: आफ्नै बुबाको हत्या गरेको आरोपमा एक छोरी पक्राउ परेकी छन्। प्रहरीले २७ वर्षीया तिर्सना रामजाली मगरलाई सोमबार पक्राउ गरेको हो। दैलेखको नौमूले गाउँपालिका–५ गजमाली बस्ने ६५ वर्षीय धनबहादुर रामजाली मगरलाई छोरीले दाउराको चिर्पटले हिर्काएर हत्या गरेकी हुन्। जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक एवं सूचना अधिकारी लक्ष्मण पचभैयाका अनुसार धनबहादुरका छोरी २७ वर्षीया तिर्सना रामजाली मगरले आफ्नै बुबालाई दाउराको चिर्पट प्रहार गरेकी थिइन्।
प्रहरीका अनुसार तिर्सनाको विवाह भईसकेको थियो। तर छोडपत्र भएर माइत मै बसेकी थिइन्। उनले मादकपदार्थ सेवन गरी घरायसी बादविवादको क्रममा काठको चिर्पट दाउराले बुवाको टाउकोमा प्रहार गरेकी हुन्। दाउराको चिर्पट प्रहारबाट गम्भीर घाइते भएका धनबहादुरलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र नौमुले लगिएको थियो।
उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। आफ्नै बुबालाई दाउराको चिर्पटले हिर्काएर हत्या गर्ने तिर्सनामाथि ज्यान सम्बन्धी कसुर (कर्तव्य ज्यान) मुद्दामा म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको प्रहरी निरीक्षक पचभैयाले जानकारी दिएका छन्।