मुख्य समाचार
म्यानमारको ‘अनलाइन स्क्यामिङ’ सेन्टरबाट ४७ नेपाली श्रमिकको उद्धार
म्यानमारको ‘अनलाइन स्क्यामिङ’ सेन्टरबाट ४७ नेपाली श्रमिकको उद्धार

— म्यानमारको म्यावाडी क्षेत्रस्थित श्वे कोक्को र के के पार्कमा अवैध रूपमा सञ्चालनमा रहेका अनलाइन स्क्यामिङ केन्द्र (टेलिकम ठगी तथा अनलाइन जुवा) मा बन्धक बनाई काममा लगाइएका ४७ जना नेपाली श्रमिकको उद्धार गरिएको छ ।

थाइल्यान्ड र म्यानमार सरकारसँग समन्वय गरी बैंकस्थित नेपाली दूतावासले उनीहरूलाई बुधबार नेपाल फर्काएको हो । उनीहरूलाई नेपाल एयरलाइन्सको उडान नं. आरए ४०२ मार्फत नेपाल फर्काइँदै छ ।

उद्धार गरिएका व्यक्तिमध्ये विभिन्न २६ जिल्लाका ४७ जना रहेका छन् जसमध्ये ४५ जना पुरुष तथा २ जना महिला छन्। जसमा झापाका ५, सिन्धुपाल्चोक ३, उदयपुर ३, रुपन्देही ३, गोरखा ३, धादिङ ३, दाङ २, महोत्तरी २, मोरङ २, नवलपरासी २, नुवाकोट २, स्याङ्जा २, तनहुँ २ र चितवन, दैलेख, कास्की, काठमाडौं, काभ्रेपलाञ्चोक, पाल्पा, रामेछाप, रौतहट, सल्यान, सर्लाही, सिन्धुली, ताप्लेजुङ र तेह्रथुमका एक/एक जना रहेका छन्।

उमेर समूहका हिसाबले एक जना १७ वर्षको, २० वर्षदेखि २५ वर्ष उमेर समूहका २६ जना, २६ वर्षदेखि ३० वर्षको उमेर समूहका १० जना, ३१ देखि ३५ वर्ष उमेर समूहका ८ जना, ४० वर्षको एक जना र ४१ वर्षको एक जना रहेका छन्। उनीहरू स्क्यामिङ केन्द्रहरूमा दुई महिनादेखि १८ महिनासम्म आबद्ध भएको देखिएको दूतावासले जनाएको छ ।

दूतावासका एक अधिकारीका अनुसार म्यानमारको सेनाले छापा मारेर नेपाली श्रमिकहरूलाई ती केन्द्रहरूबाट उद्धार गरेको हो । दूतावासले मंगलबार थाइल्यान्डको टाक प्रान्तस्थित मेसोट अध्यागमन कार्यालयबाट उनीहरूको जिम्मा लिई नेपाल पठाएको थियो । नेपालीलाई लिन दूतावासको टोली थाइल्यान्ड–म्यानमार सीमा क्षेत्रमा पुगेको थियो ।

दूतावासका अनुसार अनलाइन स्क्यामिङ केन्द्रमा अझै कति नेपाली छन् भन्ने यकिन भइसकेको छैन । यसअघि गत कात्तिक १९ गते पनि १४ जना नेपालीलाई म्यानमारबाट बैंकक ल्याई नेपाल पठाइएको थियो । ‘अवैध स्क्यामिङ केन्द्रमा छापा परेपछि मात्र त्यहाँ नेपाली रहेको वा नरहेको खुल्ने गर्दछ,’ दूतावासका ती अधिकारीले भने, ‘प्रायः छापामा अन्य देशका नागरिकसँगै नेपालीको पनि उद्धार हुँदै आएको छ ।’

अक्टोबर १९ यतामात्रै २८ देशका दुई हजारभन्दा बढी नागरिकलाई म्यानमारबाट थाइल्यान्ड ल्याइएको छ । म्यानमारको सूचना मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्तिमा मंगलबार छ देशका १२३ जना विदेशी नागरिकलाई म्यानमार–थाइल्यान्ड फ्रेन्डसिप ब्रिजमार्फत स्वदेश फर्काइएको जनाएको छ । उनीहरू सबै अवैध रूपमा म्यानमार प्रवेश गरेका थिए ।

म्यानमारको सूचना मन्त्रालयका अनुसार श्वे कोक्को र के के पार्क क्षेत्रमा टेलिकम ठगी र अनलाइन जुवामा संलग्न समूहहरूले प्रयोग गर्दै आएका भवनहरूमा सुरक्षा निकाय, प्रशासनिक फाँट र स्थानीय अधिकारीहरू सम्मिलित संयुक्त टोलीले निरन्तर छापा मार्दै आएको छ ।

संयुक्त टोलीले डिसेम्बर ८ देखि म्यावाडी र आसपासका क्षेत्रमा खोजतलास सञ्चालन गरिरहेको छ । यस क्रममा अनलाइन जुवाका लागि प्रयोग गरिएका १२१ भवनमध्ये १० वटा अवैध पाइएका छन् भने ७०८ वटा कम्प्युटर जफत गरिएको अधिकारीहरूले बताएका छन् ।

सरकारका अनुसार अनलाइन ठगी र जुवामा प्रयोग गरिएका सामग्री तथा संरचना जफत गरी व्यवस्थित रूपमा ध्वस्त पार्ने कार्य भइरहेको छ । के के पार्कमा रहेका ६३५ अवैध संरचनामध्ये हालसम्म ३५१ वटा भवन भत्काइसकिएको सूचनामा उल्लेख छ । यो पार्क सन् २०२० देखि सञ्चालनमा ल्याइएको थियो ।

म्यानमार सरकारले टेलिकम ठगी र अनलाइन जुवालाई राष्ट्रिय प्राथमिकताका अपराधका रूपमा लिएर नियन्त्रण अभियान तीव्र पारेको जनाएको छ । ‘यस्ता गतिविधि पुनः सञ्चालन हुन नदिन आन्तरिक सुरक्षा निकाय मात्र होइन, छिमेकी मुलुकहरूसँग सहकार्य गर्दै कारबाही निरन्तर जारी रहनेछ,’ सूचनामा भनिएको छ ।

उद्धार गरिएका नेपालीहरूले आफूहरू अनलाइन ठगीमा संलग्न गराइएको कुरा काम थालेको करिब तीन महिनापछि मात्र थाहा पाएको बताएका छन् । तीमध्ये अधिकांश आईटी क्षेत्रमा दक्ष रहेको जनाइएको छ ।

पीडितहरू विशेषज्ञ, डिजिटल मार्केटिङ वा ग्राहक सेवा प्रतिनिधिका रूपमा देखाइएका रोजगारीमा आवेदन दिई म्यानमार पुगेका थिए ।‘हामीलाई कानुनी रूपमा प्रवेश गराएर के के पार्क लगियो । त्यहाँ पुगेपछि पासपोर्ट खोसियो र कडा सुरक्षाकर्मीको निगरानीमा जबर्जस्ती काममा लगाइयो,’ एक पीडितले कान्तिपुरसँग भने ।

कम्बोडिया-थाइल्यान्ड, म्यान्मार-थाइल्यान्ड सीमा तथा लाओसमा स्क्यामिङ केन्द्रहरूमा नेपालीलगायत विभिन्न मुलुकका व्यक्तिहरू अलपत्र पर्न थालेको जानकारी आएपछि बैंककस्थित नेपाली दूतावासले २०८० साउन २३ गतेदेखि निरन्तर ट्राभल एडभाइजरी जारी गरिरहेको छ । त्यसपछि अलपत्र परेका नेपालीहरूलाई थाइल्यान्ड सरकारसँगको समन्वयमा मानव तस्कर पीडितका रूपमा उद्धार सुरु गरिएको हो । यसरी उद्धार हुनेमा आर्थिक वर्ष २०८०/८१ मा ६८ जना, आर्थिक वर्ष २०८१/८२ मा १५६ जना र चालु आर्थिक वर्षमा हालसम्म १४० जनाको उद्धार भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सन् २०२१ मा बेलायती विश्वविद्यालय योर्क सेन्ट जोन युनिभर्सिटीबाट एमबीए उत्तिर्ण गरेपछि मेलिसा थापा (नाम परिवर्तन) ले दुई वर्ष पोष्ट स्टडी वर्क (पिएसडब्लु) भिजा लिएर फुलटाइम काम गरिन् । यो स्किम सकिएपछि उनी कि त नेपाल फर्कनु पर्दथ्यो कि बेलायतमै स्पोन्सर खोजेर वर्क परमिटमा रहनु । फर्किंदा नेपालमा खासै भविष्य नदेखेकी उनले सन् २०२४, ९ ...
: साउदी अरबमा रोजगारीका लागि पुगेका नेपालीमध्ये ९११ जना विभिन्न मुद्दामा जेलमा रहेका छन् । दुतावास रियादका अनुसार ११ अगस्ट २०२६ सम्मको विवरणअनुसार जेलमा रहेका नेपालीमध्ये ४९९ जनाको फैसला भइसकेको छ भने ४१२ जनाको मुद्दा अझै विचाराधीन रहेको छ । जेलमा रहेका नेपालीमध्ये सबैभन्दा धेरै पूर्वी क्षेत्रमा ३७७ जना, केन्द्रीय क्षेत्रमा ३३४ जना ...
: दक्षिण कोरियाको जेजुमा सहकर्मीलाई उद्धार गर्ने क्रममा फोहोर तथा मलमूत्र प्रशोधन गर्ने ट्यांकीभित्र प्रवेश गरेका नेपाली श्रमिकको मृत्यु भएको छ । मृत्यु हुनेमा ताप्लेजुङ घर भएका र हाल कोरियाको जेजुस्थित एक फार्ममा कार्यरत ३२ वर्षीय विकास शेर्पा रहेको कोरियास्थित नेपाली राजदूतावासले जनाएको छ । हिजो शनिबार बिहान करिब ७ः५६ बजे जेजु सहरको हान्ग्यङ–म्योन, जोसुरी क्षेत्रमा ...
: रोमानियामा रेलको ठक्करबाट दुई नेपाली युवाको मृत्यु भएको छ। रोमानियाको बाकाउ क्षेत्रमा भएको दुर्घटनामा सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–५, पाल्वा घर भएका ३६ वर्षीय शान्तकुमार श्रेष्ठ र चितवनको भरतपुर महानगरपालिका–२०, बागबजारका २५ वर्षीय निश्चल तामाङको घटनास्थलमै मृत्यु भएको बाकाउ प्रहरीले जनाएको छ। रोमानियाको बुखारेस्टका लागि पूर्वअवैतनिक नेपाली वाणिज्यदूत नवराज पोखरेलका अनुसार, घटनाबारे नेपालमा रहेका मृतकका ...
— इरानको ड्रोन आक्रमणमा परी कुवेतमा ज्यान गुमाएका तेह्रथुमका सोमकुमार तामाङको शव शनिबार आउने भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार कुवेत एयरवेजमार्फत शव नेपाल ल्याउन लागिएको हो । कुवेतस्थित नेपाली राजदूतावासले स्थानीय निकाय तथा सम्बन्धित कम्पनीसँग आवश्यक समन्वय गरी शव स्वदेश पठाउने प्रक्रिया सम्पन्न गरेको परराष्ट्रले जनाएको छ । कुवेतस्थित नेपाली दूतावासका अनुसार कुवेतको उत्तरी क्षेत्रस्थित ...