: नेकपा एमालेका सचिव गोकर्ण विष्टले पार्टीभित्र प्रतिस्पर्धा गर्नेलाई पार्टीको हित नचाहने भनेर भाष्य सिर्जना गर्न खोजिएको भन्दै आपत्ति जनाएका छन्। एमाले ११ औं महाधिवेशन सन्दर्भमा बुधवार आयोजित अन्तरसंवाद कार्यक्रममा उनले ११औँ महाधिवेशनले राष्ट्रिय राजनीतिमा देखिएका मुद्दालाई सम्बोधन गर्ने गरी नेतृत्व हस्तान्तरण गर्ने विश्वास व्यक्त गरेका हुन्।
सचिव विष्टले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको समूहबाट आफूहरू प्रतिस्पर्धामा उत्रने जानकारी गराए। उनले यथास्थितिबाट माथि उठेर नयाँ चुनौतीको सामना गर्नसक्ने नेतृत्व आवश्यक भएको बताए। उनले महाधिवेशनले राष्ट्रिय राजनीतिमा देखिएका मुद्धालाई सम्बोधन गर्दै सामूहिक नेतृत्व दिने विश्वास व्यक्त गरे।
जनताको बहुदलीय जनवाद (जबज) को मार्गदर्शनमा एकता र सहमतिका साथ पार्टीको नयाँ नेतृत्व चयन गर्नुपर्नेमा सचिव विष्टले जोड दिए। पार्टीको केन्द्रीय नेतृत्वमा ४० वर्षमुनिका प्रतिनिधिको उल्लेख्य उपस्थितिका लागि र नयाँ राजनीतिक घटनाक्रमबारे महाधिवेशनमा छलफल गर्न प्रतिनिधिहरू सार्वभौम रहेका उनले स्पष्ट गरे।
उनले आफूहरूले पार्टीभित्र स्वच्छ प्रतिस्पर्धा गर्न चाहेको बताए। उनले भने,‘हामीले नेतृत्वमा दुई कार्यकाल तोक्यौँ तर आफ्नो आवश्यकताले राख्ने, नत्र हट्नेजस्ता प्रवृत्ति पार्टीभित्र देखा परे। राजनीतिमा परिवर्तन चाहने र नयाँहरूलाई अवसर दिनको लागि हामीले कार्यकालको व्यवस्था लागू गर्नुपर्छ।’
उनले राष्ट्रका चुनौतीहरूलाई सम्बोधन गर्ने, जनताको अपेक्षा पूरा गर्ने र निर्वाचनमार्फत संविधान देखिएको संवैधानिक संकटलाई समाधान गर्नेतिर एमाले लाग्ने बताए।