मुख्य समाचार
नेपाल ट्रस्टको जग्गा लिज प्रकरण : तत्कालीन सचिव अर्जुनकुमार कार्की पक्राउ
नेपाल ट्रस्टको जग्गा लिज प्रकरण : तत्कालीन सचिव अर्जुनकुमार कार्की पक्राउ

— दरबारमार्गस्थित नेपाल ट्रस्टको जग्गा यति होल्डिङ्सअन्तर्गतको थामसेर्कु ट्रेकिङ प्रालिलाई ३० वर्षका लागि लिजमा दिँदा अनियमितता गरेको आरोपमा पूर्वसचिव अर्जुनकुममार कार्की पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) ले कार्कीलाई पक्राउ गरेको हो ।



यसअघि लिज सम्झौतामा हस्ताक्षर गर्ने ट्रस्टका तत्कालीन सहसचिव लेखबहादुर कार्की पक्राउ परिसकेका छन् । सीआईबीका प्रवक्ता एसएसपी शिवकुमार श्रेष्ठका अनुसार कार्कीलाई ठगी, आपराधिक विश्वासघातसम्बन्धी कसुरको अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको हो ।

सीआईबीका अनुसार जग्गा लिजमा दिँदा सचिव कार्कीको समेत संलग्नता देखिएकाले जिल्ला अदालत, काठमाडौंबाट अनुमति लिएर पक्राउ गरिएको हो ।

ट्रस्टको सञ्चालक समिति बैठकले दरबारमार्गको एक रोपनी १४ आना जग्गा भाडामा दिने योजनालाई २८ साउन २०७१ मा पहिलो पटक स्वीकृति प्रदान गरेको थियो । त्यसको करिब २ वर्षपछि जग्गा लिजमा दिन सार्वजनिक सूचना जारी गरेर बोलपत्र आह्वान गरिएको थियो ।


त्यसबेला ६ कम्पनीले प्रतिस्पर्धामा भाग लिएका थिए । तर, त्यो बोलपत्रको मापदण्डसमेत थामसेर्कुलाईमात्र उपयुक्त हुने गरी तयार गरेको देखिएको सीआईबीका एक अनुसन्धान अधिकृत बताउँछन् ।

दरबारमार्गको जग्गा लिज प्रकरणमा पहिले पनि नेपाल प्रहरीदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्ममा उजुरी परेको थियो । प्रहरीबाट उजुरीमाथि कारबाही अघि बढाइएको थिएन भने अख्तियारले समेत २०७६ सालमै उजुरी तामेलीमा राख्ने निर्णय गरिदिएको थियो ।


महालेखापरीक्षकको कार्यालयले भने छानबिन गर्न भनेको थियो । अधिकृतहरूका अनुसार, नारायणहिटी दरबार अगाडिको एक रोपनी १४ आना जग्गा भाडामा लिन थामसेर्कुले सुरुमा ६ अर्ब २६ करोड रुपैयाँको प्रस्ताव बुझाएको थियो । तर, २४ फागुन २०७३ मा अर्को पत्र लेख्दै त्यति ठूलो रकम प्रस्ताव नगरेको उल्लेख गरेको थियो ।

त्यसबेला प्राविधिक प्रस्तावमा सफल भएको दोस्रो नम्बरको साखः स्टिल इन्डस्ट्रिज प्रालिले ६२ करोड २४ लाख ५८ हजार र अद्रिसिय–लियोनज जेभीले २६ करोड २८ लाख रुपैयाँ प्रस्ताव गरेका थिए ।

सुरुमा ‘प्रस्ताव गरेअनुसार रकम दिन नसक्ने’ भन्दै आएको पत्रलाई अगाडि बढाउन भन्दै तत्कालीन सचिव अर्जुनकुमार कार्कीले सहसचिव कार्कीका नाममा तोक लगाइदिएको पाइएको अधिकृतहरू बताउँछन् । पछि सहसचिव कार्कीले ५ वैशाख २०७४ मा उनीहरूको प्रस्तावअनुसार १ अर्ब ४० करोड रुपैयाँमा सम्झौता गर्ने निर्णय गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुन:स्थापित गरिदिएसँगै हितेन्द्रदेव शाक्यले घर जलेर आहत भएको बेला राहत पाएको बताएका छन् । शाक्यले अदालतको निर्णयको प्रतिलिपि पाएसँगै आफू प्राधिकरणमा पदाबहाली गर्न जाने समेत बताए । 'चार वर्षदेखि सुनुवाइ भइरहेको मेरो पुरानोसहितको मुद्दा हो,' उनले भने, '३१/३२ पटक पेशी तोकिए पनि सुनुवाइ नभएको मुद्दामा ४ वर्षपछि यसपटक ...
— आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कांग्रेस बैतडीले जिल्लाबाट उम्मेदवार सिफारिस गरेको छ । बैतडी सदरमुकाममा सम्पन्न जिल्ला कार्यसमिति, महाधिवेशन प्रतिनिधि तथा प्रदेश प्रतिनिधिहरूको संयुक्त बैठकले मतदान प्रक्रियाबाट उम्मेदवार सिफारिस गरेको हो । पार्टीको केन्द्रीय निर्देशनअनुसार सहमतिबाट उम्मेदवार सिफारिस नटुंगिएपछि मत विभाजनबाट चयन गरिएको हो । प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फको उम्मेदवारका लागि ६ जना ...
— गत भदौ २४ गतेको प्रदर्शनका क्रममा विभिन्न कार्यालय र सार्वजनिक सम्पत्ति तोडफोड र आगजनीमा संलग्न भएको आरोपमा इलाम प्रहरीले १५ जनालाई पक्राउ गरेको छ । तोडफोड र आगजनीमा संलग्न रहेको अभियोग लागेका उनीहरु इलामदेखि ताप्लेजुङ, झापासम्मका नागरिक छन् । पक्राउ पर्नेमा इलाम–९ का राप्रपा नेता टीकाराम चौहान पनि रहेका छन् । इलाम प्रहरीका अनुसार इलाम–७ का ...
: गोलन्जोर गाउँपालिकाको आयोजनामा मंगलबारबाट जिल्लामै पहिलो पटक जुनार मेला सुरु भएको छ। गोलन्जोर गाउँपालिका–४ तीनकन्या स्थित माझकुभिन्डेमा बागमती प्रदेशका कृषि तथा पशुपन्छीमन्त्री मधुसूदन पौडेल, उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री बिन्दु श्रेष्ठलगायतले मेलाको संयुक्त रूपमा उद्घाटन गरे। जुनारको राजधानीका रूपमा चिनिएको सिन्धुलीको गोलन्जोर गाउँपालिका-४ माझ कुभिन्डेमा तीन दिनसम्म आयोजना हुने जुनार मेलामा जुनारको प्रचारप्रसार तथा व्यवस्थित ...
— ब्रेक प्याडभित्र लुकाएर तस्करी भएको ६० किलो सुन तस्करी प्रकरणमा जोडिएका १४ जनाविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरेको अनुसन्धानका आधारमा जीवन चलाउनेसहित १२ जना, सेयर, घर जग्गा जफतका लागि थप २ जना र दुई कम्पनीविरुद्ध मुद्दा दायर भएको हो । जिल्ला अदालत, काठमाडौंमा दर्ता भएको मुद्दामा चिनियाँ नागरिक ...