— आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कांग्रेस बैतडीले जिल्लाबाट उम्मेदवार सिफारिस गरेको छ ।
बैतडी सदरमुकाममा सम्पन्न जिल्ला कार्यसमिति, महाधिवेशन प्रतिनिधि तथा प्रदेश प्रतिनिधिहरूको संयुक्त बैठकले मतदान प्रक्रियाबाट उम्मेदवार सिफारिस गरेको हो । पार्टीको केन्द्रीय निर्देशनअनुसार सहमतिबाट उम्मेदवार सिफारिस नटुंगिएपछि मत विभाजनबाट चयन गरिएको हो ।
प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फको उम्मेदवारका लागि ६ जना आकांक्षीबीच प्रतिस्पर्धा भएको थियो । जिल्ला कार्यसमिति, केन्द्रीय महाधिवेशन प्रतिनिधि, प्रदेश अधिवेशन प्रतिनिधिहरू गरी उपस्थित ८२ जनामध्ये ७३ जनाले मतदान प्रक्रियामा भाग लिएको कांग्रेस जिल्ला सचिव देवराज जोशीले बताए ।
मत सर्वेक्षणमा प्रत्यक्षतर्फमा आकांक्षी उम्मेदवार ६ जनामध्ये कांग्रेस जिल्ला सभापति चतुरबहादुर चन्दले ७३ मत ल्याएर शतप्रतिशत भोट प्राप्त गरेका छन् । चन्द नेपाल क्रिकेट संघ(क्यान) का अध्यक्षसमेत हुन् ।
यस्तै विष्णुदत्त जोशीले ४५ मत पाए भने महाधिवेशन प्रतिनिधि उत्तरबहादुर ऐरले ६ मत प्राप्त पाए । जिल्ला उपसभापति वीरबहादुर बिष्टले ४ मत र प्रदेश सदस्य तेजबहादुर चन्दले ३ मत र नरबहादुर चन्दले शून्य मत पाए । प्रत्यक्षतर्फका उम्मेदवार आकांक्षीमध्ये एक महिलासहित तीन जनालाई मत दिनुपर्ने थियो । महिलममा भने जानकी भट्ट एक्ली दाबेदार थिइन् ।
यस्तै समानुपतिकतर्फ आकांक्षी रहेकी कान्ता चन्दले ४५ मत र देवु ठगुन्नाले २५ मत प्राप्त गरिन् । समानुपातिकमा ३ मत बदर भएका थिए । जिल्लाबाट राष्ट्रिय सभा सदस्यतर्फ भने लोकराज अवस्थी, सुरेन्द्र चन्द र प्रताप ठगुन्ना सिफारिस भएका छन् । मत विभाजनमा सबैभन्दा बढी जनाको समर्थन पाएकालाई उम्मेदवार सिफरिस गरिएको सचिव जोशीले बताए ।
मत विभाजनको जिम्मेवारी पाएका नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष गणेशसिंह भण्डारीले सहमतिको लागि लामो प्रयास गर्दा पनि सहमति जुटने कुनै अधार नदेखिएपछि केन्द्रको निर्देशनअनुसार मत विभाजन गरिएको बताए ।