठमाडौंमै १५ विरुद्ध मुद्दा
जेनजी आन्दोलन : प्रहरी हत्यादेखि बैंक चोरीसम्म संलग्न देखिए नाबालक, काठमाडौंमै १५ विरुद्ध मुद्दा

। जेनजी आन्दोलनमा प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत असई मिलन राय र जवान उत्तम थापाको प्रदर्शनकारीबाट हत्या भयो । यता प्रहरी प्रभाग कोटेश्वरका सहायक हवल्दार अमृत गुरुङ पनि कुटिकुटी मारिए

प्रहरी हत्यामा प्रत्यक्ष संलग्न भएका १६ जनालाई प्रहरीले पक्राउ गर्‍यो । तीमध्ये १५ जना पुर्पक्षका लागि कारागार चलान भइसकेका छन् । एक जना भने अहिले पनि प्रहरी हिरासतमा छन् । उनीमाथि अनुसन्धान जारी छ ।
तीन प्रहरी हत्यामा पक्राउ परेका १६ मध्ये २ जना भने नाबालक छन् । जो अहिले पुर्पक्षका लागि कारागार समेत चलान भइसकेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए ।

कतिसम्म भने प्रहरी हत्यामा पक्राउ परेका एक नाबालक (परिवर्तित नाम २६ परिसर–२२)बाट प्रहरीका बर्दीसम्म भेटिए । ती नाबालकले प्रहरीको युनिफर्म एक जोर, ब्लेजर कोट १ थान, हत्कडी १ थान, हतियार १ थान लुटे । अरु सामान ती नाबालकको कोठाबाट बरामद भए पनि हतियार भने एक जना दाईले लगेको उनले बयान दिएका छन् ।




प्रहरी हत्याका अर्का आरोपित नाबालक परिवर्तित नाम २६ परिसर–२१ ले भनेका छन्, ‘प्रहरीलाई लाट्ठी, रड, ईंट्टा, ढुंगाले पटक–पटक शरीरमा हानी क्षतविक्षत बनाई रक्ताम्य हुने गरी कुटपिट गरी नांगेझार पारेको र भिडियो खिच्दै मार–मार भन्दै कराउने काम गरेको हुँ ।’

महाराजगञ्ज वृत्तका प्रहरी हत्यामा अहिले यी दुवै नाबालक कारागारमा छन् ।

कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ७ को कार्यालय पनि जेनजी आन्दोलनमा तोडफोड र आगजनी भयो । कार्यालयमा १२ लाख बराबरको क्षति भएको भन्दै प्रहरीमा जाहेरी पर्‍यो । अनुसन्धान गर्दै जाँदा संदिग्धहरू पक्राउ परे । ती मध्ये एक थिए नाबालक । परिवर्तित नाम २६ परिसर २९ का उनी सहचालकको रुपमा काम गर्थे । प्रहरीले भिडियो, तस्वीरमार्फत उनलाई पहिचान गरी पक्राउ गरेर मुद्दा चलायो ।



प्रहरी हत्यादेखि सरकारी कार्यालय तोडफोड र जलाउने काममा नाबालक संलग्न भएका यी तीन उदाहरणका घटना मात्रै हुन् । जेनजी आन्दोलनमा भएका तोडफोड, आगजनी, चोरी जस्ता घटनामा नाबालकको प्रयोग धेरै देखिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंको तथ्यांकअनुसार काठमाडौंमा मात्रै अहिलेसम्म ३०७ जनालाई पक्राउ गरेर मुद्दा चलाइएको छ । तीमध्ये १५ जना नाबालक रहेको एसपी भट्टराईले बताए । ‘जेनजी घटनामा जोडिएका ३०७ जना पक्राउ पर्दा १५ जना नाबालक देखिएका छन् । यसले प्रदर्शनमा तथा अपराधमा नाबालकहरूको बढ्दो संलग्नता देखाएको छ,’ एसपी भट्टराईले अनलाइनखबरसँग भने ।

काठमाडौंबाट मुद्दा चलेका १५ नाबालकमध्ये १ जना आपराधिक उपद्रव र चोरी कसुरका अभियुक्त हुन् । ८ जना आपराधिक उपद्रव, २ जना कर्तव्य ज्यान, ३ जना चोरी र १ जना हातहतियार सम्बन्धी कसुरका अभियुक्त रहेको परिसरले बताएको छ ।

जेनजी आन्दोलनकै क्रममा नयाँ बानेश्वरमा रहेको राष्ट्रिय वाणिज्य बैंक लुटपाट भएको थियो । यो बैंक लुटेको आरोपमा दोलखाका २७ वर्षीय दीपक श्रेष्ठ पक्राउ परे । उनले लुटेको रकमले बुलेट मोटरसाइकल किनेकोसम्म पत्ता लाग्यो ।

त्यतिमात्रै होइन यो बैंक लुटपाटमा समेत अर्का नाबालक पनि रहेको खुल्यो । ती नाबालकलाई पनि चोरीको कसुरमा मुद्दा चलाइयो । यो शाखाबाट मात्रै ३८ करोड ४० लाख रुपैयाँ बराबर लुटपाट भएको थियो । बैंकबाट १७ हजार ९ सय ४५ ग्राम सुन र ५ करोड १५ लाख रुपैयाँ नगद लुटिएको थियो ।

जेनजी आन्दोलनपछि पनि माइतीघरमा प्रदर्शन गर्न खोज्दा काठमाडौं प्रहरीले एकै दिन ७६ जनालाई नियन्त्रणमा लिएको थियो । ७६ जना नियन्त्रणमा लिएका बेला १३ जना त नाबालक मात्रै रहेको एसपी भट्टराई बताउँछन् । यसले पछिल्लो समय प्रदर्शनहरूमा नाबालक संलग्न हुन थालेको देखिएको छ ।

जेनजी आन्दोलनमा भएको अपराध, त्यसपछिका घटनाक्रममा समेत नाबालकहरू संलग्न हुन थालेको भेटिएपछि सुरक्षामा चुनौती थपिनुका साथै बालमनोविज्ञानमा पर्ने असर र आगामी दिनमा हुनसक्ने अपराधको ग्राफसम्म यसले असर पार्ने देखिन्छ ।

प्रहरी प्रधान कार्यालयका केन्द्रीय प्रवक्ता तथा डीआईजी अबि नारायण काफ्लेकाअनुसार जेनजी आन्दोलनमा तोडफोड, आगजनी गरेको आरोपमा अहिलेसम्म देशभरबाट ८५५ जना पक्राउ परेका छन् ।



पक्राउ परेकामध्ये नाबालकहरू सामान्य कसुरमा संलग्न रहेको देखाएमा मुद्दा नचलाई सम्झाई बुझाई गरेर आफन्तको जिम्मा लगाउने गरिएको उनले बताए ।

‘सामान्य अपराधका घटनामा संलग्न देखिएका नाबालकलाई भने मुद्दा चलाएका छैनौं । सम्झाएर आफन्तको जिम्मा लगाउने गरेका छौं,’ काफ्लेले अनलाइनखबरसँग भने, ‘मुद्दै चलाउने प्रकृतिको देखिएमात्रै मुद्दा चलाउन भनिएको छ ।’

काफ्लेकै भनाइलाई आधार मान्ने हो भने प्रहरीले सामान्य घटनामा पक्राउ परेका नाबालकलाई अहिले मुद्दा चलाइएको छैन । नत्र नाबालक संलग्न संख्या अझै धेरै बढ्ने देखिन्छ ।

देशभर पक्राउ परेका ८५५ जनाको उमेर समूहगत विवरण पूरा संकलन नभएकाले देशभरबाट कति नाबालक पक्राउ परे र मुद्दा चले भन्ने विवरण अहिले प्राप्त भइनसकेको उनले बताए ।

सबैभन्दा बढी १५ देखि २४ वर्ष उमेर समूह

परिसर काठमाडौंको तथ्यांकअनुसार पक्राउ परेका ३०७ मध्ये सबैभन्दा १५ देखि २४ वर्ष उमेर समूहका व्यक्तिहरू छन् । काठमाडौंबाट पक्राउ परेका ३०७ मध्ये एक तिहाई भन्दा बढी १३७ जनाको उमेर १५ देखि २४ वर्षसम्मको पाइएको एसपी भट्टराई बताउँछन् ।
जसमा अभद्र व्यवहारको कसुरमा ३ जना, आपराधिक उपद्रव र चोरीमा ४ जना, आपराधिक उपद्रवमा ८१ जना, कर्तव्य ज्यानमा ११ जना, चोरीमा १० जना, ज्यान मार्ने उद्योगमा २ जना, हातहतियार सम्बन्धी कसुरमा २६ जनालाई मुद्दा चलाइएको छ ।

जेनजीको आन्दोलन भनिएकाले पनि यो उमेर समूहका व्यक्ति बढी संलग्न रहेको हुनसक्ने प्रहरीको आँकलन छ ।

त्यसपछि सबैभन्दा बढी २५ देखि २४ वर्ष उमेर समूहका छन् । यो समूहका १०४ जनालाई काठमाडौं प्रहरीले पक्राउ गरेर मुद्दा चलाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: प्रतिनिधि सभाको निर्वाचनका लागि नेपाली कांग्रेसले बर्दियाबाट पूर्वपरराष्ट्र मन्त्री आरजु राणा देउवाको नाम सिफारिस गरेको छ। कांग्रेस प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट उम्मेदवारका लागि उनको नाम सिफारिस गरिएको हो। यस्तै प्रतिनिधि सभा क्षेत्र नम्बर १ बर्दियाबाट आगामी फागुन २१ गते हुने प्रत्यक्षतर्फको निर्वाचनका लागि पूर्वसिंचाई मन्त्री एवं कांग्रेसका केन्द्रीय सदस्य सञ्जय कुमार गौतमको नाम ...
: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रिय सहमतिबाटै संवैधानिक राजसंस्था पुनर्स्थापित हुनुपर्ने स्पष्ट पारेको छ। शुक्रबार सम्पन्न पार्टीको केन्द्रीय कार्यसमितिले संवैधानिक राजसंस्थाको पुनर्स्थापना जनमत संग्रह वा कुनै रक्तपातको बाटोबाट नभई राष्ट्रिय सहमतिको बाटोबाट हुनुपर्ने निष्कर्ष निकालेको अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए। राजसंस्थाको विषयलाई अल्पमत बहुमतबाट निर्णय गर्न थाले झन् जटिलताहरू पैदा गर्ने खतरा हुने उनले ...
। अभिनेत्री रेखा थापाले किताब र सिनेमा, साहित्य र सिनेमा उस्ताउस्तै रहेको बताएकी छन् । किताब यात्रा फाउण्डेशनद्वारा नेपाल पुलिस क्लबमा आयोजित किताब जात्राको दोस्रो दिन शुक्रबार उनले यी दुवै चीजमा समाजकै कथा हुने भएकाले समानता रहेको बताइन् । उनले आफूले किताब पढ्ने गरेको बताइन् । नेपालमा दुःखका कथा धेरै रहेको र आफूले पनि तिनै कथालाई ...
: विराटनगरस्थित कोशी अस्पताल र बाल सुधारगृहबाट भागेका थुनुवा र बाल बिज्याइँकर्ता पक्राउ परेका छन्। अस्पतालको शौचालयबाट भागेका १ जना थुनुवा अढाई महिनापछि पक्राउ परेका छन्। मोरङ प्रहरीका निमित्त प्रमुख एवं डीएसपी कोपिला चुँडालका अनुसार मोरङको कटहरी गाउँपालिका–१ घर भएका २० वर्षीय मोहमद राजुलाई शुक्रबार बिहानका राति पक्राउ गरिएको बताइन्। राजु चोरी मुद्दाका थुनुवा हुन्। ...
। नेकपा एमालेका नेता कार्यकर्ताहरूलाई यतिबेला महाधिवेशनले छोपेको छ । पार्टी प्रचार विभागका अनुसार महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । यसैबीच अहिले केन्द्रीय कार्यालय च्यासलमा पार्टीका नेता, कार्यकर्ता र शुभेच्छुकहरूको भीड लागेको छ । च्यासलमै एमालेको सचिवालय बैठक पनि जारी छ । पार्टी कार्यालयमा देखिएका अधिकाशं नेताहरू टाउकोमा ढाका टोपी लगाएका छन् । सल्लाघारीमा हुने उद्घाटन सत्रमा भने ...