मुख्य समाचार
३३ किलो सुन तस्करी प्रकरण : अन्तरदेशीय आपराधिक गिरोह नै संलग्न भएको पुष्टि
३३ किलो सुन तस्करी प्रकरण : अन्तरदेशीय आपराधिक गिरोह नै संलग्न भएको पुष्टि

— चिनियाँ नाका रोङजियाबाट लामाबगर हुँदै भएका सुन तस्करीमा अन्तरदेशीय आपराधिक गिरोह संलग्न भएको खुलेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) र दोलखा प्रहरीले मंगलबार चरिकोटमा संयुक्त रूपमा सार्वजनिक गरेको सुन तस्करीको प्रतिवेदनमा उक्त तथ्य सार्वजनिक गरेको हो ।

प्रहरीले डेढ महिनादेख अनुसन्धान गरिरहेको थियो ।

अनुसन्धानका क्रममा सुन तस्करीमा संलग्नहरूले ठूलो मात्रामा विदेशी मुद्राको पनि अवैध कारोबार गर्ने गरेको पाइएको छ । चीनको रोङजिया नाका हुँदै भएको सुन तस्करीमा पक्राउ परेकाहरूले एक वर्षमा अवैध क्रिप्टो करेन्सीमार्फत २ अर्ब ९१ करोड ४८ लाख ३२ हजार बराबरको कारोबार गरेको पनि खुलेको छ । अवैध क्रिप्टो करेन्सीमार्फत रकम भुक्तानी हुने गरेको पाइएको छ । तस्करहरूले सन्जाल खडा गरेर क्रिप्टोमार्फत नेपाली रुपैयाँलाई डलरमा रुपान्तरण गर्ने गरेको खुलेको प्रहरी नायव उपरीक्षक दीपक खड्काले बताए । ‘तस्करले काठमाडौंका विभिन्न मनि चेन्जरबाट अवैध रूपमा विदेशी मुद्रा सटही गर्ने गरेका रहेछन्,’ उनले भने, ‘उक्त सटही भएको डलर स–साना कार्टुनमा प्याक गरेर रोङजिया पुगेर सुन लिएर आउने गरेको देखियो ।’

गएको असोज ६ गते रोङजिया नाका हुँदै आएको ११ किलो सुन विगु गाउँपालिकाको जामुने र लामाबगरमा प्रहरीले बरामद गरेपछि दोलखाबाट सुन तस्करी भइरहेको खुलेको थियो । प्रहरीले पछिल्लो १० महिनामा रोङजियाबाट मात्रै ३३ किलो सुन तस्करी भएको बताएको छ । सुन तस्करीमा संलग्नहरूले १२ वटा डिजटल वालेट प्रयोग गरेको खुलेको उनले बताए ।

सुन तस्करीमा ठूलै गिरोह संलग्न रहे पनि हालसम्म एक बालकसहित १५ जना मात्रै पक्राउ परेका छन् । चीनको रोङजिया नाकाबाट भएको सुन तस्करीमा हालसम्म २७ जना संलग्न रहेको अनुसन्धानमा खटिएका सीआईबी निरीक्षक रामकृष्ण पाठकले बताए । तस्करीमा संलग्न १२ जना अझै फरार छन् । अनुसन्धानका क्रममा रामेछापकी महिमा माझी पक्राउ परेपछि सुनको भुक्तानी र अवैध विदेशी मुद्रा कारोबार भइरहेको खुलेको उनले बताए । माझीले कार्ग्रो व्यवसायीको आडमा क्रिप्टो करेन्सी कारोबार गरिरहेको पनि खुलेको छ । ‘माझीले कति क्रिप्टो करेन्सी कारोबार गरेकी छन्, त्यो डिजिटल फरन्सी ल्याबबाट रिपोर्ट आएको छैन,’ उनले भने, ‘अहिले पक्राउ परेका अन्यका कारोबार मात्रै आएको छ, ठूलो मात्रामा उनले कारोबार गरेका हुन सक्छन् ।’ हाल प्रति युनिट क्रिप्टोको मूल्य १ सय ३८ नेपाली रुपैयाँ रहेको उनले बताए । तस्करले संजाल खडा गरेर नेपालबाट सुन तस्करीमा नयाँ रुट प्रयोग भएको खुलेको उनले बताए । मुख्य आरोपी चिनियाँ नागरिक आकर लामाकी पत्नीले चीनबाट सुन पठाउने गरेको खुलेको छ । ‘नेपाली भरियाले स–साना कार्टुनमा अमेरिकी डलर पैदलमार्फत रोङजिया पुर्‍याउने र खोला तारिदिने गर्दा रहेछन्,’ उनले भने, ‘कार्टुनमा गएको डलर प्राप्त भएपछि उताबाट सुन डोरीमा बाँधेर नेपाली भरियालाई पठाइने रहेछ ।’ नेपाली रुपैयाँ डलरमा सटही भएपछि सुन ल्याउने र अन्तरदेशीय कारोबार क्रिप्टोमार्फत हुने गरेको उनले बताए । चिनियाँ नाकामा डलर लिएर ३ जना भरिया जाने गरेका र त्यसको व्यवस्थापन विगु–१ लामाबगरका नुर्वुछिरिङ शेर्पाले गर्ने गरेको खुलेको छ ।
नेपालबाट चीनतर्फ उक्त समूहले यार्सा गुम्बा र कस्तूरी–विना तस्कारी गर्ने गरेको पनि खुलेको पाठकले बताए । ‘नेपाली भरियाले चिनियाँ नाका रोङजिया अमेरिकी डलरसहित यार्सा र कस्तूरीको विना पनि लिएर जाने गरेको खुलेको छ,’ उनले भने, ‘यार्सा र कस्तूरीको विनालाई पनि सुनको कारोबारी रकम मानेर उताबाट आकरकी पत्नीले सुन पठाउने काम गरेको पाइयो ।’ रोङजियाबाट गएका १० महिनामा ६ पटक सुन तस्करी भइसकेको उनले बताए । हालसम्म उक्त नाकाबाट ३३ किलो सुन यो समूहले ल्याएको देखिएको छ । सुन तस्करीमा संलग्न रहेका १२ जनामध्ये केहीलाई पक्राउ आदेश आइसकेकाले थप अन्तरदेशीय संजालको जालो पत्ता लाने उनले बताए । ‘सुन तस्करीमा ठूलै समूह संलग्न रहेकाले पहिचान भएका केहीलाई पक्राउ आदेश मागेका छौं,’ उनले भने, ‘आदेश आइसकेकाले एक–दुई दिनमै पक्राउ गरेर थप अनुसन्धान गर्दै छौं ।’ ११ केजी सुनको पहिलो चरणको अनुसन्धान भने सकिएको उनले बताए । पक्राउ परेकालाई दोलखा जिल्ला अदालतमा मुद्दा दायर गरिएको दोलखाका प्रहरी प्रमुख खड्काले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुन:स्थापित गरिदिएसँगै हितेन्द्रदेव शाक्यले घर जलेर आहत भएको बेला राहत पाएको बताएका छन् । शाक्यले अदालतको निर्णयको प्रतिलिपि पाएसँगै आफू प्राधिकरणमा पदाबहाली गर्न जाने समेत बताए । 'चार वर्षदेखि सुनुवाइ भइरहेको मेरो पुरानोसहितको मुद्दा हो,' उनले भने, '३१/३२ पटक पेशी तोकिए पनि सुनुवाइ नभएको मुद्दामा ४ वर्षपछि यसपटक ...
— आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कांग्रेस बैतडीले जिल्लाबाट उम्मेदवार सिफारिस गरेको छ । बैतडी सदरमुकाममा सम्पन्न जिल्ला कार्यसमिति, महाधिवेशन प्रतिनिधि तथा प्रदेश प्रतिनिधिहरूको संयुक्त बैठकले मतदान प्रक्रियाबाट उम्मेदवार सिफारिस गरेको हो । पार्टीको केन्द्रीय निर्देशनअनुसार सहमतिबाट उम्मेदवार सिफारिस नटुंगिएपछि मत विभाजनबाट चयन गरिएको हो । प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फको उम्मेदवारका लागि ६ जना ...
— दरबारमार्गस्थित नेपाल ट्रस्टको जग्गा यति होल्डिङ्सअन्तर्गतको थामसेर्कु ट्रेकिङ प्रालिलाई ३० वर्षका लागि लिजमा दिँदा अनियमितता गरेको आरोपमा पूर्वसचिव अर्जुनकुममार कार्की पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) ले कार्कीलाई पक्राउ गरेको हो । यसअघि लिज सम्झौतामा हस्ताक्षर गर्ने ट्रस्टका तत्कालीन सहसचिव लेखबहादुर कार्की पक्राउ परिसकेका छन् । सीआईबीका प्रवक्ता एसएसपी शिवकुमार श्रेष्ठका ...
— गत भदौ २४ गतेको प्रदर्शनका क्रममा विभिन्न कार्यालय र सार्वजनिक सम्पत्ति तोडफोड र आगजनीमा संलग्न भएको आरोपमा इलाम प्रहरीले १५ जनालाई पक्राउ गरेको छ । तोडफोड र आगजनीमा संलग्न रहेको अभियोग लागेका उनीहरु इलामदेखि ताप्लेजुङ, झापासम्मका नागरिक छन् । पक्राउ पर्नेमा इलाम–९ का राप्रपा नेता टीकाराम चौहान पनि रहेका छन् । इलाम प्रहरीका अनुसार इलाम–७ का ...
: गोलन्जोर गाउँपालिकाको आयोजनामा मंगलबारबाट जिल्लामै पहिलो पटक जुनार मेला सुरु भएको छ। गोलन्जोर गाउँपालिका–४ तीनकन्या स्थित माझकुभिन्डेमा बागमती प्रदेशका कृषि तथा पशुपन्छीमन्त्री मधुसूदन पौडेल, उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री बिन्दु श्रेष्ठलगायतले मेलाको संयुक्त रूपमा उद्घाटन गरे। जुनारको राजधानीका रूपमा चिनिएको सिन्धुलीको गोलन्जोर गाउँपालिका-४ माझ कुभिन्डेमा तीन दिनसम्म आयोजना हुने जुनार मेलामा जुनारको प्रचारप्रसार तथा व्यवस्थित ...