मुख्य समाचार
म्यानमारको ‘अनलाइन स्क्यामिङ’ सेन्टरबाट ४७ नेपाली श्रमिकको उद्धार
म्यानमारको ‘अनलाइन स्क्यामिङ’ सेन्टरबाट ४७ नेपाली श्रमिकको उद्धार

— म्यानमारको म्यावाडी क्षेत्रस्थित श्वे कोक्को र के के पार्कमा अवैध रूपमा सञ्चालनमा रहेका अनलाइन स्क्यामिङ केन्द्र (टेलिकम ठगी तथा अनलाइन जुवा) मा बन्धक बनाई काममा लगाइएका ४७ जना नेपाली श्रमिकको उद्धार गरिएको छ ।

थाइल्यान्ड र म्यानमार सरकारसँग समन्वय गरी बैंकस्थित नेपाली दूतावासले उनीहरूलाई बुधबार नेपाल फर्काएको हो । उनीहरूलाई नेपाल एयरलाइन्सको उडान नं. आरए ४०२ मार्फत नेपाल फर्काइँदै छ ।

उद्धार गरिएका व्यक्तिमध्ये विभिन्न २६ जिल्लाका ४७ जना रहेका छन् जसमध्ये ४५ जना पुरुष तथा २ जना महिला छन्। जसमा झापाका ५, सिन्धुपाल्चोक ३, उदयपुर ३, रुपन्देही ३, गोरखा ३, धादिङ ३, दाङ २, महोत्तरी २, मोरङ २, नवलपरासी २, नुवाकोट २, स्याङ्जा २, तनहुँ २ र चितवन, दैलेख, कास्की, काठमाडौं, काभ्रेपलाञ्चोक, पाल्पा, रामेछाप, रौतहट, सल्यान, सर्लाही, सिन्धुली, ताप्लेजुङ र तेह्रथुमका एक/एक जना रहेका छन्।

उमेर समूहका हिसाबले एक जना १७ वर्षको, २० वर्षदेखि २५ वर्ष उमेर समूहका २६ जना, २६ वर्षदेखि ३० वर्षको उमेर समूहका १० जना, ३१ देखि ३५ वर्ष उमेर समूहका ८ जना, ४० वर्षको एक जना र ४१ वर्षको एक जना रहेका छन्। उनीहरू स्क्यामिङ केन्द्रहरूमा दुई महिनादेखि १८ महिनासम्म आबद्ध भएको देखिएको दूतावासले जनाएको छ ।

दूतावासका एक अधिकारीका अनुसार म्यानमारको सेनाले छापा मारेर नेपाली श्रमिकहरूलाई ती केन्द्रहरूबाट उद्धार गरेको हो । दूतावासले मंगलबार थाइल्यान्डको टाक प्रान्तस्थित मेसोट अध्यागमन कार्यालयबाट उनीहरूको जिम्मा लिई नेपाल पठाएको थियो । नेपालीलाई लिन दूतावासको टोली थाइल्यान्ड–म्यानमार सीमा क्षेत्रमा पुगेको थियो ।

दूतावासका अनुसार अनलाइन स्क्यामिङ केन्द्रमा अझै कति नेपाली छन् भन्ने यकिन भइसकेको छैन । यसअघि गत कात्तिक १९ गते पनि १४ जना नेपालीलाई म्यानमारबाट बैंकक ल्याई नेपाल पठाइएको थियो । ‘अवैध स्क्यामिङ केन्द्रमा छापा परेपछि मात्र त्यहाँ नेपाली रहेको वा नरहेको खुल्ने गर्दछ,’ दूतावासका ती अधिकारीले भने, ‘प्रायः छापामा अन्य देशका नागरिकसँगै नेपालीको पनि उद्धार हुँदै आएको छ ।’

अक्टोबर १९ यतामात्रै २८ देशका दुई हजारभन्दा बढी नागरिकलाई म्यानमारबाट थाइल्यान्ड ल्याइएको छ । म्यानमारको सूचना मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्तिमा मंगलबार छ देशका १२३ जना विदेशी नागरिकलाई म्यानमार–थाइल्यान्ड फ्रेन्डसिप ब्रिजमार्फत स्वदेश फर्काइएको जनाएको छ । उनीहरू सबै अवैध रूपमा म्यानमार प्रवेश गरेका थिए ।

म्यानमारको सूचना मन्त्रालयका अनुसार श्वे कोक्को र के के पार्क क्षेत्रमा टेलिकम ठगी र अनलाइन जुवामा संलग्न समूहहरूले प्रयोग गर्दै आएका भवनहरूमा सुरक्षा निकाय, प्रशासनिक फाँट र स्थानीय अधिकारीहरू सम्मिलित संयुक्त टोलीले निरन्तर छापा मार्दै आएको छ ।

संयुक्त टोलीले डिसेम्बर ८ देखि म्यावाडी र आसपासका क्षेत्रमा खोजतलास सञ्चालन गरिरहेको छ । यस क्रममा अनलाइन जुवाका लागि प्रयोग गरिएका १२१ भवनमध्ये १० वटा अवैध पाइएका छन् भने ७०८ वटा कम्प्युटर जफत गरिएको अधिकारीहरूले बताएका छन् ।

सरकारका अनुसार अनलाइन ठगी र जुवामा प्रयोग गरिएका सामग्री तथा संरचना जफत गरी व्यवस्थित रूपमा ध्वस्त पार्ने कार्य भइरहेको छ । के के पार्कमा रहेका ६३५ अवैध संरचनामध्ये हालसम्म ३५१ वटा भवन भत्काइसकिएको सूचनामा उल्लेख छ । यो पार्क सन् २०२० देखि सञ्चालनमा ल्याइएको थियो ।

म्यानमार सरकारले टेलिकम ठगी र अनलाइन जुवालाई राष्ट्रिय प्राथमिकताका अपराधका रूपमा लिएर नियन्त्रण अभियान तीव्र पारेको जनाएको छ । ‘यस्ता गतिविधि पुनः सञ्चालन हुन नदिन आन्तरिक सुरक्षा निकाय मात्र होइन, छिमेकी मुलुकहरूसँग सहकार्य गर्दै कारबाही निरन्तर जारी रहनेछ,’ सूचनामा भनिएको छ ।

उद्धार गरिएका नेपालीहरूले आफूहरू अनलाइन ठगीमा संलग्न गराइएको कुरा काम थालेको करिब तीन महिनापछि मात्र थाहा पाएको बताएका छन् । तीमध्ये अधिकांश आईटी क्षेत्रमा दक्ष रहेको जनाइएको छ ।

पीडितहरू विशेषज्ञ, डिजिटल मार्केटिङ वा ग्राहक सेवा प्रतिनिधिका रूपमा देखाइएका रोजगारीमा आवेदन दिई म्यानमार पुगेका थिए ।‘हामीलाई कानुनी रूपमा प्रवेश गराएर के के पार्क लगियो । त्यहाँ पुगेपछि पासपोर्ट खोसियो र कडा सुरक्षाकर्मीको निगरानीमा जबर्जस्ती काममा लगाइयो,’ एक पीडितले कान्तिपुरसँग भने ।

कम्बोडिया-थाइल्यान्ड, म्यान्मार-थाइल्यान्ड सीमा तथा लाओसमा स्क्यामिङ केन्द्रहरूमा नेपालीलगायत विभिन्न मुलुकका व्यक्तिहरू अलपत्र पर्न थालेको जानकारी आएपछि बैंककस्थित नेपाली दूतावासले २०८० साउन २३ गतेदेखि निरन्तर ट्राभल एडभाइजरी जारी गरिरहेको छ । त्यसपछि अलपत्र परेका नेपालीहरूलाई थाइल्यान्ड सरकारसँगको समन्वयमा मानव तस्कर पीडितका रूपमा उद्धार सुरु गरिएको हो । यसरी उद्धार हुनेमा आर्थिक वर्ष २०८०/८१ मा ६८ जना, आर्थिक वर्ष २०८१/८२ मा १५६ जना र चालु आर्थिक वर्षमा हालसम्म १४० जनाको उद्धार भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— मलेसियाले कागजातविहीन श्रमिकलाई पक्राउ गर्ने अभियानलाई तीव्रता दिएको छ । मलेसियाको सेलायाङ बारु क्षेत्रबाट ८ सय ४३ जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा ८ सय ८ पुरुष र ३५ महिला छन् । उनीहरूको उमेर २१ देखि ५३ वर्षसम्मको भएको मलेसियन सञ्चारमाध्यमले जनाएका छन् । सेलाङ्गोरका मुख्यमन्त्री तथा राज्य सुरक्षा समिति अध्यक्ष आमिरुद्दिन शारीले विदेशी श्रमिकको अनियन्त्रित प्रवेश तथा ...
: दक्षिण कोरियामा अध्ययनरत नेपाली विद्यार्थीको मृत्यु भएको अवस्थामा शव नेपाल लैजाने प्रक्रिया अत्यन्तै जटिल र खर्चिलो भएको भन्दै मृतकका परिवार र कोरियास्थित नेपाली समुदायले गम्भीर चिन्ता व्यक्त गरेका छन्। नेपाल सरकारको स्पष्ट नीतिगत व्यवस्था नभएका कारण शोकमा डुबेका परिवारले शव नेपाल लैजान निकै सास्ती खेप्नु परिरहेको छ। विद्यार्थीको मृत्यु भएमा परिवारका सदस्य एवं कोरियास्थित नेपाली ...
: भारतको गोवास्थित नाइट क्लबमा आगलागीमा परी मृत्यु भएका २५ जनामध्ये चारजना नेपाली रहेको खुलेको छ। मृत्यु भएका चारैजना उक्त क्लबमा कार्यरत रहेको गोवा प्रहरीले जनाएको छ। मृत्यु हुनेमा चूर्णबहादुर पुन,विवेक कटवाल,सुदीप र सविनको पहिचान खुलेको प्रहरीले जनाएको छ। चारैजनाको पोस्टमार्टम रिपोर्ट आइसकेको र गोवाको अस्पतालमा शव राखिएको जनाइएको छ। गोवा सरकारले नयाँ दिल्लीस्थित नेपाली ...
। बेलायतमा बलात्कार तथा यौन दुराचारको अभियोगमा एक नेपालीलाई २५ वर्ष जेल सजाय भएको छ । बेलायतको पिटरबरो बस्दै आएका ४९ वर्षीय प्रमोद ढकाललाई क्याम्ब्रिज क्राउन कोर्टले २५ वर्षको जेल सजाय मात्र हैन, त्यसपछिका ८ वर्षसम्म समेत लाइसेन्स अर्थात् कडा निगरानीमा राख्ने फैसला सुनाएको हो । ढकाललाई विगत १७ वर्षको अवधिमा भएका यौन दुराचारसम्बन्धी विभिन्न २५ वटा ...
— दक्षिण कोरियामा पछिल्ला महिना शरणार्थी (शरणार्थी/मानवीय) प्रयोजनका लागि प्रदान गरिने जी–१ भिसासम्बन्धी भ्रामक प्रचार तीव्र रूपमा बढेको भन्दै सियोलस्थित नेपाली दूतावासले सजग रहन चेतावनी जारी गरेको छ । दूतावासले सामाजिक सञ्जालमार्फत ‘जी–१ भिसा सजिलै पाइन्छ’, ‘काम गर्न मिल्छ’, ‘बस्न मिल्छ’ जस्ता भ्रामक सामग्रीले नेपालीलाई गलत रूपमा आकर्षित गरिरहेको भन्दै गम्भीर ध्यानाकर्षण गराएको हो । दूतावासका ...