: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले राजासहितको प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था हुनुपर्ने माग गरेका छन्। काठमाडौंमा मंगलबार आयोजित सभामा सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले त्यसका लागि प्रधानमन्त्री सुशीला कार्कीले सर्वपक्षीय बैठक बोलाएर सहमति गराउनुपर्ने बताए।
'जनताले प्रत्यक्ष कार्यकारी प्रमुख चुन्न पाउने कुरा राम्रो हो। तर, प्रत्यक्ष निर्वाचित राष्ट्रपति खतरनाक हुन्छ। त्यो निरंकुश पनि बन्नसक्छ। त्यो लेन्डुप दोर्जे पनि बन्न सक्छ। नयाँ तानाशाह उदाउने खतरा हुन्छ। हामीले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र अभिभावकीय संस्था राजा हुनुपर्छ भनिरहेका छौं। राष्ट्रपतिको ठाउँमा राजा भयो भने प्रधानमन्त्री निरंकुश हुने र लेन्डुप दोर्जे बन्ने खतरा हुँदैन,' अध्यक्ष लिङ्देनले भने।
उनले नेपालमा पहिलोपटक राप्रपाले आफ्नो घोषणा पत्रमै उल्लेख गरेर राजासहितको प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको पक्षमा वकालत गर्दै आएको दाबी गरे। उनले कुनै पक्षले भन्दा पनि
देशले जित्ने गरी सहमति गर्न प्रधानमन्त्री कार्कीलाई आग्रह गरे। त्यसका लागि प्रधानमन्त्रीको कार्यकाल थपिए पनि तयार रहेको उनको भनाइ छ।
'सर्वपक्षीय सम्मेलन होस्। त्यसले हाम्रो विषयको पनि छिनोफानो गरोस्। कसैले हार्ने र कसैले जित्ने होइन, सिंगो देशले जित्ने प्रस्ताव गरेका छौं,' उनले भने। उनले राप्रपाको प्रस्तावले कसैलाई निषेध नगर्ने र जनताले आन्दोलन पनि गर्नुपर्ने आवश्यकता नहुने उनको भनाइ छ।
अध्यक्ष लिङ्देनले नेपाल नबन्नुको कारण भ्रष्ट व्यवस्था र त्यसको नेतृत्व गर्ने नेताहरू भएको आरोप लगाए। 'सहमति भएन भने फेरि अर्को विद्रोह व्यहोर्न तयार हुनुपर्छ। यो मेरो धम्की होइन। सुझाव हो। हामी चुनावमा हतार गर्दैनौं। सुशीला कार्कीजी तपाईं अलि परसम्म प्रधानमन्त्री हुनुस् तर सबै समस्या समाधान गरेरमात्रै जानुस्,' उनले भने।