— सरकारले किसानले उत्पादन गरेको उखुको मूल्यमा ७० रुपैयाँले वृद्धि गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले उखुको न्यूनतम मूल्य वृद्धि गर्नेदेखि गरिब परिवार सूचीकृतसम्मको निर्णय गरेको छ ।
सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलका अनुसार मन्त्रिपरिषद्को बैठकले चालु आर्थिक वर्षका लागि किसानले उत्पादन गरेको उखुको न्यूनतम मूल्य वृद्धि गर्ने निर्णय भएको हो । सरकारले आर्थिक वर्ष २०८२/०८३ को लागि कृषकले उत्पादन गरेको उखुको न्युनतम खरिद भूल्य प्रतिक्विन्टल ६ सय २० निर्धारण गरेको उनले बताए । उखुको अनुदान रकम प्रतिक्विन्टल ७० रुपैयाँ कायम गर्ने निर्णय भएको हो ।
त्यस्तै, २०८१ चैत्र १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनको क्रममा जलेर मृत्यु भएका पत्रकार सुरेश रजकलाई राज्यको तर्फबाट सहिद घोषणा गर्ने निर्णय भएको पनि मन्त्री खरेलले जानकारी दिए ।
सरकारले भदौ २३ र २४ गतेको जेन–जी प्रदर्शनका क्रममा घाइते तथा अपांग भएका व्यक्तिलाई राहत सहायता उपलब्ध गराउनेसम्बन्धी कार्यविधि, २०८२ स्वीकृत गरेको छ । जेन–जी घाइतेहरूको शिक्षा, स्वास्थ्य तथा रोजगारीको सम्बन्धमा आवश्यक व्यवस्था मिलाउने निर्णय गरेको प्रवक्ता खरेलले बताए ।
सरकारले इलाम, कास्की, चितवन, झापा, तेह्रथुम, नवलपरासी, बर्दघाट सुस्तापूर्व, नवलपरासी बर्दघाट सुस्तापश्चिम, पर्वत, मोरङ, सुनसरीका ९४ हजार ५ सय २७ गरिब परिवारको सूची स्वीकृत गर्ने निर्णय गरेको छ ।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व दोस्रो संशोधन नियमावली, २०८२ स्वीकृत गरेको छ । सरकारले नेपाल प्रशासन सेवा समूहिकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त सचिव पदमा सहसचिव राजेन्द्रकुमार पौडेललाई बढुवा गरेको छ ।