— धरानमा स्कुल बसले अटोलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
बुधबार बिहान धरान उपमहानगरपालिका–१९ मिलनचोकस्थित भित्री सडक खण्डमा मिलनचोकबाट भोटेपुलतर्फ गइरहेको को १ क ७८२ नम्बरको विष्णु मेमोरियल स्कुल बसले विपरीत दिशाबाट आइरहेको को १ ह ८७७४ नम्बरको अटोलाई ठक्कर दिँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक जीवन कुवँरले जानकारी दिए ।
दुर्घटनामा सख्त घाइते भएका अटो चालक धरान–१९ एकता मार्गका २४ वर्षीय निमेष भुजेल र अटोमा सवार धरान–१९ का ५५ वर्षीय सीताराम ईवा लिम्बूलाई तत्कालै उद्धार गरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । तर उपचारका क्रममा अटो चालक भुजेलको मृत्यु भएको प्रहरी निरीक्षक कुवँरलेले बताए । अटोमा सवार लिम्बूको भने उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरी निरीक्षक कुवँरका अनुसार धरानमा–९ स्थित विष्णु मेमोरियल स्कुलको बस विद्यार्थीहरुलाई लिन जाने क्रममा मिलन चोकस्थित भित्री सडक खण्डमा दुर्घटना भएको हो । बसमा सवार विद्यार्थीहरु भने सबै सकुशल नै रहेको उनले बताए । ‘बसमा सवार विद्यार्थीहरु भने सबै ठिकै छन्, कुनै पनि चोटपटक लागेको छैन,’ उनले भने ।
घटनामा संलग्न स्कुल बस चालक धरान–१४ का २९ वर्षीय अमिर तामाङलाई इलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएर घटनासम्बन्धी आवश्यक अनुसन्धान अघि बढाएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।